न्युयोर्क, न्युजर्सी र कनेक्टिकेटबाट फ्लोरिडाजानेलाई अनिवार्य क्वारेन्टाइन
प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार
फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले आज एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्क, न्युजर्सी र कनेक्टिकेटबाट फ्लोरिडा आउनेलाई १४ दिन सेल्फ क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने नियमको घोषणा गरेका छन् । आन्तरिक रुपमा यात्रा गर्नेहरुलाई पनि अनिवार्य सेल्फ क्वारेन्टाइनको नियम लगाइएको यो सबैभन्दा ठूलो परिणाम हो ।
न्युयोर्क, न्युजर्सी र कनेक्टिकेटका विमानस्थलबाट प्रस्थान गरेर फ्लोरिडा आउनेमाथि यस्तो नियम लागु गरिएको हो । न्युयोर्कबाट हरेक दिन १९० भन्दा धेरै उडानहरु फ्लोरिडा हुने गरेको र हरेक जहाजमा कम्तीमा एकजनालाई कोरोना भाइरस पोजेटिभ देखिने गरेको गभर्नरले बताएका छन् ।
सेल्फ क्वारेन्टाइनको आदेश नमान्नेहरुलाई सेकेण्ड डिग्री दुस्कर्मका रुपमा जेल वा जरिवाना वा दुबैसजाय हुनसक्ने जनाइएको छ । अमेरिकामा एकैदिनमा एकसयजनाभन्दा बढीको मृत्यु भएपछि फ्लोरिडाले यो कदम चालेको हो ।
अमेरिकाभर अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या ५७९ पुगेको छ । न्युयोर्कमा मात्रै संक्रमितको संख्या झण्डै २४ हजार पुगेको छ ।
फ्लोरिडामा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२२७ पुगेको छ ।








