कोरोना भाइरस: ‘नेपालमा आत्तिनुपर्ने अवस्था छैन’


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

चीनको उवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि संक्रमण बढ्न सक्ने आशंकामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर संक्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। “कोही आत्तिनु पर्ने अवस्था छैन तर पनि संक्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ ।” श्रेष्ठले भने । सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उनले बताए । संक्रमण दर बढ्न सक्ने आशंकामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ ।

विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच शुरु गरेको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ । नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य संगठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । कोरोना भाइरस विभिन्न सात खालमा छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको उवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो ।

मुख्य लक्षण

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा संक्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ ।

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । विश्व स्वास्थ्य संगठनको आकस्मिक कमिटीको यही जनवरी २२, र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रुपमा घोषणा गरेको छैन । मध्यम तहको भनेर घोषणा गरेको छ । संगठनको तथ्याङ्क अनुसार दुई हजार ७९८ जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा संक्रमण भएको पुष्टि भएको छ । चीनमा २ हजार ७४१ जना छन् भने बाँकी अन्य मुलुकका छन् । अहिलेसम्म १०६ जनाको मृत्यु भएको जनाइएको छ ।

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः २ देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बढी संक्रमण फैलिएको चीनको उवान प्रान्तमा १९० जना नेपाली रहेको तथ्याङ्क आएको छ । जसमध्ये १०० जना सम्पर्कमा आइसकेका छन् । अन्यलाई पनि वी च्याट ग्रुव वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

सन् २००२ मा चाइनामा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि २००३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ग¥यो । त्यहाँ आठ हजार जनामा संक्रमण भएकोमा ७७४ को मृत्यु भएको थियो । मृत्युदर बढी थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको संक्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले ३ प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरिया पनि देखिएको थियो ।

नेपालमा यसरी भयो पुष्टि

उवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामीझैँ आफैँ ओपिडीमा सामान्य तवरले उपचारमा आएका थिए । उनको नमूना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको हङ्कङ्स्थित प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणमा उनीमा नोभेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा विवेकलालले जानकारी दिए ।

उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा विवेकलालले मंगलबार पत्रकारलाई जानकारी दिए । उनी नेपालमा गत पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना भएकोमा माघ ९ गते उक्त भाइरस रहेको पुष्टि भएको थियो । अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी गराए ।

अर्का चिकित्सक डा अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुबैको रोक्ने तरिका पनि उस्तै उस्तै भएको बताए । नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने संक्रमित, व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुने लगायतका उपाय अपनाउन उनले सबैलाई सुझाव दिएका छन् । सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले संक्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रुपमा उपचार गराउँदा हुने बताए । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिए । –रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com