अस्पतालबाट न्युयोर्कमा कोरोना संक्रमित जीवन बम – ‘संक्रमण भए नलुकाउनुहोला’


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

कोरोना संक्रमण पुष्टी भएपछि न्युयोर्कको लङ आइल्याण्डमा रहेको माउन्ट साइनाई अस्पतालमा उपचाररत व्यवसायी जीवन बमले कसैलाई कोरोना सक्रमण भएमा नलुकाउन अमेरिकामा रहेको नेपाली समुदायलाई आव्हान गरेका छन् । उनले खसोखाससँग कुराकानी गर्दै भने -‘ यदि तपाईमा कोरोनाको लक्षण देखिएको छ वा कोरोना संक्रमण पुष्टी भएको छ भने अरुसँग नलुकाउनुहोला । तपाईले लुकाएका कारण अरुमा संक्रमण हुनसक्छ । र अरुको ज्यान समेत जानसक्छ ।’

बिहिबार अस्पतालमा भर्ना भएका बममा हिजो कोरोना संक्रमण पुष्टी भएको हो । झण्डै १३ दिन अगाडि ज्वरो आएको र ज्वरो आउनासाथ शंका लागेर घरमै सेल्फ क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । उनले भने – ‘ज्वरो आउनासाथ मैले घरमा श्रीमतिलाई भनें । घरमा छुट्टै कोठाको व्यवस्था गरेर म सेल्फ क्वारेन्टाइनमा बसें ।’

हनहनी ज्वरो आइसकेपछि र जिउ कापेपछि अस्पतालको इमर्जेन्सीमा गएर कोरोना परीक्षण गराएको तर सुरुमा कोरोना संक्रमण नेगेटिभ देखिएको बमले जानकारी दिए । तर पछि ज्वरोले निकै गाह्रो भएपछि विहिबार पुन अस्पताल आएर भर्ना भएको उनले बताए । दोश्रो पटक चेक गराउँदा उनमा कोरोना संक्रमण पुष्टी भएको हो ।

आफूलाई स्वास फेर्न खासै गाह्रो नभएको तर ज्वरो आएका कारण निकै गाह्रो भएको उनले बताए । उनले भने – ‘ ज्वरो आयो कि शरिरभर खुर्सानी दलेजस्तो गरेर पोल्छ । हिजोदेखि ज्वरो कम भएको छ । केही सुधार भइरहेको छ ।’

आफूलाई भेन्टिलेटरमा बस्नु नपरेको र अक्सिजन लगाउनु नपरेको उनले बताए । आफूलाई लक्षण देखिनासाथ अरु कसैलाई पनि आफूले नभेटको उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com