३ महिनाको बच्चा छाडेर न्युयोर्कमा कोरोना संक्रमितको रेखदेखमा सकृय नेपाली नर्सको आब्हान


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा कोभिड १९ को हेरचाहमा कार्यरत नेपाली नर्स ममता ढकालले अमेरिकामा नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् । खसोखाससँग कुराकानी गर्दै उनले भनिन् – ‘यदि तपाईलाई सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नुहोस् । कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घरभित्रै बस्नु उपयुक्त हुन्छ ।’

कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् ।

यदि कसैलाई स्वास फेर्न गाह्रो भएको छ, ज्वरो आएको छ, बान्तामा रगत देखिएको छ, हिड्न नसक्ने अवस्था छ भने अर्थात् अवस्था गम्भिर रहेको छ भने स्वास्थ्य सहयोग खोज्न उनले सुझाव दिएकी छिन् ।

यदि कसैसँग एन ९५ मास्क र पीपीई भएमा एल्महस्र्ट अस्पतालमा डोनेशन गर्न समेत उनले आग्रह गरेकी छिन् । विरामीको हेरचाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई यस्ता मास्क र पीपीईको आवश्यकता रहेको उनको भनाई छ । एउटै मास्क १२ घण्टासम्म प्रयोग गर्नुपर्ने बाध्यता रहेको र पीपीईको समेत अभाव रहेको उनले बताइन् ।

ढकाल तीन महिनाको बच्चालाई घरमा छाडेर कोभिड १९ का बिरामीको हेरचाहमा खटिएकी छिन् । अस्पतालबाट घरमा गइसकेपछि पनि परिवारका अन्य सदस्यलाई नछुने र टाढै बस्ने गरेको उनले बताइन् । उनले भनिन् – ‘घरमा गइसकेपछि म छुट्टै कोठामा बस्दै आएकी छु ।’

२ बर्षदेखि एल्महस्र्ट अस्पतालमा कार्यरत उनले कोभिड १९ का बिरामीको हेरचाह सुरु गरेदेखि घरमा पनि क्वारेन्टाइनमा नै बसेको जानकारी दिइन् । उनले घरमा भाँडाहरु पनि अलग्गै प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन् – ‘तीनमहिनाको बच्चा, श्रीमान् र सासुससुरा अलग्गै बस्नु भएको छ । मैले बच्चालाई पनि टाढैबाट हेर्छु । स्तनपान समेत गराएको छैन ।’

(यदि तपाई पनि कोभिड १९ का बिरामीको उपचार र हेरचाहमा खटिनुभएको छ । र आफ्नो अनुभव शेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।- सम्पादक)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com