११ दिनमा कोरोनाको उपचार गर्ने रेम्डिसिभियरको उत्साहजनक नतिजा सार्वजनिक


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

अमेरिकामा कोरानोबिरुद्धको उपचारका लागि प्रयोग गरिएको औषधी रेम्डिसिभियरको परीक्षणको नतिजा आएको छ । उक्त एन्टीभाइरल औषधी सुरुमा इबोलाको उपचारका लागि बनाइएको थियो तर अहिले उक्त औषधी कोरोनाबिरुद्धको उपचारमा प्रभावकारी देखिएको छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुशार यो औषधीले कोरोनो संक्रमितहरुको उपचार छोटो समयमा गर्न सफल भएको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अप्रिलको अन्तिम साता नै कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको थियो । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु शीघ्र निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको थियो । कोरोनाबिरुद्ध स्पष्ट सकारात्मक परिणाम दिएको यो पहिलो औषधी बनेको छ ।

यौ औषधीको सेवन गरेकाहरुलाई ११ दिनमा नै निको भएको पुष्टी भएको छ । परीक्षण अमेरिका, युरोप र एसियाका विभिन्न ६० ठाउँमा १०५९ जना कोरोनाका बिरामीहरुमा गरिएको थियो । ५३८ जना बिरामीहरुलाई औषधीको १० दिनको कोर्स दिइएको थियो । अरु ५२१ जना बिरामीहरुलाई पनि उक्त औषधी दिइएको थियो । ति बिरामीहरुको दैनिक अनुगमन गरेर लक्षणहरु कम भएको नभएको वा कुनै साइड इफेक्ट भए नभएको निरीक्षण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा एफडीएको स्वीकृतिपछि कोभिड १९ का अस्पतालमा भर्ना गरिएका बिरामीहरुका लागि औषधी उपलब्ध गराइएको छ । अप्रिलको अन्तिम साता नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुईदिनपछि एफडीएले औषधीको प्रयोगको अनुमति दिएको थियो ।

एफडीएले यसभन्दा अगाडि मलेरियाको औषधी क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनलाई आपतकालिन रुपमा कोरोनाको उपचारका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो । तर पछि यो औषधीको प्रयोगबाट बिरामीको मुटुको चालको समस्यादेखिएपछि उक्त औषधी प्रयोगबिरुद्ध चेतावनी जारी गरिएको थियो । हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगबाट मृत्युदर बढेको समेत अध्ययनले देखाएको थियो ।

रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनबाट पत्ता लागेको हो । यो औषधी प्रयोग नगरेकाहरु १५ दिनमा निको भएपनि यो औषधी प्रयोग गरेकाहरु ११ दिनमा निको भएका छन् ।

कम्तीमा यो औषधीको ५ दिनको डोज प्रयोग गरिएका ५० प्रतिशत बिरामीमा उल्लेख्य सुधार आएको औषधी उत्पादनकर्ता कम्पनीले यसअगाडिको रिपोर्टमा समेत जनाएको थियो । यस अगाडि यो औषधीको क्लीनिकल परिक्षण कोरोनाबाट अत्यन्तै सिकिस्त भएका ३९७ बिरामीहरुमा गरिएको थियो ।

यो औषधीको ५ वा १० दिनको डोज तयार पारिने जनाइएको छ । कम्पनीले यो औषधीको उत्पादनका लागि गरिएको अध्ययनमा ५० मिलियन डलर खर्च गरिसकेको छ । कम्पनीले मे महिनाको अन्त्यसम्ममा डेढलाखभन्दा बढी १० दिने डोजका औषधीहरु उत्पादन गर्ने जनाएको छ ।

अहिलेका लागि भने यो औषधी आईभीमार्फत अस्पतालमा भर्ना भएका बिरामीलाईमात्र दिन सकिन्छ । कोरोनाको संक्रमण पुष्टी भइसकेकाहरुलाईमात्र यो औषधी चलाउन अनुमति दिइएको छ ।

बेलायतमा बन्दै गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो ३ सय मिलियन डोज अमेरिकाले पाउने

यसैबीच बेलायतमा बन्दै गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको ३ सय मिलियन डोज अमेरिकाले लिने भएको छ । ईग्ल्याण्डमा रहेको आष्ट्राजेनेका कम्पनीले उत्पादन गर्ने पहिलो १ बिलियनमध्ये झण्डै एकतिहाई उत्पादन अमेरिकाले लिने भएको छ ।

यो भ्याक्सिन अझै पनि परीक्षणकै क्रममा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनको माग गरेपछि युएस डिपार्टमेन्ट अफ हेल्थले तीब्र गतिमा भ्याक्सिन उत्पादनका लागि आष्ट्राजेनेका कम्पनीलाई १ दशमलव २ बिलियन डलर दिने सहमति जनाएको छ । यो कम्पनीले सन् २०२१ मा भ्याक्सिन सर्वत्र उपलब्ध गराउनेगरी काम गरिरहेको जनाइएको छ ।

एजीडी १२२२ नामबाट चिनिने यो भ्याक्सिन युनिभर्सिटी अफ अक्सफोर्डले विकाश गरेको हो भने यसको लाइसेन्स बेलायती औषधी कम्पनी आष्ट्राजेनेकासँग रहेको छ । कम्पनीसँगको भ्याक्सिनको तेश्रो चरणको परीक्षण अमेरिकामा ३० हजार जनामा गर्न दिनका लागि अमेरिकाले सहमति जनाएको छ ।

यो कम्पनी क्याम्ब्रिजमा रहेको छ भने यो अहिलेसम्म ४ सय मिलियन डोजका लागि भ्याक्सिन बुक भइसकेको कम्पनीले जनाएको छ । भ्याक्सिनको पहिलो डेलिभरी आगामी सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ ।

यो भ्याक्सिनको एकसय मिलियन डोज बेलायतमा प्रदान गर्ने सहमति भइसकेको छ । जसमध्ये ३० मिलियन डोज सेप्टेम्बरमा प्रदान गरिने अपेक्षा गरिएको छ । बेलायती मन्त्रीहरुले यो भ्याक्सिनमा पहिलो पहुच बेलायतमा हुने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकी सरकारले भ्याक्सिन उत्पादन गर्दै गरेका अन्य कम्पनीहरु जोन्सन एण्ड जोन्सन, मोडेर्ना र सानोफीसँग पनि सहमति कायम गरिसकेको छ । यसलाई कतिपयले धनी देशहरुलेमात्र सबैभन्दा पहिले आफ्ना नागरिकको संरक्षण गर्न पाउने भन्दै डर समेत व्यक्त गरेका छन् ।

भ्याक्सिन उत्पादन कम्पनी सानोफीका प्रमुखले अमेरिकामा उत्पादन भइरहेको भ्याक्सिनको पहिलो डोज अमेरिकी बिरामीहरुलाई नै दिइने बताउँदा फ्रान्सको सरकार रिसाएको थियो । अमेरिकाले शोधका लागि आर्थिक रुपमा सघाएकाले भ्याक्सिनको पहिलो डोज अमेरिकालाई नै दिने उनले बताएका थिए ।

आष्ट्राजेनेकाले बनाइरहेको एजीडी १२२२ भ्याक्सिनको पहिलो चरणको दोश्रो क्लिनिकल परीक्षण गतमहिना १८ देखि ५५ बर्षसम्मका एकहजारबढी स्वयंसेवकहरुमा गरिएको थियो । यो परीक्षणको तथ्यांक छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्म विश्वमा कोरोनाभाइरसबिरुद्धको भ्याक्सिन वा औषधी उपलब्ध छैन । सरकार, औषधीनिर्माता र शोधकर्ताहरुले एकसयभन्दा बढी कार्यक्रममा काम गरिरहेका छन् । भ्याक्सिन तयार हुने १२ महिनादेखि १८ महिनासम्म लाग्नसक्ने बताइदै आएको छ ।

अमेरिकामा मोडेर्नाले पनि बनाउँदैछ भ्याक्सिन, सरकारको ५ सय मिलियन डलर लगानी

अमेरिकामा  कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नतिजा निकै उत्साहजनक आइसकेका छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको गतसाता बताएको थियो ।

उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठजनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकाश गरेको पहिलो चरणको डाटामा देखिएको छ ।

मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् ।

मोडेर्ना कम्पनी झण्डै ९ बर्षअगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षीत र राम्ररी सहनसकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ ।

यसबारे मोडेर्ना कम्पनीको वक्तब्यको पूर्णपाठ ।

अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेड विकाशका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ । यो भ्याक्सिन एन्थोनी फौजी नेतृत्वको नेशनल इन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा विकाश गरिदै छ ।

अहिलेसम्म १८ देखि ५५ बर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोजहरु दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहेपनि पूरै नतिजा भने आएको छैन ।

दोश्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ग्रिन सिग्नल पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेश्रो चरणको परीक्षण निकै बृहत हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरीसम्म आफूले ३ सय मिलियन भ्याक्सिनको डोज चाहेको बताएका छन् । ट्रम्प प्रशासनले त्यसका लागि मोडेर्ना, जोन्सन एण्ड जोन्सन र फ्रान्सको सानोफीलाई फण्ड उपलब्ध गराएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com