कोरोना संक्रमणबाट लण्डनमा ५८ वर्षीय श्रेष्ठको निधन


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

कोरोना भाइरसको संक्रमणबाट साउथ ईस्ट लण्डनको प्लमस्टिडनजिक वीकह्यम लेनमा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा लक्ष्मण श्रेष्ठको निधन भएको छ । लण्डनको गाइज अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान श्रेष्ठको निधन भएको हो ।

नेपालमा स्याङ्जा पुख्यौली थलो भएका श्रेष्ठको बसोबास पछिल्लो समय पोखरामा थियो । उनी सन् २०१० देखि परिवारसहित बेलायत बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

लण्डनको ओलम्पिक पार्कमा रेस्क्यू ड्राइभरका रुपमा कार्यरत श्रेष्ठ मार्च २३ सम्म पनि काममा गइरहेका थिए । त्यसपछि बिस्तारै रुघाखोकीले समाएको थियो तर ज्वरो भने नभएको पारिवारिक श्रोतले जनाएको छ ।

अस्पतालको सल्लाहमा अक्सिजनको मात्रा जाँच गर्दा निकै न्यून देखिएपछि गत मार्च ३१ तारिखका दिन दिउँसो ४ बजे परिवारले अस्पताललाई दोस्रोपटक सम्पर्क गरेको थियो । दिउसो ४ बजे फोन गरेको, राती साढे १० बजे मात्रै एम्बुलेन्स आएको थियो ।

मार्च ३१ को राती साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल भर्ना भएका श्रेष्ठलाई भोलिपल्टबाटै ‘भेन्टिलेटरमा राखिएको थियो । दुई दिनपछि फिक्स भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै लण्डनको गाइज अस्पतालमा सारिएको थियो । कोरोनाको संक्रमण पुष्टी भएकोबारे पनि अस्पताल भर्ना भएको ४ दिनपछि परिवारले जानकारी पाएको थियो ।

झण्डै १७ वर्षअघि बेलायती सेनाबाट अवकाश लिएका श्रेष्ठको १५ वर्षअघि पित्ताशय निकालिएको थियो । त्यसयता उनी पुर्ण रुपमा स्वस्थ र तन्दुरुस्त देखिन्थे ।

यसबारेको विस्तृत समाचार बेलायतबाट प्रकाशित हुने नेपाली लिंकमा पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com