नेपालमा बाढीपछि डोनेशन पठाउनेलाई अमेरिकी फेडरल ट्रेड कमिसनको यस्तो चेतावनी
प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार
वासिङ्टन डिसीस्थित फेडरल ट्रेड कमिसन (एफटीसी) को मुख्यालय रहेको एपेक्स भवन। तस्बिर: ह्यारिसन किली/विकिमिडिया कमन्स
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न रकम पठाउन चाहने दाताहरूलाई अमेरिकी सरकारको निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) ले ठगीबाट सावधान रहन चेतावनी दिएको छ।
प्राकृतिक विपत्तिपछि मानिसहरू सहयोग गर्न उत्साहित हुने भएकाले ठगी गर्नेहरूले त्यसको फाइदा उठाउन सक्ने एफटीसीले जनाएको छ। नेपालमा हालै आएको बाढीपछि राहत र सहयोगका नाममा नक्कली परोपकारी संस्था तथा फर्जी अभियानमार्फत रकम संकलन गर्ने प्रयास हुन सक्ने भन्दै आयोगले दाताहरूलाई सतर्क रहन आग्रह गरेको हो।
एफटीसीका अनुसार ठगी गर्नेहरूले वास्तविक परोपकारी संस्थाजस्तो देखिने नक्कली संस्था बनाउन सक्छन्। उनीहरूले विपत्तिबाट प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको दाबी गर्न सक्छन् वा मानिसहरूमा परिचित नामको फाइदा उठाउन स्थापित परोपकारी संस्थाको नक्कल गर्न सक्छन्। यस्ता नक्कली संस्थालाई रकम पठाउँदा सहयोग आवश्यक परेका मानिससम्म पैसा नपुगी ठगी गर्ने व्यक्तिको हातमा पुग्न सक्छ।
एफटीसीले कुनै संस्था वा अभियानलाई सहयोग गर्नुअघि त्यसबारे स्वतन्त्र रूपमा अनुसन्धान गर्न सुझाव दिएको छ। सामाजिक सञ्जालमा देखिएको सहयोगको अपिल विश्वसनीय व्यक्तिले साझा गरेको भए पनि त्यसलाई स्वतः वैध नमान्न आयोगले आग्रह गरेको छ।
नेपालको बाढीपीडितका लागि सहयोग रकम पठाउन चाहनेहरूले संस्थाको नाम आफैं खोजेर त्यसको आधिकारिक वेबसाइट तथा राहतसम्बन्धी गतिविधिबारे जानकारी जाँच गर्नुपर्ने एफटीसीले जनाएको छ।
परिचित परोपकारी संस्थाको नाम प्रयोग गरेर रकम मागिएको अवस्थामा पनि संस्थाको आधिकारिक वेबसाइटबाट सम्पर्क तथा डोनेशनसम्बन्धी विवरण पुष्टि गर्न आयोगले सुझाव दिएको छ।
एफटीसीले दाताहरूलाई च्यारिटी वाच र गिभ डट ओआरजी जस्ता संस्थामार्फत परोपकारी संस्थाबारे जानकारी जाँच गर्न सुझाव दिएको छ।
कुनै संस्था लामो समयदेखि सञ्चालनमा रहेको हो कि हालै मात्र स्थापना गरिएको हो भन्नेबारे पनि ध्यान दिनुपर्ने आयोगले जनाएको छ। साथै, आफूले दिएको रकममध्ये कति हिस्सा वास्तविक रूपमा प्रभावित मानिस वा राहत कार्यक्रमसम्म पुग्छ भन्ने जानकारी लिन दाताहरूलाई आग्रह गरिएको छ।
टेक्स्ट म्यासेजमार्फत नेपाल बाढी राहतका लागि सहयोग गर्न आग्रह गरिएको छ भने म्यासेजमा दिइएको नम्बरमा तुरुन्त रकम नपठाउन एफटीसीले सुझाव दिएको छ।
त्यसको सट्टा सम्बन्धित संस्थाको आधिकारिक वेबसाइटमा गएर त्यहाँ उल्लेख गरिएको फोन नम्बर वा अन्य सम्पर्क विवरणसँग मिलाएर हेर्नुपर्ने आयोगले जनाएको छ।
कुनै व्यक्ति वा संस्थाले सहयोग रकम नगद, गिफ्ट कार्ड, तारमार्फत रकम पठाउनुपर्ने वा क्रिप्टोकरेन्सीमार्फत मात्र भुक्तानी गर्नुपर्ने बताउँछ भने त्यस्तो अनुरोधप्रति विशेष सावधानी अपनाउन एफटीसीले आग्रह गरेको छ।
वैध परोपकारी संस्थाहरूले सामान्यतया सहयोग रकम पठाउने एकभन्दा बढी माध्यम उपलब्ध गराउने भएकाले एउटा मात्र असामान्य भुक्तानी विधिमा जोड दिने अनुरोध ठगीको संकेत हुन सक्ने आयोगले जनाएको छ।
नेपालको बाढीपछि राहतका लागि सहयोग रकम पठाउन चाहने दाताहरूले भावनात्मक अपिल वा तत्काल रकम पठाउनुपर्ने दबाबका आधारमा निर्णय नगरी पहिले संस्था र अभियानको विश्वसनीयता पुष्टि गर्न एफटीसीले सुझाव दिएको छ।
एफटीसीले सुरक्षित रूपमा च्यारिटीमा सहयोग गर्ने तरिकाबारे थप जानकारी आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ। ठगी वा नक्कली परोपकारी संस्थासम्बन्धी घटना देखेमा अमेरिकी फेडरल ट्रेड कमिसनमा उजुरी गर्न सकिने आयोगले जनाएको छ।
नेपाल बाढीपीडितका लागि प्रत्यक्ष सहयोग गर्न प्रेरित
नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानबीच नेपाली समुदायका सञ्चारमाध्यम खसोखास र नेपयोर्कले आफ्नो अभियान न्युयोर्कको ज्याक्सन हाइट्स, क्विन्ससम्म पुर्याउँदै नेपाली डायस्पोराका सदस्यहरूलाई नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै सहयोग गर्न आग्रह गरेका छन्।
संकटका बेला अनधिकृत व्यक्ति, बिचौलिया र अप्रमाणित खाताहरू सक्रिय हुन सक्ने तथा सहयोग रकम गलत व्यक्ति वा संस्थासम्म पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यो अभियान सुरु गरिएको हो।
“हामी न्युयोर्कमा छौँ। विपत्ति नेपालमा छ। सिधै सहयोग गरौँ,” अभियानको सन्देशमा भनिएको छ।

खसोखास र नेपयोर्कले ज्याक्सन हाइट्सका व्यवसाय तथा अन्य सामुदायिक स्थानमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक क्यूआर संकेतसहितका पोस्टर वितरण तथा प्रदर्शन गरेका छन्। अभियानले बिचौलियालाई हटाउँदै सरकारद्वारा तोकिएको आधिकारिक माध्यमबाट सहयोग गर्न दाताहरूलाई आग्रह गरेको छ।
अभियानका आयोजकका अनुसार क्विन्सका दुई दर्जनभन्दा बढी व्यवसायले आफ्नो पसल तथा कार्यालयमा क्यूआर संकेत प्रदर्शन गर्न सहमति जनाएका छन्। यसबाट समुदायका सदस्यलाई आधिकारिक सहयोग माध्यमसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।
दान रकम पारदर्शी रूपमा परिचालन होस् र अप्रमाणित व्यक्ति वा संस्थामार्फत नघुमाई सरकारद्वारा तोकिएको विपद् उद्धार कोषमा पुग्न सकोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
समुदायका सदस्य, व्यवसाय तथा संस्थाले आफ्ना पसल, कार्यालय, सामुदायिक केन्द्र र अन्य सार्वजनिक स्थानमा प्रदर्शन गर्न सक्ने गरी अभियानका छाप्न मिल्ने पोस्टरहरू पनि उपलब्ध गराइएको छ। यी सामग्री सामाजिक सञ्जाल तथा सन्देश आदानप्रदानका माध्यममार्फत समेत साझा गरी दाताहरूलाई आधिकारिक सहयोग माध्यम पहिचान गर्न सहयोग गर्न सकिन्छ।
अभियानको मुख्य सन्देश सरल छ—नेपाल सरकारको आधिकारिक विपद् उद्धार कोषमा सिधै सहयोग गरौँ र अप्रमाणित खाता तथा अनावश्यक बिचौलियाबाट बचौँ।
“हामी नेपालसँगै छौँ,” अभियानको सन्देशमा भनिएको छ।
नेपाली दूतावासद्वारा आधिकारिक राहत माध्यम प्रयोग गर्न आग्रह
वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पनि अमेरिकामा रहेका नेपाली तथा नेपालका समर्थकहरूलाई भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि नेपाल सरकारका आधिकारिक राहत कोषमा सहयोग गर्न आह्वान गरेको छ।
अगस्ट २८ मा जारी अपिलमा दूतावासले अगस्ट २६ मा रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको थियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका समुदायहरू गम्भीर रूपमा प्रभावित भएको दूतावासले जनाएको छ।
नेपाल सरकारले खोज तथा उद्धार, राहत, सुरक्षित स्थानान्तरण, पुनर्स्थापना तथा आपत्कालीन प्रतिकार्यलाई प्राथमिकता दिएको दूतावासले जनाएको छ। अमेरिकामा रहेका नेपाली, नेपाली डायस्पोरा संघसंस्था, व्यवसायी, परोपकारी व्यक्ति तथा संस्था, अमेरिकी तथा अन्तर्राष्ट्रिय संघसंस्था र नेपालका शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न दूतावासले आग्रह गरेको छ।

दूतावासले सहयोगका लागि दुईवटा आधिकारिक अनलाइन माध्यम पहिचान गरेको छ—प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष।
दूतावासले दाताहरूलाई नेपाल सरकारले तोकेका आधिकारिक राहत कोष, बैंक खाता, क्यूआर संकेत तथा अन्य प्रमाणित माध्यमबाट मात्र सहयोग गर्न विशेष आग्रह गरेको छ।
सहयोग गर्नुअघि बैंक खाता तथा क्यूआर संकेतको आधिकारिकता जाँच गर्न र सरकारी आधिकारिक स्रोतमा प्रकाशित विवरणसँग खातावालाको नाम रुजु गर्न पनि दूतावासले सुझाव दिएको छ।
दाताहरूलाई जाँच गर्न भनिएका खाताका नाममध्ये “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” र “विपद् उद्धार कोष” रहेका छन्।
“सानो होस् वा ठूलो, हरेक सहयोग अर्थपूर्ण हुन्छ,” दूतावासले भनेको छ।





