२० बर्षपछि परिवारलाई भेट्न अमेरिकाबाट नेपाल फर्कने योजनामा थिए थोक्मे बिष्ट


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

– किशोर पन्थी

न्युयोर्कमा शुक्रबार मृत्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने योजनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल फर्कने योजनामा रहेको उनका निकटवर्तीहरुले जानकारी दिएका छन् । तर उनी नेपाल फर्कन नपाउँदै उनको न्युयोर्कमा निधन भयो ।

४८ बर्षका बिष्ट नेपालमा श्रीमति र दुई छोराहरु छाडेर अमेरिका आउँदा झण्डै २८ जवान बर्षका थिए । यो बीचमा उनले परिवारका सदस्यलाई भेट्न पाएनन् । कागजपत्र बनाउने दोडधुपमा लाग्दा लाग्दै र परिवारबाट अलग बस्दा उनी मुटु र फोक्सोको रोगको समेत शिकार भए ।

‘झण्डै दुईसाता अगाडि भेटेको थिएँ । अब सधैका लागि अमेरिका छाडेर नेपाल फर्कने र परिवारसँगै बस्ने बताएका थिए । तर परिवारलाई भेट्नै नपाई बिते । ‘ – थोक्मेका साथी न्युयोर्क निवासी छेपक दोर्जे गुरुङले भने ।

उनीसँग नेपाल फर्कनका लागि एमआरपी समेत नभएको जनाइएको छ । एमआरपी बनाउन समय लाग्ने भएकाले ट्राभल डकुमेन्ट बनाएर भएपनि नेपाल जाने योजनामा थिए उनी । त्यसबारे बुझ्न उनी एकपटक न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा समेत गएका थिए ।

न्युयोर्कको सन्नीसाइडनेर दाजुभाउजुहरुसँगै बस्दै आएका उनलाई केहीदिन अगाडि रोगले च्याप्दै लग्यो । सुरुमा टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखियो । कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी नजिकैको अर्जेन्ट केयरमा गए । त्यहाँ सामान्य चेकजाँचपछि उनलाई घरमै आराम गर्न सुझाव दिइयो । उनी घरमा नै आराम गरिरहेका थिए ।

तर अलिक गाह्रोजस्तो अनुभव भएपछि उनी माउन्ट साइनाई अस्पतालमा उपचारका लागि गए । त्यहाँ उनको चेकजाँच गरियो । र फोक्सोको एक्सरे समेत गरियो । एक्सरे पछि अस्पतालले फोक्सोमा केही समस्या रहेको बताएको थियो । तर उनलाई अस्पतालले भर्ना गर्न नमानेर घरमै आराम गर्न सुझाव दियो । दुईचारदिनमा थप रिपोर्ट आइसकेपछि जानकारी गराउने अस्पतालले बताएको थियो ।

‘तर अस्पतालको रिपोर्ट नआउँदै उनी बिते’ – छेपक दोर्जे गुरुङले भने ।

अपर मुस्ताङको लोमान्थाङका बिष्टको शुक्रबारविहान बस्दै आएको अपार्टमेन्टमा निधन भयो । बेलुका प्रहरी र मेडिकल टिम आएर उनको शव लगेको थियो ।

उनको शव कहाँ लगेको छ र कसरी दाहसंस्कार गर्ने भन्नेमा आफन्तहरुमा अन्यौल छाएको छ ।

‘दाहसंस्कारका लागि फ्युनेरल होम बुक गरेर सम्बन्धित निकायलाई जानकारी दिएपछि फ्युनेरल होमले शव ल्याएर दाहसंस्कार गर्छ । तर त्यसका लागि फ्युनेल होम बुक गर्ने प्रकृया अगाडि बढाउनुपर्छ ।’ –  मेरिल्याण्ड राज्यको संसदमा डेलिगेट ह्यारी भण्डारीले जानकारी दिए । भण्डारीले दुईसाता अगाडि निधन भएका अनिल लिम्बुको दाहसंस्कारमा फ्युनेरल होम बुक गर्ने देखि अन्य प्रकृयामा सघाएका थिए ।

मृतक बिष्ट मुस्ताङका राजाका समेत आफन्त हुन् । उनी मुस्ताङका राजाका नजिकका भान्जा रहेको जनाइएको छ ।

उनको मृत्युपछि न्युयोर्कको नेपाली समदाय स्तब्ध भएको छ । खासगरी मुस्ताङी समुदायको उनको मृत्युको खबरले स्तब्ध र तनावग्रस्त भएको छ ।

कोरोनाको महामारीका कारण न्युयोर्कमा सबैलाई घरभित्र बस्न आदेश दिइएकाले नेपालीहरुपनि घरभित्र नै बसिरहेका छन् । यस्तो अवस्थामा दाहसंस्कार कसरी गर्ने भन्नेमा पनि अन्यौल उत्पन्न भएको छ । सामाजिक दुरी कायम गर्नुपर्ने नियमका कारण पनि दाहसंस्कारमा सहभागी हुनका लागि समुदायका सदस्यहरुलाई निकै कठिन रहेको छ ।

मार्चको अन्तिम साता न्युयोर्कमा मृत्यु भएका नेपाली अनिल लिम्बुको परिवारका सदस्य र समुदायका सदस्यहरुको उपस्थीति विना नै दाहसंस्कार गरिएको थियो । फ्युनेरल होम बुक गरिसकेपछि फ्युनेरल होमले नै लिम्बुको शव अस्पतालबाट लगेर दाहसंस्कार गरेको थियो ।

बिष्टका श्रीमति र छोराहरु पनि नेपालमा नै रहेकाले तथा कोरोनाको महामारीका कारण अहिले उनीहरु आउन सम्भव नभएकाले बिष्टको दाहसंस्कार पनि परिवारका सदस्यको उपस्थीति विना नै हुने भएको छ । तर आफन्त र समुदायका व्यक्तिहरु दाहसंस्कारमा सहभागि हुने वा नहुने भन्ने सन्दर्भमा अहिलेसम्म केही टुंगो लागेको छैन ।

छेपक दोर्जे गुरुङले  भने – ‘लामोसमयदेखि मैले चिन्दै आएको थिएँ बिष्टलाई । उनको मृत्युको खबरले हामी स्तब्ध छौं । सधैका लागि नेपाल फर्केर २० बर्षपछि परिवारका सदस्यलाई भेट्ने उनको सपना पनि अधुरै रह्यो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com