विभागीय टोलीले धानेको महिला फुटबल


प्रकाशित मिति : चैत्र १४, २०७३ सोमबार

राष्ट्रिय महिला फुटबल टोलीमा पूर्णकालीन खेलाडी नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सेना र प्रहरीका खेलाडीमा निर्भर हुनुपरेकाे छ ।

नवीन लुईटेल

चार महिनाअघि भारतको सिलगुढीमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसीपमा नेपाली टोली सेमिफाइनलसम्म पुग्दा धेरैको प्रतिक्रिया थियो, नेपाली टोलीले देशको ‘मान’ राख्यो । तर, टोलीलाई देशको मान राख्नुभन्दा आफ्नै अस्तित्व जोगाउन मुश्किल परेको देखिन्छ । किनकी, राष्ट्रिय महिला फुटबल टोलीमा पूर्णकालीन खेलाडी नै छैनन् । महिला फुटबललाई सेना र प्रहरीका खेल विभागका खेलाडीहरुले धान्दै आएका छन् ।

अर्थात्, सुरक्षा निकायका खेलाडी सम्मिलित टोलीबाट नै राष्ट्रिय महिला फुटबल टोली बनेको छ । चौथो साफमा राष्ट्रिय टोलीको लागि छनौट भएका २० जना खेलाडीमध्ये नेपाली सेनाबाट ८ जना, सशस्त्र प्रहरीबाट ९ जना र नेपाल प्रहरीबाट २ जना गरी १९ जना खेलाडी विभागीय टोलीका थिए । टोलीमा अपवादका रुपमा एक मात्र अन्जना थापा मगरले मध्यमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल प्रहरी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबका खेलाडीहरु नै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेलिरहेका छन् । यी क्लबहरुमा फुटबलका आ–आफ्नै टोली हुनुका साथै तीनलाई नियमित प्रशिक्षण तथा अभ्यासको व्यवस्था गरिएको देखिन्छ ।

यस्ता विभागीय टोलीमा प्रशिक्षकहरुको पनि अनिवार्य व्यवस्था गरिने भएकोले खेलाडीहरुलाई प्रशिक्षणमा सहजता हुने मानिन्छ । जस्तो कि, सेनाको टोलीलाई हाल आर्दश मल्लले प्रशिक्षण दिइरहेका छन् । यस भन्दा अघि चक्र तामाङले यो जिम्मेवारी पूरा गरेका थिए । यसैगरि, एपिएफ क्लबको महिला फुटबल टिममा प्रशिक्षक रत्नकाजी मर्हजनको ठाउँमा जनकसिंह थारु आइपुगेका छन् । त्यस्तै, नेपाल पुलिस क्लबमा महिला टोलीलाई प्रशिक्षण गर्ने जिम्मेवारी सन्देश श्रेष्ठ र चेतन घिमिरेले पाएका छन् ।

राष्ट्रिय महिला फुटबल टोलीका पूर्व प्रशिक्षक किशोर केसी महिला फुटबल टोली खडा गर्न विभागीय टिमकै भर पर्नुपरेको स्वीर्काछन् । ‘जे जति राम्रा खेलाडीहरु छन्, ती सबै विभागीय टिममै छन्’, उनी भन्छन्, ‘वर्षमा जम्मा एक, दुई वटा टुर्नामेन्ट हुन्छ, त्यसमा राम्रो खेल्नेलाई विभागीय टिमले राख्छ, अनि अन्य टिममा कहाँ खेलाडी हुन्छन् र ?’

मध्यमाञ्चलका प्रशिक्षक नुरराज काफ्ले पनि विभागीय टिम बाहेक अन्य टिममा खेलाडी टिकाइ राख्न गाह्रो हुने मान्छन् । ‘विभागीय टिम बाहेक अन्य टिमले १२ महिना नै प्रशिक्षण दिन र तलव भत्ता खुवाएर राख्ने क्षमता छैन, जसका कारण पनि अन्य टिम आउन नसकेका हुन्’, उनको भनाइ छ ।

तर, विभागीय टिम र राष्ट्रिय टोलीबिच फरक नछुट्टिँदा विभाग बाहिरका खेलाडी भने ओझेलमा परेका देखिन्छन् । जस्तो कि, चौथो साफपछि टोलीका अधिकांश खेलाडी हाल आ–आफना विभागमा फर्किसकेका छन् तर, गोलकिपरको रुपमा टोलीमा जमेकी मध्यमाञ्चलकी अन्जना थापा मगर कहाँ, के गर्दैछिन्, कसैलाई पत्तो छैन । यसले अन्तर्राष्ट्रिय खेल खेलेका महिला फुटबल खेलाडीलाई समेत बेवास्ता गरिएको प्रष्टै देखिन्छ ।

हाल एसइइ परिक्षा दिएर बसेकी थापा मगर फुटबलमै आफ्नो जीवन सर्मपित गर्न चाहन्छिन् तर, महिला फुटबलका नियमित प्रतियोगिता नभएकोले उनलाई पनि विभागीय टिममा नगई सुखै छैन । भन्छिन्, ‘बाहिर अरु प्रतियोगिता हुँदैन, यसैले अब विभागीय टिमबाटै खेल्ने कोसिस गरिरहेकी छु ।’ मगर कम उमेर (१५ वर्ष) का कारण विभागीय टिममा पर्न सकेकी छैनन् ।

अन्जना थापा मगर

महिला फुटबललाई नजिकबाट अध्ययन गरेका प्रशिक्षक मृगेन्द्र मिश्र घर व्यवहारका कारण महिलाले फुटबलमा लागिरहन नपाउने र विभागमा नरहे नियमित अभ्यासबाट समेत वञ्चित हुनुपर्ने बताउँछन् । ‘पुरुष सरह महिलाले फुटबल प्रशिक्षणमा लाग्न पाउँदैनन्, विभागीय टिममा प्रवेश गरेपछि भने जागिरका कारण पनि अभ्यासमा जुट्न पाउँछन्’, उनी बताउँछन् ।

आन्तरिक प्रतियोगितामा सहभागी हुन पाइने र रोजीरोटीको लागि समेत विभागीय टिम आर्कषणका केन्द्र बनेका त देखिन्छन् तर, यसले महिला फुटबल आन्तरिक प्रतियोगितामै सीमित हुने सम्भावना बढाएको देखिन्छ ।

अर्कोतर्फ,  विभागीय टिमले नरुचाउँदा खेलाडीको खेल जीवन समाप्त हुने जोखिम पनि उत्तिकै देखिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको महिला फुटबल संघकी महासचिव विमला पौडेल यसको लागि महिला फुटबललाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउनुपर्ने बताउँछिन् । ‘विभागीय टिम बाहेक अन्य स्थानबाट महिला फुटबललाई त्यत्ति प्राथमिकता दिएको पाइँदैन, यसलाई सरकारले प्राथमिकता दिनुपर्यो, निजी क्षेत्र पनि लाग्नुपर्यो’, उनको भनाइ छ ।

राष्ट्रिय महिला फुटबल टोलीका कप्तान रेनुका नगरकोटीका अनुसार महिला फुटबलमा कम लगानी भएकोले नयाँ खेलाडीहरु आउन नसकेका हुन् । उनका अनुसार पुरुष फुटबल जति महिला फुटबलको प्रचार नभएको र खेल पनि पर्याप्त छैनन् ।

हाल राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रधान सेनापति कप प्रतियोगितामा मात्र राष्ट्रिय स्तरमा महिला फुटबल खेल हुने गरेको छ । यस अर्थले महिला टोलीलाई थोरै प्रतियोगिता र कम अभ्यासका बाबजुद अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्नु परेको प्रष्टै बुझ्न सकिन्छ ।

रेनुका नगरकाेटी

‘दाईहरुलाई जति भ्याईनभ्याई छ, त्यसको दाँजोमा आधी मात्र प्रतियोगिता भएको खण्डमा पनि महिला फुटबलले गति लिन्छ, हामी दक्षिण एशियामै अब्बल बन्न सक्छौं’, कप्तान नगरकोटी भन्छिन्, ‘तर, नियमित खेल नहुँदा हामी विभागले खेलाएका खेलमा सिमित हुन बाध्य छौं ।’

जानकारहरु भने विभागीय टोलीमा जस्तो फुटबल मोह र व्यवसायिकता नेपाली फुटबलमा नभएकोले महिला फुटबलको स्थान पर रहेको मान्छन् । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ महिला फुटबलले सम्पूर्ण एशियामै संभावना बोकेपनि नेपालमा त्यस सम्बन्धी धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।

‘महिला फुटबलमा जुन प्रकारको प्रतियोगिता हुनुपर्ने हो, भएका छैनन् । एएफसी र फिफाले महिला फुटबललाई महत्व दिएका छन्, हामी पनि यस विषयमा गम्भीर छौं’, उनी भन्छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार एन्फा महिला फुटबलका लागी रौतहटमा दैनिक तालिम तथा अभ्यास गर्ने केन्द्र खोल्ने र राष्ट्रिय स्तरमा केही प्रतियोगिता सञ्चालन गर्ने तयारीमा छ । भन्छन्, ‘विभागीय टिम हाबी हुँदा अन्य टिमले गोलको वर्षाकै सामना गर्नुपर्ने भएकाले अबका दिनमा नयाँ फर्म्याटमा खेलहरु सञ्चालन गरिनेछ, खेलको स्तर उकास्न यो जरुरी छ ।’महिला खबरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com