न्युयोर्कमा कति नेपाली कोरोना संक्रमित ?


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

न्युयोर्कमा कति नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ? यो प्रश्न अमेरिकामा बस्ने धेरै नेपालीहरुको मस्तिष्कमा खेलिरहेको छ । अझ न्युयोर्कमा रहेका नेपालीहरुको मन मस्तिष्कमा अहिले यो प्रश्न टड्कारो रुपमा उठिरहेको छ ।

न्युयोर्क सिटीको पनि क्वीन्समा सबैभन्दा धेरै संक्रमित भएको र क्वीन्समा मात्र संक्रमितको संख्या ८ हजार नाघेको अवस्थामा यो प्रश्न स्वभाविक छ । किनभने न्युयोर्क क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

अहिलेसम्म न्युयोर्कको ज्याक्सनहाइट आसपासमा एकदर्जन भन्दा धेरै नेपालीहरुमा कोरोना संक्रमण भएको जानकारी खसोखासलाई प्राप्त भएको छ । दुईजना नेपालीहरु एल्महस्र्ट अस्पतालमा उपचार गराइरहेको आधिकारिक जानकारी प्राप्त भएको छ भने अरु घरमै रहेका छन् । यो संख्या खसोखाससँगको सम्पर्कमा आएकाहरुको संख्या हो । तर कति नेपालीहरु संक्रमित छन् भन्ने यकिन तथ्यांक कतैपनि छैन ।

आज अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीबाट आयोजित कन्फ्रेन्स कल बैठकमा न्युयोर्कका विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र अगुवाहरुले पनि यसबारे प्रश्न उठाएका छन् । बैठकमा बोल्दै प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता सञ्जय थापाले न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मात्र ५ जना कोरोना पोजेटिभ नेपालीहरुले उपचार गराइरहेको अनौपचारिक जानकारी प्राप्त भएको बताए । न्युयोर्कमा कोरोना संक्रमित नेपालीहरुले आफ्नो परिचय नलुकाएको खण्डमा नेपाली समुदायमा कोरोना संक्रमण फैलिन कम हुनसक्ने थापाले बताए ।

त्यस्तै बैठकमा बोल्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले न्युयोर्कमा मात्र कोरोना संक्रमितको संख्या दुई तीनसय भएको बताए । एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले संक्रमित नेपालीहरुलाई सहयोग गरिरहेको र सक्रमितको संख्या बढिरहेको बताए । बैठकमा बोल्दै जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले न्युयोर्कमा कोरोना संक्रमित नेपालीहरुको संख्या चारपाँचसय भन्दा बढी हुनसक्ने बताए ।

न्युयोर्कमा कोरोना संक्रमणबाट एकजना नेपालीको मृत्यु भइसकेको छ भने उनका परिवारमा पनि संक्रमण देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com