विश्वमा कोरोना संक्रमित पुष्टी हुनेको संख्या विगत २४ घण्टामा अहिलेसम्मकै उच्च
प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार
विश्वमा कोरोना संक्रमित पुष्टी हुनेको संख्या विगत २४ घण्टामा अहिलेसम्मकै उच्च रहेको छ । विगत २४ घण्टामा विश्वभरबाट एकलाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको रिपोर्ट गरिएको छ ।
एकैदिनमा यति धेरैमा संक्रमण पुष्टी भएको रिपोर्ट गरिएको महामारी सुरु भएयताकै पहिलो रहेको विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलले बताएका छन् । यो महामारीमा अझै लामो बाटो हिड्नुपर्ने बताउँदै उनले विगत २४ घण्टामा १ लाख हजार केसहरु विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको बताएका छन् ।
कुल संक्रमण पुष्टी हुनेमध्ये दुईतिहाई संख्या जम्मा ४ देशमा रहेको छ । सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएका देशहरु अमेरिका, रसिया, ब्राजिल र बेलायत हुन् ।
उनले कोरोनको उपचारका लागि औषधी चलाउनैपर्ने पुष्टी भएको अवस्थामा बाहेक अन्य अवस्थामा मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग नगर्न भनेका छन् । यसअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमा कोरोना संक्रमण पुष्टी नभएपनि उक्त औषधी सेवन गरिरहेको बताएका थिए ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५० लाख नाघेको छ । अमेरिकामामात्र यो संख्या १६ लाखको नजिक रहेको छ । अमेरिकामा मृतकको संख्या ९४ हजार नाघेको छ भने विश्वभर मृतकको संख्या ३ लाख २८ हजार नाघेको छ ।






