न्युयोर्कमा ज्यान गुमाएका लिम्बुका छोरा पनि सिकिस्त, अस्पतालको इमर्जेन्सीमा भर्ना


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

गएराती न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बुका छोरापनि सिकिस्त भएका छन् । २२ बर्षका जेठा छोरा सिकिस्त बिरामी भएपछि आजै एम्बुलेन्स आएर एल्महस्र्ट अस्पतालमा लगेको छ । उनलाई दिउसोदेखि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बु

परिवारका अन्य सदस्यहरु भने घरमै आराम गरिरहेका छन् । जेठा छोरालाई केहीदिन देखि नै संक्रमणको लक्षण देखिएपनि आज सिकिस्त भएपछि अस्पतालमा भर्ना गरिएको हो । सुरुमा ज्वरो आउने, खोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएकोमा आज स्थीति बिग्रदै गएपछि अस्पतालमा भर्ना गरिएको हो ।

यसैबीच अर्का एकजना ६० बर्ष काटेका नेपालीमा पनि कोरोना संक्रमणको लक्षण देखिएपछि केहीदिनदेखि एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ । तर उनको कोरोना परीक्षणको रिपोर्ट आए नआएको जानकारी भने प्राप्त भएको छैन ।

१ जना भेन्टिलेरमा

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको  छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

अस्पतालमा जाँदा अर्को तलामा लगेको बताएको र भेट्न जान नदिएको उनले बताइन् । फोन गर्नका लागि नम्बर दिएपछि फोन गरेर भेट्न जाँदा भेन्टिलेटरमा राखिसकेको थियो ।

मंगलबार दिउसो फोन गर्दा अक्सीजन लेभल माथि आएको बताएको र बुधबार फोन गर्दा कम भएको बताएको उनले बताइन् । विहिबार कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको र आफूहरुले परिवारमा सल्लाह गरेर उक्त औषधी चलाउन अनुमति दिएको श्रीमतिले बताइन् ।

शुक्रबार बेलुका र शनिबार बेलुका अवस्था स्थीर रहेको चिकित्सकले बताएका छन् । तर अहिले पनि भेन्टिलेटरमा नै राखेर उपचार गरिएको छ । उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण १५ दिन अगाडि देखि नै उबर चलाउन छाडेका थिए ।

४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएका छन् ।

उनलाई कसरी संक्रमण भयो भन्नेबारे केही खुलेको छैन ।

भर्जिनियाको फेयरफ्याक्समा ३८ बर्षकी नेपाली महिलामा कोरोना पोजेटिभ

भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको सक्रमण पुष्टी भएको हो ।

अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइन्मा बस्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुशार ती महिला घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र अवस्था गम्भिर भने नभएको जनाइएको छ ।

सुरुमा ज्वरो आएपछि र खोकी लागेपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन् । तर अस्पतालले ज्वरो सामान्य भएको र खोकी लाग्दैमा कोरोना संक्रमण नहुने भन्दै चेकजाँच गर्न नमानेको जनाइएको छ ।

त्यसपछि चेकजाँचका लागि अर्को स्थानमा सम्पर्क गर्दा विशेष पार्किंग लटमा नै रोकेर, विभिन्न सावधानीहरु अपनाएर चेक गर्ने स्थानमा लगिएको र सुरुमा इन्फ्लुएन्जाको चेक गर्दा नेगेटिभ देखिएपछि कोरोना भाइरसको परीक्षण गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कोरोनाको संक्रमण पुष्टी भएपनि चिकित्सिकहरुले घरमै आरा मगर्न सुझाव दिएका छन् । तर एकदमै गाह्रो भयो भने अस्पतालमा आउन सुझाव दिइएको छ ।

ती महिलाले काम गर्ने स्थलमा पनि अरु कसैलाई अहिलेसम्म संक्रमण पुष्टी नभएको जनाइएको छ । कार्यस्थल भींडभाड हुने स्थान पनि नभएकाले लिफ्ट वा अन्य कुनै सतहबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनको परिवारमा अरु तीनजना सदस्यहरु रहेका छन् ।

ज्याक्सनहाइट बस्ने अर्का नेपालीमा कोरोना पोजेटिभ, परिवारका सदस्यमा समेत लक्षण

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने अर्का एकजना ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । तीनदिन अगाडि परीक्षण गरिएको कोरोना परीक्षणको नतिजा हिजो प्राप्त भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले भन्यो  – ‘हिजो दिउसो डाक्टरले फोन गरेर कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ भएको बतायो । घरबाहिर नजान र घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।’

न्युयोर्कको ज्याक्सनहाइटको सत्यनारायण मन्दिर नजिकै बस्दै आएका ती व्यक्ति चारदिन पहिले टाउको दुखेर एल्म्हस्र्ट अस्पतालमा चेकअपका लागि गएका थिए र दिनभर लाइनमा बसेका थिए । तर बेलुका पालो आइसकेपछि कोरोना संक्रमणको लक्षण नदेखिएको भन्दै कोरोना भारइरसको परीक्षण नगरी फिर्ता पठाइएको थियो ।

उनले खसोखास प्रतिनिधिसँग कुराकानी गर्दै भने – ‘मनले नमानेपछि फेरी अर्को ठाउँमा गएर चेकजाँच गराएँ । तीनदिनपहिले चेकजाँच गराएको थिएँ । आजै डाक्टरले फोन गरेर पोजेटिभ भएको जानकारी दिए । अस्पतालले पनि भर्ना लिन मानेन । के गर्ने निकै चिन्तामा छौं ।’

म्यानहटनमा काम गर्दै आएका उनले झण्डै एकसाता अगाडिमात्र काम छाडेका थिए । उनकी ४० कटेकी श्रीमति र २ जना छोरीहरु समेत रहेका छन् । श्रीमतिमा समेत कोरोना संक्रमणको लक्षण देखिएको जनाइएको छ । तर परिवारका अन्य सदस्यको भने परीक्षण गरिएको छैन । छोरीहरुलाई लक्षण देखिएको नदेखिएकोबारे केही बताइएको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com