न्युयोर्कबाट कोरोना संक्रमित मोक्तानको सन्देश : ‘घरभित्रै बस्नुहोस्, दुरी कायम गर्नुहोस्’


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

कोरोना संक्रमणका कारण न्युयोर्कको अस्पतालमा भर्ना भएका न्युयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आब्हान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

उनले खसोखासमार्फत समुदायलाई सन्देश दिदै भने – ‘यदि तपाईमा लक्षण देखिएको छ भने अरुलाई संक्रमण हुन नदिन कृपया घरमै बस्नुहोला । यदि तपाईमा लक्षण देखिएको छैन भने पनि अरुबाट आफूमा संक्रमण हुन नदिन घरमै बस्नुहोला ।’

उनको न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेको छ । सोमबार अस्पतालमा भर्ना हुनुभएका उनीमा बुधबार कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रचारमा आएजस्तो कोरोनाको कुनै पनि लक्षण आफूमा नदेखिएको उनले जानकारी दिए । आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिलेको उनको भनाई छ । उनले भने – ‘मलाई पाखुरा र टाउकोमा सोला हानेजस्तो भएको थियो । पहिले पनि यस्तो हुन्थ्यो । अनि पेनकिलर खाएपछि निको हुन्थ्यो ।’

‘तर यसपटक निको भएन । तीनचारघण्टापछि फेरी दुख्न थाल्थ्यो । यसरी एकसातासम्म पनि दुखेपछि निको हुनुको साटो झन् स्वास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा इमर्जेन्सी रुममा भर्ना भएँ । सबै टेस्टहरु गरेपछि कोरोना पनि टेस्ट गर्दा पोजेटिभ भएको रिपोर्ट आयो । अहिले उपचार जारी छ । ‘ –  उनले खसोखासलाई जानकारी दिए ।

अहिले आफूलाई स्वास फेर्न गाह्रो भइरहेको र बोल्न नसक्ने अवस्था भएको उनले अस्पतालबाट खसोखासलाई जानकारी दिए । तर अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका उनले हिजोमात्र आफू कष्टमा रहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका थिए । उनले आफ्ना लागि प्राथना गरिदिन समेत सबैलाई अनुरोध गरेका थिए ।

मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्युजिक भिडियो र चलचित्रहरु समेत खिचेका छन् । मोक्तान डिजिटलमार्फत उनले फोटोग्राफी सम्बन्धि सेवा समेत संचालन गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com