नेपालबाट फर्केको झण्डै तीनसातामा बेलायतमा कोरोना संक्रमणबाट अर्का नेपालीको मृत्यु


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

बेलायतमा सोमबार निधन भएका ४० बर्षका नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । तर उनलाई कहाँ र कसरी कोरोना संक्रमण भयो भन्नेबारे केही स्पष्ट छैन ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।

मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन ।

यसअघि बेलायतमा  मृत्यु भएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो । अस्पतालले गत शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु भएको हो । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो ।

परिवारका अनुसार मृतक पछिल्लो एक महिनादेखि नमोनियाबाट थलिएका थिए । झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो । अस्पतालबाट घर फर्किएको तीन/चार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com