न्युयोर्कमा कोरोनाबाट मृत्युदर मार्च २४ यताकै कम, १० जनासम्म भेला हुन अनुमति


प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार

कोरोनाको महामारी उच्च बन्दै गएयता न्युयोर्कमा अहिलेसम्मकै कम मृत्युदर कायम भएको छ । पहिलोपटक न्युयोर्क राज्यमा मृत्युदर एकसयभन्दा कम भएको हो ।

गभर्नर एन्ड्रयु कुमोले यसलाई वास्तविक प्रगतिको संकेत बताएका छन् । न्युयोर्क राज्यमा नयाँ मृतकको संख्या ८४ जना थपिएको छ । न्युयोर्क राज्यमा मार्च १ मा पहिलो कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । मार्च १ यता न्युयोर्कमा २९ हजार ९८ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ६९ हजार ५ सय ८० जनामा संक्रमण पुष्टी भएको छ ।

यसैबीच शुक्रबार गभर्नर कुमोले एक आदेश जारी गर्दै न्युयोर्कमा १० जनासम्म भेला हुने अनुमति दिएका छन् । तर उनीहरुले सामाजिक दुरीको निर्देशिका भने पालना गर्नुपर्नेछ । कुमोले कोरोनाको संक्रमण चर्को भएको लङ आइल्याण्ड अर्कोसाताबाट पुन खुल्न सुरु हुने बताएका छन् ।

कुमोले न्युयोर्क सिटी कहिलेदेखि खुल्ने भन्नेबारे केही बताएका छैनन् । न्युयोर्क सिटीमा मे २८ सम्म अफिसियल लकडाउन नै कायम रहेको छ । न्युयोर्क राज्यमा विगत १२ दिनदेखि मृतकको संख्या एकसयको हाराहारीमामात्र रहेको छ भने मार्च २४ यता मृतकको संख्या एकसयभन्दा कम भएको छ ।

गभर्नर कुमोले मार्च २० देखि न्युयोर्कमा शटडाउनको आदेश दिएका थिए । पछिल्लो चरणमा अस्पताल भर्ना हुनेको दरमा पनि निकै कमी आएको छ । आईसीयुमा भर्ना हुनेहरुको संख्या पनि घटेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com