न्युयोर्कमा ४ हजार कोरोना संक्रमितको उपचारका लागि औषधीको नयाँ प्रेस्क्रिप्सन


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

न्युयोर्कमा झण्डै ४ हजार कोरोना संक्रमित गम्भिर बिरामीहरुलाई मलेरियाबिरुद्धको औषधी हाइड्रोक्लोरोक्वीनबाट उपचार भइरहेको छ । न्युयोर्क राज्यका डिपार्टमेन्ट अफ हेल्थका अधिकारीहरुका अनुशार सिकिस्त भएकाहरुलाई यो औषधी चलाइएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हाइड्रोक्लोरोक्वीनलाई सम्भावित जीवन रक्षक औषधी बताउँदै आएका थिए । यद्यपी अहिलेसम्म यो औषधीले कोरोनाको संक्रमणमा सफलताका साथ उपचार गर्ने आधिकारिक पुष्टी भने भइसकेको छैन ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जिथ्रोम्याक्स वा एजिथ्रोमाइसिनसँगै हाइड्रोक्लोरोक्वीनको मिश्रणबाट उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका थिए । डिपार्टमेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पतालमा हाइड्रोक्लोरोक्वीन पठाइसकेको छ ।

बिरामीहरुले ४ वटा १० दिनको कोर्श अनुशार औषधीको डोज प्राप्त गरिरहेको अधिकारीहरुले जनाएका छन् । युनिभर्सिटी अफ अल्बानीको स्कुल अफ पब्लिक हेल्थले बिरामीमा औषधीको प्रभावबारे अध्ययन गरिरहेको छ । उक्त अध्ययनको निष्कर्ष केही दिनमा आउने बताइएको छ ।

यदि हाइड्रोक्लोरोक्वीनले कोभिड १९ का बिरामीलाई संरक्षण गर्न सकेमा यो औषधी महामारीबिरुद्ध लड्न अत्यावश्यक साधन हुने न्युयोर्क युनिभर्सिटीको डिपार्टमेन्ट अफ पपुलेशन हेल्थमा सहायक प्राध्यापक अन्ना बस्र्थेनले बताएकी छिन् । यदि संरक्षण गर्न नसकेमा बिरामीहरुले थप जोखिम लिन नहुने उनको भनाई छ ।

यो औषधीका साइड इफेक्टमा कानबज्ने, आँखाको ज्योति गुम्नसक्ने, बान्ता हुने, मुड परिवर्तन हुने, छालामा दागहरु देखिने, कपाल गुम्ने लगायतका हुनसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com