विदेशमा अलपत्र नेपालीहरुलाई सरकारले आफ्नै खर्चमा स्वदेश ल्याउनुपर्छ : पम्फा भुसाल


प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद पम्फा भुसालले विदेशमा अलपत्र परेका नेपालीहरुले सरकारले आफ्नै खर्चमा स्वदेश ल्याउनुपर्ने बताउनुभएको छ । बजेटमाथिको छलफलमा बोल्ने क्रममा नेतृ भुसालले विदेशबाट फर्कनेको व्यवस्थापनका लागि स्थानीय तहलाई बजेट दिनुपर्ने बताउनुभयो ।

क्वारेन्टाइनदेखि आइसोलेसनको जिम्मा केन्द्रीय सरकारको भएकाले यसको जिम्माबाट पन्छिन नमिल्ने उहाँले बताउनुभयो । विभिन्न देशमा कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई उनीहरुकै पैसाले आउने कुरा गर्नुजस्तो गैरजिम्मेवार कुरा अरू हुन नसक्ने उहाँले बताउनुभयो ।

उनीहरुलाई आफ्नो पैसाले आऊ भन्न नमिल्ने र राज्यले व्यवस्था गरेर ल्याउनुपर्ने उहाँले बताउनुभयो । आफ्ना जनतालाई बोझ ठानेर होइन, नागरिक दायित्व पूरा गरेर ल्याउन केन्द्रले योगदान गर्नुपर्ने उहाँको भनाई छ ।

सरकारले कोरोनाको महामारीका कारण उत्पन्न असहज अवस्थाका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि दूतावासहरुमार्फत विवरण संकलन सुरु गरेको छ । तर नेपाल फर्कदा लाग्ने खर्च र नेपाल आएपछि लाग्ने क्वारेन्टीन खर्च उनीहरुले नै बेहोर्नुपर्ने सरकारले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com