अमेरिकामा ४ प्रकारका नेपाली : हाई प्रोफाइल ठान्नेदेखि आइडेन्टिटी क्राइसिस हुनेसम्म


प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

मिलन कुमार शाही

नेपालीहरु अमेरिकामा कसरी बसेका छन त ? संघ-संस्था किन खोलिन्छन ? आखिरमा जे, जसरी, जति र जुनसुकै संघसंस्था खुले पनि तिनीहरुको मुख्य उद्देश्य भनेको नेपाल र नेपालीको हितमा नै काम गर्ने रहेको देखिन्छ । अरुबेला आपसमा तँछाडमछाड, गालीगलौज जे गरे पनि नेपाल र नेपालीलाई परेका बेला हरेक नेपाली एक ढिक्का भएर लागेका छन्, जसको ज्वलन्त उदाहरण महाप्रलय विनासकारी भूकम्प गएका बेला प्रवासी नेपालीहरुबाट भएको सहयोग र योगदानलाई लिन सकिन्छ । जति संघसंस्था खुले–खोलिए पनि अमेरिकामा रहेका नेपालीहरु चार समूहमा बाँडिएको देखिन्छ ।

पहिलो समूह
यस समूहका नेपालीको आफ्नै सर्कल छ, जो आफूलाई हाई प्रोफाइल (उच्च वर्ग)का ठान्दछन् । जसको सम्पर्क आम नेपालीहरुसँग छैन । यस समूहमा उच्चपदस्थ तथा अमेरिकी राजनीतिमा संघर्ष गर्दै गरेका र लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

दोस्रो समूह
यस समूहमा परिचय गुमेको (आइडेन्टिटी क्राइसिस) महसुस गर्ने व्यक्तिहरु पर्दछन् । त्यस्ता व्यक्तिहरु कुनै न कुनै संघसंस्थासँग आबद्ध छन् भने हरेकजसो सप्ताहन्तमा कुनै न कुनै कार्यक्रम गरेर मञ्चासन, भाषण तथा एकआपसमा खादा ओढ्ने–ओढाउने गर्दछन् र त्यस्ता कार्यक्रमहरुमा प्रायः संधैं उही अनुहार देखिने गर्दछन् ।

तेस्रो समूह
यस वर्गका नेपालीहरु, जो जीविकोपार्जनका लागि जागिर गर्दछन् भने कसैकसैका साना–ठूला व्यवसाय रहेका छन् र यो समूह कर्ममा विश्वास राख्दछन् । बेलाबखतमा आ-आफ्ना परिवार तथा साथीभाइमाझ चाडपर्व मनाउने तथा रीतिरिवाजलाई बचाउनका लागि प्रयास गर्दै समय–समयमा मनोरञ्जन तथा जमघटसमेत गर्ने गर्दछन् ।

चौथो समूह
यस समूहमा विद्यार्थी तथा नयाँ पिढीका युवावर्ग पर्दछन्, जो नयाँ चुनौती र अवसरका खोजीमा छन् । यिनीहरुको माथि उल्लेख गरिएका समूहहरुका नेपालीहरुसँग त्यति घनिष्ठता हुन सकेको देखिदैन ।

यसरी विभिन्न समूहमा बाँडिएका नेपालीहरुलाई एकै ठाउँमा भेला गर्न सक्ने हो भने अमेरिकामा रहेका नेपालीहरुले आउँदो १० वर्षभित्र अमेरिकामा नेपाल र नेपालीको पहिचान स्थापित गर्न सक्नेछन् । जसले यहानेपालको राजनीतिभन्दा अमेरिकी राजनीतिमा प्रवेश गर्ने बाटाहरु पहिल्याउँदै जानेछन् ।

यी सबैलाई एक ढिक्का पार्नका लागि एनआरएन अमेरिकाले आफ्ना व्यक्तिहरुको झुण्ड खडा गरी क्षणिक आनन्द लिनुभन्दा योग्य व्यक्तिहरुको नेतृत्व तयार गरी सबैको साझा संस्था बन्नुपर्दछ । व्यक्तिगत तथा पारिवारिक हितभन्दा आम नेपालीको हितमा लागेर दिगो रुपमा अगाडि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com