अमेरिकाबाट आफ्ना नागरिकलाई चीन जान निषेध, ४ देशबाट चीनका नागरिकलाई भिषा निषेध


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

घातक कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ नाघेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई चीन नजान चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा चीनको भ्रमण नगर्न भनिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिएको भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै अमेरिकाले आफ्नो ट्राभल एड्भाइजरी अपडेट गरेको हो । यसबारे थप सुचनाहरु जारी गर्दै जाने अमेरिकी सरकारले जनाएको छ ।

चीनमा रहेका अमेरिकी नागरिकलाई कमर्सियल वाहनको प्रयोग गरेर चीन छाड्न समेत अमेरिकाले सुझाव दिएको छ । अमेरिकामा कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा संक्रमणको पुष्टी भइसकेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा २ सय १३ को मृत्यु भइसकेको छ भने ९ हजार ७ सयभन्दा बढीमा चीनमामात्र संक्रमण पुष्टी भएको छ । चीनबाहिर १४० जनामा संक्रमण पुष्टी भएको छ ।

यसैबीच क्यानडाले चीनमा रहेका कुटनीतिक कर्मचारी र उनीहरुका परिवारलाई क्यानडाबाट बाहिर लगेको छ । अहिलेसम्म ६२ वटा देशहरुले चीनका नागरिकका लागि आप्रवासनमा कडाई गरेका छन् । ६ देशहरुले चीनका नागरिकलाई भिसामा कडाई गरेका छन् भने ४ वटा देशले भिषा निषेध नै गरेका छन् ।

४७ देशहरुले चीनका नागरिकलाई भिसा जारी गर्नु अगाडि स्वास्थ्य परीक्षण र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चीनका नागरिकहरुले चीन छाड्न थालेपछि भिसामा कडाई गरिएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com