हरेक करदातालाई १२ सय र जागिर गुमाएकालाई साताको ६ सय दिने प्याकेजमा ट्रम्पले गरे हस्ताक्षर


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । दुबै सदनबाट पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले यसमा हस्ताक्षर गरेका हुन् । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो ।

२ ट्रिलियन अमेरिकी डलरको यो प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

बिलमा ५ सय बिलियन ऋण, लगानी लगायतमा छुट्याइएको छ भने एयरलाइन्स उद्योगका लागि ३२ बिलियन छुट्याइएको छ । त्यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरु पनि संघीय सहायता प्राप्त गर्नका लागि योग्य हुनेछन् । विद्यार्थीहरुको ऋण सेप्टेम्बर ३० सम्मका लागि कुनै जरिवाना स्थगित गरिनेछ ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए । यसपटक पनि सोही विधि अपनाउन खोजिएको छ ।

विगतमा उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो । रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com