न्युयोर्क सिटीमा मात्रै ३९५४ कोरोना संक्रमित : क्वीन्समा १०४२, म्यानहटनमा १०३८


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

न्युयोर्क सिटीमा मात्र ३९५४ जनामा कोरोना संक्रमण भएको मेयर बिल ब्लाजिआले सार्वजनिक गरेका छन् । भर्खरै मेयरले सार्वजनिक गरेको वक्तब्य अनुशार न्युयोर्क सिटीमामात्रै कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

न्युयोर्क सिटीका ५ बोरोमध्ये क्वीन्समा मात्र १०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै म्यानहटनमा १०३८ जनामा संक्रमण पुष्टी भएको छ । बु्रकलिनमा ११९५ जनालाई र ब्रोंक्समा ४९६ जनामा संक्रमण भएको छ ।

न्युयोर्कको क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । क्वीन्सको ज्याक्सनहाइटमा हिजोमात्र अस्पतालबाट घर पठाइएका एकजना संक्रमितको मृत्यु भएको छ ।

स्टेटन आइल्याण्डमा १७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अहिलेसम्म न्युयोर्क राज्यमा ५ हजार ३ सय ६८ मा संक्रमण भएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितको संख्या १३ हजार ८ सय ६५ पुगेको छ । जसमध्ये २११ जनाको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियाका गभर्नरको ट्रम्पलाई पत्र

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यालिफोर्निया राज्यका बासिन्दालाई कोरोना भाइरसबाट पर्ने प्रभावबारे जानकारी दिएका छन् । उनले आगामी ८ साताभित्र राज्यको ५६ प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अनुमान पत्रमा उल्लेख गरेका छन् ।

उनले राज्यभर ८ हप्तामा साढे २५ मिलियनमा संक्रमण हुने अनुमान गरेका हुन् । उनले क्यालिफोर्नियाको लस एन्जलसमा पानी जहाजको अस्पताल पठाउन राष्ट्रपति समक्ष अनुरोध गरेका छन् । रक्षा मन्त्रालयका अधिकारीहरुले एकसाताभित्र पानीजहाजको अस्पताल शियाटलमा पठाउने बताएका छन् ।

क्यालिफोर्नियामा अहिलेसम्म १ हजार ९ जनामा संक्रमण पुष्टी भएको छ भने १९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को लगायतका सिटीहरु लकडाउन गरिएको छ भने लस एन्जलस लगायतका सिटीमा रेष्टुरेण्ट, मनोरञ्जनस्थल लगायतका विजनेशहरु बन्द गरिएको छ ।

न्युयोर्कमा संक्रमित ५३६८, ज्याक्सनहाइटमा डाक्टरले घर पठाएका संक्रमितको मृत्यु

अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । आजमात्रै २३३० जनामा संक्रमण पुष्टी भएको हो । न्युयोर्कमा आजमात्रै थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या २२ पुगेको छ । अहिलेसम्म न्युयोर्कमा संक्रमितमध्ये एकजनाकोमात्र सफल उपचार भएको छ ।

यसैबीच न्युयोर्कको क्वीन्स निवासी एकजना ७६ बर्षका पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ । अस्पतालले उनलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाएको थियो । टेओडोसियो टोरस नामका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

शुक्रबारमात्र उनलाई न्युयोर्कको क्वीन्समा रहेको न्युयोर्क प्रेस्बेटेरियन अस्पतालमा लगिएको थियो । तर उनलाई जाँचपछि शुक्रबार नै घरमा आइसोलेसनमा बस्न भन्दै फर्काइएको थियो । पछि उनका संक्रमण पुष्टी भएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अपार्टमेन्टमा बुधबार बेलुका उनको निधन भएको जनाइएको छ ।

अमेरिकाभर कोरोना संक्रमितको संख्या १३ हजार ६ सय २२ पुगेको छ । अहिलेसम्म १८९ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि फर्किनेहरु जम्मा १ सय ८ जना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com