स्वीस सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुग्यो


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ ।  पिसिआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो । स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज हस्तान्तरण गरिएको छ ।

मानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो ।

एसडिसिले ४ हजार सेट पिपिइ सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापानाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता थता समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ । कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि स्वीस सरकारले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com