नेपालमा कोरोना भाइरसका अफवाह: विश्व स्वास्थ्य संगठनका जवाफ


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

नेपालमा कोरोना भाइरसका सन्दर्भमा फैलिएका विभिन्न अफवाहबारे विश्व स्वास्थ्य संगठन नेपालले स्पष्ट पारेको छ । विभिन्न १० वटा अफवाहबारे विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको हो ।

शरीरमा तेल दलेर कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने हल्लाबारे विश्व स्वास्थ्य संगठनले भनेको छ – ‘शरीरमा तेल दलेर नोभल कोरोनाभाइरस मर्दैन ।’

त्यस्तै लसुन पानी सेवन गरेर नोभल कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने हल्लाबारे विश्व स्वास्थ्य संगठनले भनेको छ लसुन खानाले मानिसलाइ नोभल कोरोनाभाइरस संक्रमण निको बनाएको कुनै प्रमाण छैन ।

त्यस्तै एन्टीबायोटिकले भाइरसबिरुद्ध काम नगर्ने भएकाले योग्य मेडिकल डाक्टरले नतोकेसम्म एन्टिबायोटिकलाई कोभिड १९ को रोकथाम वा उपचारका रुपमा प्रयोग गर्न नहुने विश्व स्वास्थ्य संगठनको भनाई छ ।

शरीरमा रक्सी दलेर कोरोना भाइरसबाट बच्न सकिने हल्लाबारे विश्व स्वास्थ्य संगठनले भनेको छ – ‘नियमित रुपमा र राम्ररी अल्कोहोलयुक्त स्यानीटाइजरले हात सफा गर्दा वा सावुनपानीले हात धुंदा हातमा हुने भाइरसहरु मर्छन् ।’

त्यस्तै चीनबाट प्याकेजहरु प्राप्त गर्ने व्यक्तिहरु नयाँ कोरोना भाइरसको जोखिममा नभएको तथा यस अगाडिको विश्लेषणबाट कोरोना भाइरसहरु चिठ्ठी वा प्याकेज जस्ता बस्तुहरुमा लामो समयसम्म नबाँच्ने अवगत रहेको भन्दै यी रोग सार्ने माध्यम नरहेको विश्वस्वास्थ्य संगठनको भनाई छ ।

घरपालुवा जनावरहरु कुकुर विरालाहरुबाट कोरोनाभाइरस सरेको हालसम्म कुनै प्रमाण नरहेको विश्व स्वास्थ्य संगठनले भनेको छ । तर घरपालुवा जनावरहरुसँग सम्पर्क गरेपछि सावुनपानीले हात धुनु राम्रो भएको सुझाव दिइएको छ ।

यसबारेमा विश्व स्वास्थ्य संगठनको बुलेटिन नेपाली भाषामा यहाँ पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com