कोरोनाबिरुद्ध जुध्न अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीका लागि तत्काल गर्नुपर्ने ५ काम
प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार
– राधाकृष्ण देउजा
कोरोना भाइरसको आतंकले सवै आतंकित र चिन्तित रहेको समयमा अमेरिकामा रहेको नेपाली समुदायको अवस्था बुझ्न ढिलै भएपनि अमेरिकाका निम्ती नेपाली राजदुत माहामहिम अर्जुन कार्कीले समाजका केहि अग्रजहरुसंग कन्फरेन्स कल बैठक गर्नु भएछ ।
अहिलेको समय असाधारण समय हो , चुनौती पनि असाधारण हो र यसको सामनाको पनि निम्ती लिइने कदमहरु पनि अभूतपूर्व हुनुपर्छ । त्यसैले नेपालको हित रक्षा र सम्वन्धित देशमा रहेका नेपालीहरुको सुरक्षा त्यस देशमा रहेको राजदुतावासको प्रमुख जिम्मेवारी हुनुपर्छ ।
त्यसो हो भने अमेरिकामा रहेका नेपालीहरुको सुरक्षाको निम्ती अमेरिका स्थीत नेपाली राजुतवासले के गर्नु पर्ला त ?
इमान्दारीसाथ मोलाहिजा नगरी भन्दा यसको सम्वन्धमा केहि काम अमेरिकामा बसिरहेका नेपालीहरुले गर्नु पर्ने देखिन्छ भने केहि राजदुतावासले गर्नु पर्ने छ । अहिलेको अवस्थामा निम्न काम अनिवार्य देखिन्छ :
१. राजदुतवासले सक्दा आफ्नै जनशक्तीको प्रयोग गरेर र त्यो नभएमा गैरआवासीय नेपाली आइटी विज्ञहरुको सहयोग लिएर अनि त्यो पनि नभएमा रिमोटलि काम गर्ने गरेर केहि आइटी कर्मचारी हाएर गर्ने र अमेरिकामा रहेका नेपाली ( ग्रिनकार्ड वा सिटिजन वाहेक नेपाली नागरिकता भएका ) हरुको यथार्थ विवरण निकाल्नु पर्छ ।
२. नेपालीहरुको यथार्थ तथ्याँक निकालीसके पछि उनीहरु सवैलाइ जोडेर एउटा ग्रुप इमेल बनाउने वा सम्पर्कको माध्यम बनाउने ।
३. राजदुतवासले एक वा दुइ कर्मचारीलाइ कार्यालय समयमा टेलिफोन गर्न सकिने व्यवस्था गर्ने र यदी अमेरिकामा रहेका कोहि नेपालीलाइ संक्रमण भएको छ भने राजदुतवासका तोकिएका कर्मचारीलाइ खवर गर्ने अनि त्यस्तो संक्रमितहरु रहेको स्थानमा स्वास्थ्य उपचारको के कस्तो व्यवस्था छ , दैनिक जीवन यापनमा सहयोगी गर्ने स्वमसेवकहरुको सक्रियता छ वा छैन , छ भने कस्तो छ भनेर बुझ्ने र जानकारी गराउनको लागि अरु कर्मचारीलाइ खटाउने वा जनशक्ति अभाव भएमा नेपाली सामुदायिक संघ सँस्थाहरुलाइ स्वयमसेवकको व्यवस्था गर्न अनुरोध गर्ने ।
४. भाइरसको प्रकोप र प्रभाव लामो समय रहने सत्यको मनन गर्दै त्यसको सामना गर्दै गर्दा हुने आर्थिक अभावको समेत विचार गरेर नेपाली नागरिकहरुलाइ उद्धार गरेर नेपाल लाने व्यवस्थाको निम्ती पनि योजना बनाउनु पर्छ । कमसेकम भाइरस नभएको टेस्टबाट देखिएकाहरु जो यहाँ बसेर थप संक्रमित हुनु भन्दा नेपाल जान चाहन्छन भने उनीहरुलाइ उनीहरुकै खर्चमा समुह बनाएर विमानको व्यवस्था गरिदिएर नेपाल लाने वारेमा पनि सोच्नु पर्छ र त्यसको सम्भावित कार्ययोजना बनाउन नेपाल सरकार , सम्वन्धित नेपाली समुदाय लगायत सवै पक्षसंग छलफल गरिनु पर्छ ।
५. अमेरिकामा रहेका ग्रिनकार्ड वाहक नेपालीहरु देखि अमेरिकी नागरिकता भएका गैरआवासीय नेपालीहरुको हकमा त राज्य देखि केन्द्र सरकारले विपदको सामना गर्न थोरै भएपनि आर्थिक सहायता प्याकेजको घोषणा भएको छ तर त्यस्तो समयमा सवै भन्दा बढी चुनौतीको सामना गर्न वाध्य नेपाली विद्यार्थीहरुले आफ्नो दैनिकी चलाउन कहीं कतैबाट सहायता पाउने सम्भावना नै छैन । यस्तो अवस्थामा आफुसंग हुने नेपालीहरुले नेपाली विद्यार्थीहरुलाइ आवश्यक सहयोग गर्न ठुलो छाती देखाउनु पर्छ भने राजदुतवासले खाने वस्नेनै समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाइ सहायता गर्न सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाइ अनुरोध गर्नु पर्छ ।
उल्लेखित वाहेक अरु थुप्रै उपायहरु पनि हुनसक्लान जसको अवलम्बन गर्दै अमेरिकामा रहेका नेपालीहरुलाइ असहजतामा सहयोग गर्न सकियोस, यही मोडालिटि संसारका अन्य देशहरुमा पनि अनुशरण गर्न सकिन्छ । अमेरिका वा सँसारको कुनै पनि देशको राजदुतको निम्ती यो असाधारण नेतृत्व क्षमता र समन्वयकारी भूमिका निर्वाह गर्ने समय हो । माहामहिमहरु सवैले बुझ्नु पर्छ यो औपचारिकता निर्वाह गरेर झारा टार्ने समय हैन , यो बचाउन सक्नेलाइ बचाउने र बचेकाहरुलाइ टिकाउन समय हो ।
आशा गरौँ सम्पूर्ण माहामहिमहरुको असाधारण नेतृत्व र अभूतपूर्व सक्रियता देखियोस ।







