जनसम्पर्क समितिमा आवद्ध हुने नेपाली नागरिक नै हुनुपर्छ भन्ने व्याख्या अव्यवहारिक


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

– आनन्द विष्ट

नेपाली काँग्रेस पार्टी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो । मुलुकमा जे जति परिवर्तन भयो, त्यो नेपाली काँग्रेसको नेतृत्वदायी भूमिकाका कारण मात्र संभव भएको । नेपालको पुरानो र झण्डै सात दशक लामो ईतिहास बोकेको नेपाली काँग्रेसको गौरवपूर्ण ईतिहास छ । एक सय चार वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य नेपाली काँग्रेसको नेतृत्वमा भयो ।

जनतालाई रैतीबाट सार्वभौमसत्ता सम्पन्न नागरिक काँग्रेसको नेतृत्वले बनाएको हो । मुलुकमा राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको स्थापना पनि काँग्रेसकै नेतृत्वदायी भूमिकाबाट संभव भएको जगजाहेर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको ग्यारेण्टी र लोक कल्याणकारी राज्यको परिकल्पना नेपाली काँग्रेसका संस्थापक महामानव वीपी कोईरालाले झण्डै सात दशकअघि देखेको सपना थियो । खुला अर्थतन्त्र र उदारवादका कारण नेपालको बाह्य देश र संसारसंगको सम्बन्ध मजबुत बनाउने कडी हो ।

मुलुकलाई संबिधान दिने श्रय पनि नेपाली काँग्रेसलाई नै जान्छ । पार्टी हारे पनि देश नहारोस भन्ने सोचका साथ गणतन्त्र नेपालका संस्थापक स्वर्गीय गिरिजा प्रसाद कोईराला, स्वर्गीय सुशिल कोईराला र बर्तमान सभापति शेर बहादुर देउवाले मुलुकलाई संबिधान सभाको निर्वाचन, संबिधानको घोषणा र तीनै तहको निर्बाचन सफलतापूर्वक सम्पन्न गरेको कुरा घाम झै छर्लङ्ग छ ।

पार्टीभित्रको गुटगत राजनीतिको असर नेपाली काँग्रेसमा मात्र परेको छैन । त्यसले देशलाई पनि असर गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठक र त्यसबाट भएका निर्णयहरुमा नेताहरुबाट व्यक्त असन्तुष्टिलाई साम्य पार्दै सभापति शेर बहादुर देउवाले सबैलाई मिलाएर लैजाने खोजेको प्रष्ट हुन्छ ।

यथास्थितिवादमा संगठन सधैं कमजोर हुन्छ भन्नेमा सभापति देउवा प्रष्ट हुनुहुन्छ । तसर्थ उहाँ सबैलाई समेटेर संगठनलाई गतिशील बनाउन प्रयत्नरत हुनुहुन्छ । उहाँको सदाशयता सहमतिमै छ र सोही अनुरुप प्रयासरत हुनुहुन्छ । तर आन्तरिक राजनीतिमा देखिएको सभापति देउवालाई काम गर्न नै असहज बनाइदिने जुन एक किसिमको अवस्था छ,त्यसलाई चिरेर अघि बढ्नुको अव विकल्प पनि छैन । अन्यौलमा मात्र राख्दा त्यसको अपजशको भागीदार पनि सभापतिले एक्लै बोक्नुपर्ने अनि त्यो अन्यौल चिरेर अघि बढ्न सहमतिको प्रयास गर्दा पनि ‘शर्त’ मात्र थप्ने काम गर्दा निकास निस्कन्न ।

निर्वाचित सभापतिलाई काम गर्न दिनु र सहयोग गर्नु सबै कांग्रेसजनको जिम्मेवारी र दायित्व दुवै हो । चुनावी मैदानमा पक्ष र विपक्ष हुनु लोकतन्त्रको अभ्यास नै हो र त्यही अभ्यासले नै नेतृत्व निर्वाचित गर्दछ । निर्वाचित भएर नेतृत्व चयन भैसकेपछि अब त्यहाँ कुनै पक्ष र विपक्ष भन्ने नै हुँदैन र हुनु पनि हुँदैन । जित्ने नेतृत्व सबैको साझा हो । यसर्थ साझा नेतृत्वलाई सबैले सहयोग गर्नुपर्छ ।

यतिबेला काँग्रेसीजन एक हुनुको बिकल्प छैन । बीपीको मेलमिलाप नीतिलाई काँग्रेसका हरेक नेता र कार्यकर्ताले स्मरण गरेर मात्र पुग्दैन । त्यसलाई आत्मसात गर्न उत्तिकै आवश्यक छ ।
काँग्रेस कमजोर छैन । थिएन । र हुदैन पनि । तर पार्टीलाई बलियो बनाएर अघि बढ्न सबै पक्षले आआफ्ना निहित स्वार्थ त्याग्नुको बिकल्प छैन ।

काँग्रेस ईतिहासको अत्यन्त संगीन मोडमा छ । कम्युनिष्टहरुबाट देशको विकास र समृद्धि हुदैन भन्ने कुरा झण्डै दुई तिहाईको नजिकको बहुमतको सरकारको कार्यशैलीबाट प्रष्ट भईसकेको छ । सत्ता बाहिर रहेको काँग्रेसभित्र शुद्धिकरणको जति आवश्यक छ, त्योसंगै जनताका माझ कम्युनिष्ट सरकारले गरेको देशप्रतिको गद्दारीको भण्डाफोर गर्न पनि त्यति नै आवश्यक छ ।

रगतसंग जोडिएको जनसम्पर्क समिति

कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रवासमा रहेका कांग्रेसजनलाई समेट्नको लागि आफ्नै पहलमा नेपाली जनसम्पर्क समितिको स्थापना गर्नु भएको गौरव हामीसंग छ । तत्कालीन परिस्थितिमा भारत प्रवासमा जन्मिएको यो संस्था आज विश्वका ३५ वटा देशमा  फैलिसकेको छ । जनसम्पर्क समितिसंग कांग्रेसको रगत छ । कांग्रेस हुँ भन्नेहरुको आत्माको जड र जरा दुवै जनसम्पर्क समितिमा जोडिएको र फैलिदो पनि छ । त्यसैले त आज प्रवासमा हामी जनसम्पर्क समितिको छाना मुनि संगठित छौं । भावनात्मक रुपमा कांग्रेससंग जोडिएको जनसम्पर्क समितिको आत्मालाई विच्छेद गराउने वैधानिक जटिलताका कारण आज प्रवासमा रहेका हामीहरुको चिन्ता बढेको छ ।

आत्माविहीन शरीर बोकेर हामी कहाँ जाने,कुन गन्तव्यमा पुग्ने भन्ने चिन्ता प्रवासमा रहेका हामी अधिकांश कांग्रेसजनमा छ । यस बीचमा पार्टीले ६ महिनाभित्र क्रियाशील सदस्य वितरण गरी अधिवेशन गर्नु भन्ने निर्देशसहितको पत्राचार गरेको छ । कांग्रेसको क्रियाशील सदस्यताको  प्रक्रियामा विदेशमा रहेका नेपालीहरु कसैको विमति छैन । तर जनसम्पर्क समितिको नेतृत्व नै क्रियाशील सदस्यबाट चयन गर्नुपर्ने अवस्था आयो भने त्यो चाँही पूर्णत अव्यवहारिक र विदेशी भूमिको कानूनी प्रावधान विपरित हुनेछ जसले कांग्रेसलाई समेत घाटा हुनेछ ।

जनसम्पर्क समितिको नेतृत्व नै क्रियाशील सदस्यबाट चयन गर्नुपर्ने अवस्था आयो भने त्यो चाँही पूर्णत अव्यवहारिक र विदेशी भूमिको कानूनी प्रावधान विपरित हुनेछ जसले कांग्रेसलाई समेत घाटा हुनेछ ।

पार्टीको पछिल्लो महासमिति भेलामा समेत जनसम्पर्क समितिलाई अधिकारविहीन बनाउने गरी कतिपय सदस्यहरुले प्रस्ताव र आवाज उठान नगर्नु भएको होइन । केन्द्रीय समितिको बैठकहरुमा समेत समितिलाई पर्यवेक्षकमा सिमित गराउनुपर्छ भन्ने आवाज नउठेको होइन । तर वीपी कोइरालापछि जनसम्पर्क समितिलाई अत्यन्त माया गर्ने नेतृत्व भनेको वर्तमान सभापतिको नेतृत्व नै हो । जसका कारण जनसम्पर्क समिति पार्टीको निकाय मात्र बनेन केन्द्रीय समितिमा पहिलोपटक दुई जनाले आमन्त्रित केन्द्रीय सदस्य बन्ने अवसर पनि पाएका छौं । यस्तो नेतृत्वबाट समितिलाई कांग्रेससंग अझ बढी भावनात्मक रुपमा जोड्ने काम हुनेछ भनी अपेक्षा गर्नु स्वाभाविक हुन्छ।

पार्टीको मूल कानुन विधानको परिच्छेद ५ मा जनसम्पर्क समिति गठन सम्बन्धी उल्लेख छ । यसैगरी केन्द्रीय समिति मातहत गठन हुने केन्द्रीय विभागमा पनि जनसम्पर्क समिति सम्बन्धी अलग्गै विभागको व्यवस्था छ । यसले पनि पार्टीले विदेशस्थित कांग्रेसजनको साझा संगठन नेपाली जनसम्पर्क समितिलाई दिएको महत्व प्रष्ट हुन्छ । अब यसलाई प्रवासमा थप गतिशील र प्रभावकारी बनाउने जिम्मेवारी हामी प्रवासी कांग्रेसजनको नै हो । यस अर्थमा नियमित अधिवेशन,सांगठनिक गतिविधिलाई तीव्रता र डेनमार्कमा यसै वर्ष सम्पन्न भएजस्तो प्रशिक्षण र अन्य कार्यक्रम गरी हामीले पार्टीलाई सहयोग पुर्याउनु पर्छ ।

पार्टीको हरेक आव्हानमा जनसम्पर्क समितिका साथीहरुले सहयोग गर्नु भएको छ,सहभागिता जनाउनु भएको छ । म स्वयम् विगत २२/२३ वर्षदेखि निरन्तर जनसम्पर्क समिति मार्फत क्रियाशील हुँदै आज पार्टीको केन्द्रीय समितिको आमन्त्रित सदस्यको रुपमा छु । यो हामी सबै प्रवासी कांग्रेसजनप्रति वर्तमान नेतृत्वले गरेको सम्मानको अर्थमा मैले लिएको छु । हामी नेपाली कांग्रेसका सदस्य हौँ,यसमा विमति होइन,हामीले कांग्रेसको नीति,नियम,विधान मान्नुपर्छ यसमा पनि विमति होइन । तर विदेशमा हामीले तेश्रो देशको नागरिकका हैसियतले के कसरी संगठन चलाई रहेका छौं भन्ने विषयको गहिराईमा पुग्नु आवश्यक छ । अनौपचारिक रुपमा पनि पार्टीका जिम्मेवार नेतागणहरुसंग विद्यमान वैधानिक व्यवस्था र यसले पारेको कठीनाईका बारे अवगत गराउने काम भएको छ । त्यस्तो भेट र कुराकानीमा प्रवासको समस्याका बारे सबै नेताहरुले यस्तो व्यवस्थालाई सहजीकरण गर्न सकारात्मक कुरा गर्नु भएको छ ।

जुनसुकै देशमा बसे पनि सर्वप्रथम हामीले सम्मान गर्ने भनेको सम्बन्धित देशको नीति,नियम र कानुन हो,सम्बन्धित देशको कानुनी दायरामा रहेर आफ्नो अधिकारको भोगचलन गर्ने हो । यस अर्थमा हामीले कुनै पनि देशमा जनसम्पर्क समिति सम्बन्धित देशको कानुन अनुरुप दर्ता गरी संचालन गर्नुपर्छ । जहाँ कानुनको उल्लंघन हुन्छ त्यहाँ हामी सबैलाई समस्या हुन्छ। अमेरिका,बेलायत,क्यानडा,अष्ट्रेलिया,युरोप सबैतिर अहिले हामीले सम्बन्धित देशको कानुन अनुसार संस्था दर्ता गरेर नै समितिका नामबाट वैधानिक ढंगले काम गरिरहेका छौं । यसका लागि सम्बन्धित देशको कानुनी वैधानिकता पुरा गरेको व्यक्ति वा पदाधिकारी नै त्यस्तो संस्थामा आवद्ध हुने हो । अमेरिकाको हकमा अझ प्रष्ट पार्नु उचित हुन्छ, यो भूमिमा यहींको कानुनी वैधानिकता पुरा गरेको व्यक्तिले मात्र यहाँको अधिकारको उपयोग गर्न पाउँछ ।

हामीलाई नेपाली नागरिकता बोकेर भावनाको वेगले मात्र अमेरिकी वैधानिक कानुनको मूलबाटोमा पुर्याउदैन । हाम्रो देशमा दोहोरो नागरिकताको प्रवन्ध भै नसकेको अवस्था एकातिर छ भने अर्को्तिर जुन देशमा बसेको छ त्यस देशको वैधानिकता पुरा गरेर बस्नुपर्ने हाम्रो दायित्व पनि छ । यस अर्थमा जनसम्पर्क समितिमा आवद्ध र क्रियाशील रहने भनेको सम्बन्धित देशमा कानुनी वैधानिकता पुरा गरेर बसेका कांग्रेसजनहरु नै हुन् ।

जुनसुकै देशमा बसेपनि सम्बन्धित देशको नियम,कानुन र वैधानिक हक,अधिकारको भोगचलन गर्न योग्य हुनेहरु नै बढी क्रियाशील हुने हुन् । यही अर्थमा नेपाली जनसम्पर्क समितिमा पनि सम्बन्धित देशमा वैधानिक रुपमा बसोवास गरेका र सोही देशको कानुन अनुसार संगठन दर्ता गरी चलाएका साथीहरु हुनुहुन्छ । यसको अर्को पाटो भनेको प्राविधिक पाटो पनि हो ।

प्रवासमा रहँदा,बस्दा सम्बन्धित देशको नीति,नियम अनुसार नागरिकता लिने,अधिकारको निर्वाध उपभोग गर्न पाउने,आफु र आफ्ना परिवारको आर्थिक,वैयक्तिक र आय आर्जनका अन्य उपलब्धी हासिल गर्ने,ज्ञान र सीप सिकी अन्ततस्देश हितका लागि त्यो सीपलाई प्रयोग गर्ने काम सबैले गर्दै आइरहेका हुन्छन् । यो अहिलेको अवस्थामा सामान्य कुरा पनि हो । यस अर्थमा नेपाली जनसम्पर्क समितिमा आवद्ध हुनेहरु सबै नेपाली नागरिक नै हुनुपर्छ भन्ने व्याख्या मूलतस्अत्यन्त अव्यवहारिक छ । यस्तो व्याख्या मात्र गरेर बस्ने हो भने समितिमा को व्यक्ति क्रियाशील हुन सक्छ ? किनकी नेपाली नागरिकता भनेको नेपालका लागि हो,विदेशमा नेपाली नागरिकताले परिचय दिने बाहेक अन्य अधिकार र कानुनी वैधानिकता प्राप्त भैरहेको अवस्था छैन ।

मेरो निजी विचार के हो भने जनसम्पर्क समितिमा आवध्द हुने भनेको विगतमा कांग्रेससंग जोडिएका सदस्य र शुभेच्छुकहरु नै हुन् । तसर्थ यसमा नेपाली नागरिक भन्नुको सट्टामा नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध साथीहरु भनेर सहजीकरण गरिदिनु उचित हुनेछ ।

विदेशमा वैधानिक रुपमा बसोवास गरी सम्बन्धित देशको कानुन अनुसार संगठन दर्ता गरी संचालन गरिरहेकाहरुले निर्वाध रुपमा नेपाली जनसम्पर्क समितिको सदस्यता लिने र नेतृत्व चयन प्रक्रियामा भाग लिन पाउने वैधानिक हैसियत राख्छन् । तसर्थ यही अनुसार विश्वभरका जनसम्पर्क समितिहरुलाई सहजीकरण गर्नका लागि केन्द्रीय समितिको आगामि बैठकले निर्णय गरोस् भन्ने सम्पूर्ण साथीहरुको भावनालाई कांग्रेसले सम्मान गर्नेछ भन्ने आशा गरौँ ।

सम्बन्धित देशको जनसम्पर्क समितिको नेतृत्व चयन सोही देशको कानुनी प्रावधान अनुसार दर्ता भएको संस्थाको विधि विधान अनुसार हुने र महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य नेपाली कांग्रेसको विधि,विधान अनुसार क्रियाशील सदस्यबाट हुने व्यवस्था नै उचित हो । पार्टीको क्रियाशील सदस्य नै पार्टीको पूँजी हो भने सम्बन्धित देशका साधारण सदस्यहरु नेपाली जनसम्पर्क समितिको आधार हो । यसतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।

पार्टीको विधान कुनै शिलालेख होइन,आवश्यकता र औचित्य अनुसार विधान संशोधन गर्न सकिन्छ र विधानका गाँठाहरुलाई फुकाउनका लागि केन्द्रीय समितिले निर्णय गर्न सक्छ । तसर्थ हामीलाई पार्टीसंग भावनात्मक रुपमा अझ नजिक बनाउन आइपरेको यो वैधानिक व्यवस्थालाई निकास दिन केन्द्रीय समितिले निर्णय गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

(विष्ट नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष हुन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com