यसकारण न्युयोर्क बन्यो कोरोनाको नयाँ इपिसेन्टर


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

अमेरिका विश्वमा नै कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको मुलुक बनेको छ । त्यसमध्येपनि न्युयोर्क राज्य र त्यसमा पनि न्युयोर्क सिटी कोरोना संक्रमणको नयाँ इपीसेन्टर बनेको छ ।

यसो हुुनुका विभिन्न कारणहरु छन् ।

न्युयार्क सिटी अमेरिकाको सबैभन्दा घनत्व भएको र ठूलो सिटी हो । घनत्व बढी भएको क्षेत्रमा कोरोना भाइरसको संक्रमण छिटो फैलिने गरेको छ ।

न्युयोर्क सिटीमा औषतमा एक बर्गमाइल क्षेत्रमा २७ हजारको बसोबास रहेको छ । जुन शिकागो र फिलाडेल्फियाको भन्दा दोब्बर तथा लस एन्जलसको भन्दा तेब्बर हो ।

दिनभरजसो नै न्युयोर्कबासीहरु ट्रेनभित्र प्याक हुने गर्छन् । बाटोमा हिड्दा एकअर्कासँग छोइने, ठोक्किने र बार तथा रेष्टुरेण्टमा घुँडा जुध्ने न्युयोर्कका लागि सामान्य हो । न्युयोर्कका ५ वटै बोरोमा सार्वजनिक यातायात भएकाले अधिकांशले निजी कारहरु किन्दैनन् , जसका कारण एकअर्कासँग संसर्ग सहज बन्छ ।

८ मिलियन भन्दा धेरै जनसंख्या भएको न्युयोर्क सिटी मुलुककै सबैभन्दा धेरै जनसंख्या भएको सिटी हो । न्युयोर्कमा कोरोना संक्रमितको संख्या धेरै हुनु ठूलो सिटीको प्रतिबिम्ब पनि हो ।

न्युयोर्कमा धेरै संक्रमित भेटिनुको कारण न्युयोर्कले आक्रमक रुपमा संक्रमितहरुको परीक्षण गरिरहेको छ । न्युयोर्कले कोरोनाको परीक्षणका लागि विशेष कदम चालेको छ । अस्पताल, ल्याब र ड्राइभ थु्र क्षेत्रहरुमा कोरोनाको परीक्षणको सुविधा दिइएको छ । मार्च १३ मामात्र न्युयोर्कले २८ वटा सार्वजनिक र निजी ल्याबहरुलाई कोरोना परीक्षणको अनुमति दिएको थियो । यस्तो कदम चाल्ने न्युयोर्क पहिलो राज्य हो ।

गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कमा एकलाख बढीको परीक्षण भइसकेको बताएका छन् । बिहिबारमात्र अमेरिकाभर गरिएका परीक्षणमध्ये २५ प्रतिशत परीक्षण न्युयोर्कका थिए । कोरोना पोजेटिभ हुनेलाई आइसोलेट गर्न र फैलावट रोक्न न्युयोर्कले कोरोना पोजेटिभ हुनेहरुको खोजी आक्रमक रुपमा गरिरहेको कुमोको भनाई छ ।

ब्यापक रुपमा गरिएको परीक्षणका कारण संख्या धेरै देखिएपनि यो कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

त्यस्तै न्युयोर्कमा फैलावट हुनुको एउटा कारण कोरोनाबिरुद्धको कदम चाल्नमा भएको ढिलाईलाई समेत लिइएको छ । गभर्नर र मेयर दुबैले न्युयोर्कमा ब्यापक रुपमा विद्यालयहरु बन्द गर्न, सामाजिक जमघटहरु रोक्न, भेलाहुनमा रोक्न ढिलाई गरेका थिए ।

मार्च २ मा न्युयोर्क राज्यमा पहिलो कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । मार्च ११ सम्म आउँदा २१६ पुग्यो भने मार्च १४ सम्म आउँदा ६ सय १३ पुग्यो । गभर्नर र मेयरले मार्च १२ मा मात्र ५ सय भन्दा बढीको जमघटमा प्रतिबन्ध लगाए ।

२३ सयमा संक्रमण पुष्टी भएपछिमात्र मार्च १८ मा विद्यालयहरु बन्द गरिए । मार्च २२ मा १५ हजार भन्दा धेरैमा संक्रमण भएपछिमात्र घरमा बस्न आदेश दिइयो ।

अर्कातर्फ न्युयोर्क सिटी विश्वको चर्चित मध्येको गन्तब्य हो । अमेरिकामा सबैभन्दा बढी भ्रमण गरिने सिटी पनि न्युयोर्क नै हो । कोरोना भाइरसको महामारी फैलिएका देशबाट आएकाहरुले न्युयोर्कमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेले । ट्रम्पले विभिन्न यात्रा प्रतिबन्धको घोषणा गरेपनि न्युयोर्क जस्तो धेरै आवतजावत हुने सिटीका लागि उनले घोषणा गरेको यात्रा प्रतिबन्ध ढिला भइसकेको थियो ।

न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोले अमेरिकामा यसको फैलावट अझ तीब्र हुने र न्युयोर्कमा देखिएको संख्या हात्तिका मुखमा जिरा जस्तो भएको बताएका छन् ।

कुमोले भनेका छन् – यो न्युयोर्कमा उच्च छ किनकि यो यहाँ सुरु भएको थियो । किनकि विश्वभरका यात्रीहरू पहिले न्युयोर्क आउँछन् । किनकि हामीसँग प्रायः स्थानहरू भन्दा बढी घनत्व छ । तर तपाईंले कोरोनालाई देशभरिका शहरहरूमा देख्नुहुनेछ। र तपाई यसलाई सबै देशभरका उपनगरी काउन्टीहरूमा देख्नुहुनेछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com