कोरोना संक्रमणबाट न्युयोर्क निवासी अमात्यको निधन, सहयोगका लागि आर्थिक संकलन


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ बर्षिय महेश अमात्यको बिहिवार स्थानिय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाण्डौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुराउने उदेश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ । उपाध्यक्ष आचार्यले यस दुखद घडिमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

२० हजार डलरको लक्ष्यसहित गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको हो । समाजले सबैसँग सहयोगको आग्रह गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यदि तपाई पनि अमात्यको परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

हिजोमात्रै न्युयोर्कमा कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइड निवासी नेपाली पवन मल्लको मृत्यु भएको थियो । झण्डै तीनसातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा नै निधन भएको थियो ।

न्युयोर्कको उडसाइमा बस्दै आएका बस्दै आएका ४४ बर्षिय मल्ल सन् २०१२ मा अमेरिका आएका थिए । मल्लले केही समय पहिले न्युयोर्कमा समेत ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनी नेपाल प्रहरीको असई समेत थिए ।

मल्लका नेपालमा रहेका दुई छोरीहरुलाई सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ ।  नेपालमा रहेका दुई छोरीहरु आर्थिक रुपमा मल्लप्रति नै आश्रित रहेका छन् । मल्लको अल्पायुमै भएको निधनले उनका छोरीहरुको पढाईमा सहयोग गर्ने व्यक्ति नभएकाले सहयोगका लागि अपिल गरिएको हो । ती छोरीहरुलाई अहिले हजुरबुबा र हजुरआमाले पालिरहेका छन् ।

यदि तपाई पनि मल्लको परिवारलाई सहयोग गर्न  चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

न्युयोर्कमा एकमहिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । मृतकमध्ये ५ जनाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरिएको छ भने अन्य ३ जनाको मृत्युको कारण खुलाइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com