भोटेकोशी बाढीपछि राहत र उद्धार प्रभावित हुनेगरी एआई भिडियो र गलत सूचनाको बाढी


प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार

नेपालको अगस्त २६ को विनाशकारी बाढीपछि सामाजिक सञ्जालमा एआई-निर्मित र असम्बन्धित पुराना भिडियोहरू व्यापक रूपमा फैलिएका थिए।तस्बिर: राजन काफ्ले

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अर्को एउटा बाढी आयो – ‘भ्रामक र नक्कली सूचनाको’ । एआईबाट बनाइएका तस्बिर, पुराना भिडियो र विदेशका दृश्यहरूले विपद्‌मा परेका नागरिकलाई राहत दिनुको साटो झनै अन्योल र त्रासमा धकेलिदिए ।

विपद्का बेला सर्वसाधारणको ध्यान खिच्न किन यस्ता असम्बन्धित सामग्री फैलाइन्छ ? मिथ्या सूचनाको यो बाढीले मैदानमा भइरहेको उद्धार तथा राहत व्यवस्थापनलाई कसरी प्रभावित पारिरहेछ ?

सामाजिक सञ्जालमा भाइरल बनेका केही भ्रम र तिनको सत्यता

केस-१ : रसुवाको बाढीअघि र पछिको तुलना गरिएको ‘एआईनिर्मित तस्वीर’
दाबी : भोटेकोशीमा बाढी आएलगत्तै सामाजिक सञ्जालमा एउटा फोटो व्यापक भाइरल भयो, जसमा बाढी आउनुभन्दा पहिलेको सुन्दर बस्ती र बाढीपछिको विनाशलाई तुलना गरिएको थियो । धेरैले यसलाई वास्तविक दृश्य मान्दै दुःख व्यक्त गरेर शेयर गरे ।

तथ्य : ‘एसोसिएटेड प्रेस’ (एपी) लगायतका अन्तर्राष्ट्रिय फ्याक्ट चेक संस्थाहरूले गरेको डिजिटल फोरेंसिक जाँच अनुसार उक्त दुवै तस्वीर वास्तविक थिएनन् । ती तस्वीरहरू एआईको प्रयोग गरेर बनाइएका डिजिटल आर्टिफिसियल सामाग्री थिए ।

रसुवाको बाढीअघि र पछिको तुलना गरिएको ‘एआईनिर्मित तस्वीर’

केस-२ : अमेरिकाको ‘ग्लेशियर’ फुट्दाको भिडियो रसुवाको नाममा
दाबी :
रसुवास्थित भोटेकोशी नदीमा हिमताल फुटेर बाढी आएको दाबी गर्दै एउटा कहालीलाग्दो भिडियो टिकटक, फेसबुक र एक्स (ट्विटर) मा फैलाइयो।

तथ्य : ‘नेपालफ्याक्टचेक’ले गरेको अनुसन्धान अनुसार उक्त भिडियोको नेपाल वा रसुवासँग कुनै सम्बन्ध थिएन । त्यो अमेरिकाको अलास्कास्थित ‘कोलम्बिया ग्लेसियर’ क्षेत्रमा हिमताल विस्फोटजन्य बाढीको पुरानो भिडियो थियो, जसलाई रसुवाको बाढी भन्दै भ्रम छरिएको थियो ।

अमेरिकाको ‘ग्लेशियर’ फुट्दाको भिडियो रसुवाको नाममा

केस-३ : बालिका उद्धारको ‘एआई भिडियो’ र वास्तविक घटनाको भ्रम
दाबी :
रसुवाको टिमुरेमा पहिरोमा पुरिएकी एक बालिकालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरिरहेको दृश्य भन्दै एउटा भिडियो करोडौँ पटक हेरियो ।

तथ्य : ‘टेकपाना फ्याक्टचेक डेस्क’का अनुसार सशस्त्र प्रहरी बलले टिमुरेमा बालिकाको सकुशल उद्धार गरेको घटना सत्य हो, तर सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो भने पूर्ण रूपमा एआई-निर्मित थियो । वास्तविक उद्धार टोलीको सफलतालाई भ्रामक एआई भिडियोले ओझेलमा पारेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालिका उद्धारको ‘एआई भिडियो’ बनाएर फैल्याइएको भ्रम

केस-४ : नेपाल-चीन सीमामा हजारौँ मानिस पुरिएको भन्दै भाइरल भिडियो
दाबी :
नेपाल र चीनको सीमा क्षेत्रमा पहिरो जाँदा हजारौँ मानिस पुरिएको र पूरै गाउँ नै ध्वस्त भएको भन्दै सामाजिक सञ्जालमा एउटा विभत्स भिडियो व्यापक भाइरल बनाइयो ।

तथ्य : ‘रोयटर्स फ्याक्टचेक’ले गरेको तथ्य जाँच अनुसार यो दाबी पूर्ण रूपमा असत्य र भ्रामक भएको पुष्टि भयो। भिडियोमा पहिरोले गाउँ बगाएको दृश्य नेपाल-चीन सीमा क्षेत्रको नभई भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको बाढी-पहिरोको पुरानो दृश्य थियो ।

नेपाल-चीन सीमामा हजारौँ मानिस पुरिएको भन्दै भाइरल भिडियोको स्क्रिन सट

केस-५ : नेपाल-तिब्बत सीमामा बाढीले सयौँको ज्यान लिएको भन्दै फैल्याइएको एआई भिडियो
दाबी :
नेपाल-तिब्बत सीमा क्षेत्रमा भीषण बाढी आएर सयौँ मानिसको ज्यान लिएको केही घण्टामै उक्त विपत्तिको वास्तविक दृश्य भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर गरियो ।

तथ्य : ‘एएफपी फ्याक्ट चेक’ले गरेको अनुसन्धान अनुसार उक्त भिडियोमा सामान्यतया एआई-उत्पादित सामग्रीमा पाइने दृश्य विसङ्गतिहरू फेला परे। गुगलको एआई डिटेक्सन टुलले समेत उक्त भिडियो कृत्रिम बौद्धिकता सफ्टवेयर प्रयोग गरेरै बनाइएको पुष्टि गर्‍यो ।

एआई भिडियोको स्क्रिन सट

केस-६ : नेपालको विनाशकारी बाढीको भन्दै जम्मू कश्मीर र उत्तराखण्डका पुराना भिडियो भाइरल
दाबी :
अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीका कारण पसलहरू भत्किएर मानिसहरू पुरिएको र भवनहरू डुबेको दृश्य भन्दै सामाजिक सञ्जालमा दुईवटा भिडियोहरू व्यापक रूपमा सेयर गरिए ।

तथ्य : ‘विश्वास न्यूज’ले गरेको अनुसन्धान अनुसार यी दुवै भिडियोको नेपालको बाढीसँग कुनै सम्बन्ध छैन । एउटा भिडियो जुलाई २०२६ मा भारतको जम्मू कश्मीरस्थित बडगाम जिल्लामा आएको बाढीको हो भने अर्को भिडियो अगस्ट २०२५ मा उत्तराखण्डको धरालीमा आएको पहिरोको पुरानो दृश्य हो ।

भाइरल भिडियोको स्क्रिन सटहरू

केस-७ : आमाबुबा गुमाएका बालकले भाइरबहिनी बोकेको भन्दै भियतनामको पुरानो भिडियो भाइरल
दाबी :
भोटेकोशी बाढीमा परी आमाबुबा गुमाएका बालकले आफ्नो सानो भाइरबहिनीलाई ढाडमा बोकेर हिँडेको हृदयविदारक दृश्य भन्दै सामाजिक सञ्जालमा दुईवटा भिडियो व्यापक रूपमा सेयर गरिए ।

तथ्य : ‘नेपालफ्याक्टचेक’ले गरेको तथ्य जाँच अनुसार भाइरल बनाइएका दुवै भिडियो नेपालका नभई भियतनामका पुराना भिडियो हुन् । रसुवा बाढीको घटनासँग जोडेर भावनात्मक सन्देशसहित फैलाइएका यी दृश्य पूर्ण रूपमा भ्रामक भएको पुष्टि भयो ।

भाइरल भिडियोको स्क्रिन सटहरू

केस-८ : सुरुङबाट मानिसको उद्धार र हिलोमा पुरिएका बच्चालाई जुस खुवाएको भन्दै ‘एआई भिडियो’ भाइरल
दाबी :
सैनिकहरूले सुरुङभित्र छिरेर मानिसहरूको उद्धार गरिरहेको र हिलोमा पुरिएका बच्चालाई जीवितै उद्धार गरी जुस खुवाउँदै गरेको दृश्य भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक सेयर गरियो ।

तथ्य : यो दाबी पूर्ण रूपमा नक्कली र भ्रामक छ । भिडियोमा देखिएका दृश्यहरू कुनै वास्तविक उद्धार कार्यका नभई पूर्ण रूपमा कृत्रिम बौद्धिकता (एआई) प्रविधि प्रयोग गरेर सिर्जना गरिएका डिजिटल सामग्री हुन् ।

सुरुङबाट मानिसको उद्धार र हिलोमा पुरिएका बच्चालाई जुस खुवाएको भन्दै भाइरल एआईनिर्मित भिडियोको स्क्रिन सट

यी केही प्रतिनिधि घटना मात्रै हुन् । सामाजिक सञ्जालमा भारतको उत्तराखण्डको भिडियो प्रयोग गरेर गृहमन्त्री सुधन गुरुङ नेपाली सेनासँगै सुरुङभित्र पुगेर उद्धारमा खटिएको दाबीदेखि नेपालमा आएको बाढीको डरलाग्दो दृश्य भन्दै एआईबाट तयार गरिएका सामग्रीसम्म सामाजिक सञ्जालमा छरपस्ट देखिएका छन् ।

विपद्को बेला किन छिटो फैलिन्छन् यस्ता सामग्री ?

विपद्को समयमा मानिसलाई सही र तत्काल सूचनाको आवश्यकता बढ्छ । बाढी, पहिरो वा भूकम्पजस्ता घटनामा उद्धार, राहत तथा सुरक्षित स्थानबारे जानकारी लिन मानिसहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बढी निर्भर हुन्छन् ।

यही समयमा मिथ्या सूचना र भ्रामक सामग्री पनि तीव्र गतिमा फैलिने गर्छन् ।

विपद्का बेला मानिसहरूको सूचनाप्रतिको चासो उच्च हुने भएकाले सूचना हेर्ने र शेयर गर्नेको संख्या पनि बढ्छ । तर विपद्ले मानिसमा डर, चिन्ता र अन्य नकारात्मक भावनासमेत बढाइरहेको हुन्छ । यस्तो मनोवैज्ञानिक अवस्था मिथ्या सूचना फैलिनका लागि अनुकूल हुने बताउँछन् नेपालफ्याक्टचेकका परियोजना संयोजक, सूचना प्रविधि मामिला विज्ञ तथा मिडिया अनुसन्धानकर्ता उज्जवल आचार्य ।

उनका अनुसार विपद्का बेला मानिसहरू मनोवैज्ञानिक रूपमा कमजोर अवस्थामा हुन्छन् । डर र चिन्ता बढेका कारण भावनात्मक रूपमा अपिल गर्ने सामग्रीप्रति उनीहरूको आकर्षणसमेत बढ्ने गर्छ ।

“मानिसहरू त्यसै पनि विपद्का कारण मनोवैज्ञानिक रूपमा कमजोर भएका हुन्छन्। यस्तो अवस्थामा भावनात्मक रूपमा अपिल गर्ने सामग्रीको खपत बढी हुन्छ,” आचार्य भन्छन्, “मानिस मनोवैज्ञानिक रूपमा उच्चतम अवस्थामा नभएको बेला उसको आलोचनात्मक चेतनास्तर कम हुन सक्छ ।”

सूचना प्रविधि मामिला विज्ञ तथा मिडिया अनुसन्धानकर्ता आचार्य

विपद्का बेला सामाजिक सञ्जालमा सूचनाको बाढी नै आउने भएकाले प्रत्येक सामग्रीको सत्यता जाँच गर्ने समय र क्षमता पनि मानिससँग नहुन सक्छ । यही कारण भावनात्मक तथा प्रभाव पार्ने किसिमका सामग्रीलाई मानिसले तत्कालै विश्वास गर्ने सम्भावना बढ्छ ।

त्यसैगरी, विपद्का बेला मानिसहरू आफूले पाएको सूचना अरूलाई पनि जानकारी होस् र त्यसबाट कसैलाई सहयोग पुगोस भन्ने उद्देश्यले शेयर गर्न चाहन्छन् । तर यही सकारात्मक उद्देश्य कहिलेकाहीँ मिथ्या सूचना फैलाउने माध्यम बन्न पुग्छ ।

आचार्यका अनुसार एउटै विषयमा धेरै व्यक्तिले सामग्री शेयर गरिरहेको देखेपछि आफू पनि पछि पर्नु हुँदैन भन्ने मनोविज्ञानले काम गर्न सक्छ।

“सूचनाप्रतिको चासो र अरू मानिसलाई सहयोग होस्, जानकारी होस् भन्ने सोच धेरै हुँदा सामग्रीहरू शेयर गर्न मन लाग्छ,” उनी भन्छन्, “धेरै व्यक्तिले यही विषयमा सामग्री शेयर गरिरहँदा आफू पछि परिन्छ कि भन्ने भयले पनि काम गर्छ।”

यसरी सामग्रीको सत्यता जाँच नगरी गरिएको एउटा शेयरले मिथ्या सूचनालाई थप मानिससम्म पुर्‍याउन सक्छ।

भावनात्मक सामग्रीमा किन बढ्छ विश्वास ?


त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक लेखनाथ पाण्डे विपद्का बेला सामाजिक सञ्जालमा फैलिने मिथ्या तथा भ्रामक सूचनाले संकटलाई थप जटिल बनाउने बताउँछन् ।

सामाजिक सञ्जाललाई सूचनाको मुख्य स्रोत मान्ने मानिसहरूले त्यहाँ आएका सबै सामग्रीको विश्वसनीयता जाँच नगर्दा मिथ्या सूचना फैलिने जोखिम बढी हुने उनको भनाइ छ। डिजिटल तथा सूचना साक्षरता कमजोर भएका मानिसहरू सामाजिक सञ्जालमा आउने सामग्रीमा बढी निर्भर हुने उनी बताउँछन् ।

पाण्डेका अनुसार मानिसको व्यक्तिगत ‘बायस’सँग मेल खाने सामग्रीलाई वास्तविकता जाँच नगरी पत्याउने प्रवृत्तिसमेत हुन्छ । मिथ्या सूचना उत्पादन गर्न सहज र सस्तो हुने भएकाले सामाजिक सञ्जालमा यस्ता सामग्री तीव्र रूपमा फैलिने उनी बताउँछन् ।

“मान्छेलाई एक्जाजरेसन स्टोरीहरू, न्यारेटिभहरू, फल्स इन्फर्मेसनहरू, मिसलिडिङ कन्टेन्टहरू मन पर्छ । खासमा त्यो मान्छेको बायसअनुसार म्याच खान्छ,” पाण्डेले भने ।

विपद्का बेला मिथ्या सूचनाले मानिसमा त्रास, डर र आक्रोश बढाउने उनको भनाइ छ । संकटको समयमा तथ्यमा आधारित सूचना समयमै प्रवाह हुन नसके मिथ्या सूचनाले थप स्थान पाउने उनले बताए ।

“क्राइसिसको बेलामा मिसइन्फर्मेसनले झन् त्यो क्राइसिसलाई एम्प्लिफाइ गर्छ । मान्छेको त्रास, डर, आक्रोश र इमोसन बढाउँछ,” उनले भने ।

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक पाण्डे

उनका अनुसार विपद्का बेला सम्बन्धित निकायले समयमै तथ्यमा आधारित सूचना सार्वजनिक गर्नु मिथ्या सूचना नियन्त्रणको महत्वपूर्ण उपाय हो । राज्य तथा अन्य जिम्मेवार निकायले तथ्यपूर्ण सूचना प्रवाह गरे मिथ्या सूचना फैलिने सम्भावना कम हुने उनले बताए ।

सामाजिक सञ्जालमा मिथ्या सूचना फैलिइसकेको अवस्थामा पनि त्यसको तत्काल प्रतिकार आवश्यक हुने पाण्डेको भनाइ छ । आधिकारिक तथा तथ्यपूर्ण सूचना उपलब्ध नहुँदा मानिसहरूले सामाजिक सञ्जाललाई नै सूचनाको स्रोत बनाउने र त्यसले मिथ्या सूचना थप फैलिन सक्ने उनले बताए ।

सामाजिक सञ्जालमा मानिसको ध्यान तान्ने सामग्री बढी फैलिने भएकाले मिथ्या सूचना ‘एटेन्सन इकोनोमी’मा अझ प्रभावकारी हुने पाण्डेले बताए । उनका अनुसार एउटै घटनाबारे विभिन्न किसिमका न्यारेटिभ आएपछि मानिसहरू त्यस्ता सामग्रीमा थप संलग्न हुन्छन् ।

त्यसैले विपद्का बेला राज्य, सञ्चारमाध्यम, न्युजरुम र फ्याक्टचेकरलगायत जिम्मेवार पक्ष थप सक्रिय र जिम्मेवार हुनुपर्ने उनले बताए । मिथ्या सूचनाको प्रतिकार गर्न सम्बन्धित निकायले तथ्यमा आधारित सूचना समयमै र प्रभावकारी ढंगले सार्वजनिक गर्नुपर्ने पाण्डेको सुझाव छ ।

तर सामाजिक सञ्जालमा मिथ्या सूचना फैलिने गति र यसको मात्रा अत्यधिक भएकाले त्यसलाई नियन्त्रण गर्न सहज नरहेको उनले बताए ।

मिथ्या सूचनाले उद्धार र राहतमा कस्तो असर पार्छ ?


विपद्का बेला सामाजिक सञ्जाल तथा मूलधारका सञ्चारमाध्यमबाट फैलिने मिथ्या तथा भ्रामक सूचनाले उद्धार, राहत तथा औषधि वितरणमा समेत समस्या सिर्जना गर्न सक्ने नेपाल प्रहरीका निवृत्त प्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) केशव अधिकारी बताउँछन् ।

उनका अनुसार विपद्का बेला सही र आधिकारिक सूचनाको अभाव हुँदा मानिसहरू सामाजिक सञ्जालमा आएका सामग्रीमा निर्भर हुने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा गलत सूचना फैलिँदा घटनाको वास्तविक अवस्थाबारे भ्रम सिर्जना हुने र त्यसले उद्धार तथा राहतका काममा समेत असर पार्ने उनले बताए ।

“अहिले साँचो-साँचो समाचारको खडेरी छ । यो बेला त अथेन्टिक समाचार आउनुपर्ने हो,” अधिकारीले भने।

विपद्का घटनासँग असम्बन्धित विदेशका बाढी तथा क्षतिका तस्बिर र भिडियो नेपालकै घटनाका रूपमा सामाजिक सञ्जालमा फैलिने गरेको उनले बताए । विदेशमा भएका कठिन उद्धारका दृश्यसमेत नेपालकै घटनाको दृश्यका रूपमा प्रस्तुत हुँदा प्रभावितका आफन्तमा झूटो आशा पैदा हुन सक्ने उनको भनाइ छ ।

“विदेशका ठूला-ठूला फ्लड र विदेशका क्षतिको विवरण यहाँ आउन थाल्यो । कठिनभन्दा कठिन उद्धार गरिरहेको दृश्य पनि कता-कता विदेशबाट ल्याएर यहाँ देखाउने भा’छ,” उनले भने।

नेपाल प्रहरीका पूर्वडीआईजी अधिकारी

नेपालका सुरक्षाकर्मी तथा सम्बन्धित निकायले आफ्नो क्षमताअनुसार उद्धारको प्रयास गरिरहेको अवस्थामा गलत सूचना फैलिँदा वास्तविक उद्धार तथा राहत कार्यबारे अन्योल बढ्ने अधिकारीले बताए । मिथ्या सूचनाले राहत वितरण तथा औषधि समयमै पुर्‍याउने काममा समेत बाधा पुर्‍याउन सक्ने उनले बताए ।

उनका अनुसार गलत सूचनाले भ्रम मात्र सिर्जना गर्दैन, मानिसमा त्रास, आक्रोश र असन्तुष्टिसमेत बढाउन सक्छ । गलत सूचना सही सूचनाभन्दा धेरै छिटो फैलिने गरेको विभिन्न अध्ययनले देखाएको उनको दाबी छ ।

अधिकारीले गलत सूचना मानिसको ध्यान आकर्षित गर्नसमेत सफल हुने बताए। उनका अनुसार यस्ता सामग्रीले मानिसको मस्तिष्कमा डोपामिन सक्रिय गराउने भएकाले मानिसहरू त्यस्ता सामग्रीतर्फ आकर्षित हुने गर्छन् ।

विपद्का बेला मिथ्या सूचना नियन्त्रण गर्न सरकार तथा सम्बन्धित निकायले प्रभावकारी नियमन गर्नुपर्ने अधिकारीको भनाइ छ । तर साइबर अपराधको बढ्दो संख्या र उपलब्ध स्रोत–साधनको सीमितताका कारण चुनौती थपिएको उनले बताए ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको त्रिशूली बजार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

एआईले थपिदिएको अर्को चुनौती


पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर तयार गरिएका फोटो, भिडियो तथा अन्य सामग्रीले समेत मिथ्या सूचना फैलाउने चुनौती थपेको छ । एआईबाट वास्तविकजस्तै देखिने सामग्री तयार गर्न सकिने भएकाले गलत सूचनालाई मानिसले सही ठान्ने सम्भावना बढेको सञ्चारविज्ञ आचार्य बताउँछन् ।

‘एआईले भ्रम सिर्जना गरेको छ । हुँदै नभएको कुरा भएजस्तो देखाउने सामग्रीले मानिसलाई सत्यतथ्य कुराबाट टाढा लगेको छ,’ उनी भन्छन्।

एआईबाट तयार भएका सामग्रीले तत्कालको भ्रम मात्र सिर्जना नगर्ने उनको भनाइ छ । यस्ता सामग्रीले कुनै घटना वा विषयबारे मानिसको धारणा निर्माणमा दीर्घकालीन असर पार्न सक्ने उनी बताउँछन् ।

‘पछि सम्म व्यक्तिले यो घटना वा विषयका बारेमा धारणा व्यक्त गर्दा वा कतिपय अवस्थामा जीवनका निर्णय गर्दा पनि यस्ता सामग्रीले भूमिका खेल्न सक्छ,’ आचार्य भन्छन् ।

विशेषगरी एआईबाट तयार गरिएको सामग्री वास्तविकजस्तै देखिन थालेकाले मिथ्या सूचनालाई झन् विश्वासिलो बनाउने जोखिम बढेको उनको भनाइ छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी अधिकारी पनि एआईबाट तयार गरिएका तस्बिर तथा भिडियोले वास्तविक र नक्कली सामग्री छुट्याउन थप चुनौती सिर्जना गरेको बताउँछन् । एआई–जेनेरेटेड सामग्रीका कारण सही सूचना दिँदा समेत त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

‘कुन सही सूचना, कुन गलत सूचना ? अब त तपाईंको मिडियाले सही सूचना सम्प्रेषण गरे पनि ‘साँच्चै त्यो सूचना साँचो हो त ?’ भन्ने सोच्न बाध्य पार्छ पाठकहरूलाई,’ उनले भने।

यसले समाजमा अराजकता बढाउने र अन्ततः नागरिक तथा समाजका जिम्मेवार व्यक्तिहरूलाई नै असर गर्ने उनी बताउँछन् ।

भोटेकोशीको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुर्‍याएपछि सुरक्षाकर्मीले जोखिम मोलेर खोजी, उद्धार तथा राहत कार्य जारी राखेका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार सामग्री र जनशक्ति परिचालन गरिएको छ । तस्वीर : प्रदीप राज वन्त, नुवाकोट

गलत सूचना कसरी चिन्ने ?

विपद्‌का बेला सही सूचना मानिसको जीवन रक्षासँग सोझै जोडिएको हुन्छ । सही जानकारीले मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन मद्दत गर्छ भने गलत सूचनाले समाजमा भ्रम, त्रास र अन्योल मात्र बढाउँछ । त्यसैले सामाजिक सञ्जालमा देखिने पुराना दृश्य, विदेशी घटना वा एआई-निर्मित नक्कली सामग्रीलाई वास्तविक ठानी तत्काल सेयर गर्नुअघि त्यसको स्रोत, मिति र स्थान जाँच्नु अत्यावश्यक हुने विज्ञहरू बताउँछन् । 

कुनै पनि सामग्री देख्ने बित्तिकै विश्वास गर्नुभन्दा पहिले त्यो कहिले र कहाँबाट आयो, दाबी गरिएको ठाउँ वास्तविक हो कि होइन र त्यसलाई सरकारी निकाय वा स्थापित सञ्चारमाध्यमले पुष्टि गरेका छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनुपर्ने सञ्चार विज्ञ आचार्य सुझाव दिन्छन् । 


यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com