राष्ट्रसंघमा विश्वभरका युवाको नेतृत्व गर्दै जोली अमात्य


प्रकाशित मिति : भाद्र १, २०७३ बुधबार

-किशोर पन्थी

संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्ने अवशर नेपाली युवती जोली अमात्यले पाएकी छिन् । अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन् । यसअगाडि उनले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीमा को चेयर गर्दै आएकी थिइन् । राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो ।

युथ एसेम्ब्ली राष्ट्रसंघमा सबैभन्दा लामोसमय चल्ने सबैभन्दा ठूलो मध्येको एउटा सम्मेलन हो । सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले ९७ देशका १ हजार भन्दा धेरै प्रतिनिधिहरुको नेतृत्व गर्दै अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन् । राष्ट्रसंघको दिगो विकाश लक्ष्य कार्यान्वयनका लागि युवा नेतृत्वको शशक्तिकरणको उद्देश्यसहित कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवशको अवशरमा समापन गरिएको थियो । राष्ट्रसंघले सन् २०३० भित्रसम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्नेदेखि विपदसँग जुध्ने क्षमता मजबुत बनाउने सहित १७ वटा लक्ष्य राखेर दिगो विकाश लक्ष्य तय गरेको छ ।

नवनियुक्त युथ चेयर जोली अमात्यले ९७ देशका सयौं युवा प्रतिनिधिहरुले खचाखच भरिएको ऐतिहासिक राष्ट्रसंघको महासभाहलमा आयोजित युथ एसेम्ब्लीमा सम्बोधन गरेकी थिइन् । युवा प्रतिनिधीहरुका लागि राष्ट्रसंघका महासचिव बान कि मुनले विशेष सन्देश सम्प्रेषण गरेका थिए ।
जोलीले राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी थिइन् । तीनबर्षको छोटा अवधिमा नै उनी उच्च तहमा पुग्न सफल भएकी हुन् । सन् २०१५ मा उनले युथ एसेम्बलीमा ‘को चेयर’ गरेकी थिइन् । उनको लगनशिलता र कडा परिश्रमका कारण यो बर्ष उनी मुख्य तहमा नै पुग्न सफल भएकी हुन् ।

विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् । यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन् ।

Jolly 2

नेपालका युवापुस्ता प्रसस्त सम्भावनायुक्त रहेको र उनीहरुलाई सही दिशानिर्देश र दक्षतालाई उपयोग गर्ने स्थानमा मात्र आवश्यकता रहेको जोलीको भनाई छ । युवापुस्तालाई उचित दक्षता र ज्ञान दिनसकेमा उनीहरु परिवर्तनमा सम्बाहक बन्नसक्ने जोलीले बताइन् । जोली भन्छिन् – ‘हामी भोलीको नेतृत्व होइनौं, आजकै नेतृत्व हौं ।’

जोलीले ह्वाइटमा हाउसमा एएपीआई युथ फोरममा नेपालको प्रतिनिधित्व गर्नुका साथै उनी ह्वाइटहाउसको महिला सम्मेलनमा सहभागिताका लागि छानिएकी थिइन् । सन् २०१५ मा उनलाई ग्लोबल कनेक्शन फर वुमन फाउण्डेशन न्युयोर्कले युथ ग्लोबल लिडर अचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । महिला र युवा सम्बन्धि विभिन्न सामाजिक संस्थाहरुमा समेत सकृय रुपमा लागिरहेकी जोलीले छोटो समयमा नै हासिल गरेको उपलब्धी नेपाली युवाहरुका लागिमात्र नभई विश्वभरका युवाका लागि नै प्रेरणादायी छ ।

Jolly 3

नेपालमा जन्मेर हुर्केकी जोलीले सेन्ट मेरी उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी थिइन् । हाइस्कुलमा नै उनी सन् २००७ मा भ्वाइस अफ वुमनले छनौट गरेको टपटेन वुमन अवार्डबाट सम्मानित भएकी थिइन् । त्यसपछि उनी थप अध्ययनका लागि अमेरिकामा आएकी थिइन् । उनले आयोवाको को कलेज र बोष्टनको हार्भड युनिभर्सिटीमा अध्ययन गरिन् ।

अध्ययन र रोजगारका लागि विदेशमा आएका नेपाली युवापुस्ताले नेपालको लागि कल्पनागरेभन्दा धेरै तरिकाबाट योगदान दिनसक्ने जोलीको भनाई छ । यसैबर्षको अक्टोबरमा नेपालको भ्रमण गर्ने जोलीको योजना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com