न्युयोर्कको अल्बानी युएससीआईएस अफिस आजदेखि बन्द


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

न्युयोर्कको अल्बानीमा रहेको युएससीआईएसको कार्यालय आजदेखि बन्द भएको छ । अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सपोर्ट सेन्टर बन्द गरिएको युएससीआईएसले जनाएको छ ।

कार्यालय पुन कहिलेदेखि खुल्ने भन्नेबारे केही बताइएको छैन । यसबाट युएससीआइएसमा रहेका ग्रिनकार्ड, नागरिकता लगायतका अन्तरवार्ता र अन्य कैयन बायोमेट्रिक अप्वाइन्टमेन्टहरु स्थगित भएका छन् ।

प्रभावित आवेदक र सेवाग्राहीहरुलाई युएससीआइएसले पुन अर्को अप्वाइन्टमेन्ट तय गर्ने तरिका सहित पत्र पठाउने भएको छ । युएससीआईएसका सबै एसाइलम अफिसहरु भने अहिलेसम्म खुल्ला नै रहेका छन् ।

हिराशतमा नरहेकाहरुको मास्टर हेयरिङ स्थगित

न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका ६ वटा अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको छ । बोस्टन, लस एन्जलस, नेवार्क, न्युयोर्क सिटी, स्याक्रामेन्टो र सान फ्रान्सिस्कोका अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

त्यस्तै वासिंटन राज्यमा रहेको शियाटल अध्यागमन अदालतमा अप्रिल १० सम्मका लागि सबै अध्यागमन सुनुवाईहरु स्थगित गरिएको छ । शियाटलको अध्यागमन अदालत अप्रिल १० सम्म बन्द नै रहने भएको छ । तर अन्य ६ वटा अध्यागमन अदालतहरु खुल्ला रहने भएपनि हिराशत बाहिर रहेकाहरुको मास्टर क्यालेण्डर सुुनुवाई हुनेछैन ।

शियाटलको इमिग्रेशन अदालत बन्द रहेको अवस्थामा इमर्जेन्सी फाइलिंग गर्न परेमा टकोमामा रहेको अध्यागमन अदालतमा गर्न सकिने भएको छ । न्युयोर्कको ब्रोडवे, फेडरल प्लाजा र भेरिक स्ट्रीटमा रहेका अध्यागमन अदालतमा इन्डिभिजुअल हेयरिङ भने जारी नै रहनेछ । त्यस्तै लस एन्जलसको नर्थ लस एन्जलस, अलिभ र भ्यान नुयसमा पनि हिराशतमा रहेकाहरुको मास्टर क्यालेण्डर हेयरिङबाहेक इन्डिभिजुअल हेयरिङ जारी रहनेछ ।

त्यस्तै बोस्टन , नेवार्क, स्याक्रोमेन्टो र सान फ्रान्सिस्कोमा पनि इन्डिभिजुअल हेयरिङ जारी रहनेछ ।

तत्काल अमेरिकाबाहिरबाट आएकालाई अप्वाइन्टमेन्ट स्थगित गर्न आग्रह

तत्काल अमेरिकाबाहिरबाट आएका सबैलाई ग्रिनकार्ड, नागरिकता र बायोमेट्रिक लगायत युएससीआईएसका अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ मिति लिन युएससीआईएसले सुचना प्रकाशित गरेको छ । विगत १४ दिनमा विश्वको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई अप्वाइन्टमेन्टहरु स्थगित गर्न युएससीआईएसले सुचना प्रकाशित गरेको हो ।

विगतमा कोरोना संक्रमित मुलुकको भ्रमण गरेकाहरुलाईमात्र अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएकोमा हिजोदेखि विगत १४ दिनमा विदेशको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । यदि विदेशको भ्रमण नगरेको खण्डमा पनि कोरोना संक्रमितसँग सम्पर्कमा रहेको आशंका लागेमा पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ ।

सिगान बग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने वा ज्वरो आउने जस्तो फ्लुका लक्षण देखिएको खण्डमा पनि युएससीआईएसको अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । युएससीआईएसले कुनै जरिवानाविना अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ अप्वाइन्टमेन्ट तय गर्ने सहयोग गर्ने बताएको छ ।

युएससीआईएसका अप्वाइन्टमेन्ट पछि सार्दा त्यसबाट आवेदनबारे लिइने फैसलामा कुनै असर पर्दैन । तर आवेदनको फैसलामा भने ढिलाई हुनसक्नेछ ।

युएससीआईएसले जारी गरेको सुचना नमानेर युएससीआईएसको अप्वाइन्टमेन्टमा नआउन अनुरोध गरिएको छ । यदि विदेशको भ्रमण गरेको १४ दिनभित्र वा बिरामी भएको अवस्थामा युएससीआईएसको अप्वाइन्टमेन्टमा आएको खण्डमा कुनै कारवाही अगाडि नबढाएर युएससीआईएसले फिर्ता पठाउनसक्नेछ ।

डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले भोलिबाट लागु हुनेगरी भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । पहिले नै बुझाएको भिसा शुल्कका आधारमा भविश्यमा एकवर्षभित्र नयाँ अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ । मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु लिनसकिन्छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com