टर्कीमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु
प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ८ म्याग्निच्यूड तिव्रता रहेको उक्त भूकम्पमा परि हालसम्म १८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पमा परि सयौं जना घाइते भएका छन्। यलाजिग प्रान्तको सिभाइस केन्द्रविन्दू भएर आएको भूकम्पको धक्का छिमेकी मुलुक इरान, सिरिया तथा लेवनानसम्म महसुस गरिएको थियो।
भूकम्पका कारण सयौं घरहरु ढलेका छन् भने मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। भूकम्पमा परेकाहरुको उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुको परिचालन गरिएको छ। टर्कीको आपतकालिन व्यवस्थापन प्राधिकरणले भूकम्पपछि ६० भन्दा बढी पराकम्पन आएको बताएको छ। स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेटमा भूकम्प आएको थियो। सन् १९९९ मा टर्कीको पश्चिमी सहर इजमितमा आएको भूकम्पमा १७ हजार जनाको ज्यान गएको थियो । -एजेन्सी