८ महिनासम्म अमेरिकामा ‘दावी नगरिएको’ नेपालीको शव परिवारको अनुपस्थीतिमै दाहसंस्कार


प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार

धनबहादुर ठकुरीको अन्तिम विदाई गरिदै । फोटो: राजन काफ्ले

न्युयोर्कमा ‘दाबी नगरिएको’ अवस्थामा भेटिएका एक नेपालीको शवको अमेरिकामा परिवारको अनुपस्थीतिमै दाहसंस्कार गरिएको छ । विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शव गत फेब्रुअरीदेखि न्युयोर्कमा ‘दावी नगरिएको’ अवस्थामा रहेको थियो ।

एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज र झापाली समाज अमेरिकाको पहलमा शनिबार न्युजर्सीको रुबी मेमोरियल फ्युनेरलमा अन्तिम विदाईपछि फ्र्याङ्कलिन मेमोरियल क्रिमटोरियम दाहसंस्कार गरिएको हो । अन्तिम विदाईमा नेपाली समाजका केही व्यक्ति र नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीको पनि उपस्थीति रहेको थियो ।परिवारका सदस्यहरुको अमेरिकाको भिसा नलागेपछि उनीहरुको अनुपस्थीतिमै दाहसंस्कार गरिएको हो ।

परिवारका सदस्यहरुलाई भिडियोकलबाट दाहसंस्कारको दृश्य देखाइदै । फोटो: राजन काफ्ले

अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ अनुसार धनबहादुर ठकुरीको मृत शरीर दाबी नगरिएको अवस्थामा भेटिएको समाचार खसोखासले प्रकाशित गरेको थियो। उक्त प्रणालीमा उनको शव दाबी नगरिएको अवस्थामा राखिएको थियो । तर अब शव दावी गरिएसँगै उनको विवरण प्रणालीबाट हटाइएको छ । धनबहादुर न्युयोर्कमा ‘प्रशान्त ठकुरी’ का नामबाट समेत चिनिँदै आएका थिए।

अन्तिम संस्कारका लागि एनआरएनए न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज, अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा गोफण्डमी समेत संचालन गरेका थिए । जसमा झण्डै १० हजार डलर संकलन भएको थियो । ती संस्थाहरुले यो मानवीय कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख चिकित्सा परीक्षकको कार्यालयबाट न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासलाई प्राप्त विवरणअनुसार, मृतक ठकुरीलाई न्युयोर्कको एक रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले आपत्कालीन नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेपछि गत फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाइएको थियो। त्यतिबेलासम्म उनको पहिचान अज्ञात नै थियो।

दाहसंस्कारका लागि धनबहादुर ठकुरीको शव लगिदै । फोटो: राजन काफ्ले

शव पहिचानका लागि कुनै प्रमाण नभेटिएकाले चिकित्सा परीक्षकको कार्यालयले सङ्घीय कार्यालयलगायत अन्य सरोकारवालासँग समन्वय गरेको जानकारी महावाणिज्यदूतावासलाई दिएको थियो। मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट प्राप्त भएपछि नजिकको हकदार पत्ता लगाई खबर गरिदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयले गत सोमबार नेपाली महावाणिज्यदूतावासमा इमेल पठाएको थियो। उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास असफल भएको उल्लेख गर्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।

प्राप्त इमेलमा मृतकको नाम, जन्म मिति र सोसल सेक्युरिटी नम्बर मात्र उल्लेख थियो। सोही विवरणका आधारमा मृतकको पूरा विवरण, नेपालको ठेगाना र नजिकको हकदारको नाम यकिन गर्न कठिनाइ भएपछि महावाणिज्यदूतावासले थप कागजात उपलब्ध गराइदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयमा सम्पर्क गर्दा ग्रीनकार्डको प्रतिलिपि प्राप्त भयो। त्यही कागजातको आधारमा राहदानी विभागको अभिलेखबाट लिएको मृतकको विवरणसँग ग्रीनकार्ड र अन्य विवरण मिलेपछि मृतकको ठेगाना तथा अन्य विवरणहरू यकिन गरियो।

धनबहादुर ठकुरी ।

ठकुरी डिभी लोटरीमार्फत सन् २०१४ मा अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

परिवारको पहिचान गर्न र त्यसबारे महावाणिज्यदूतावासमा सम्पर्क गर्न लामो समय लाग्नुको कारणबारे खसोखासले सम्पर्क गर्दा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले केही बताउन चाहेन। साथै मृत्युको कारणबारे पनि अहिलेसम्म कुनै कुरा पुष्टि नभएको र यसबारे अनुसन्धान भइरहेको चिकित्सा परीक्षकको कार्यालयले खसोखासलाई बताएको छ। मृत्युको कारणबारे थप जानकारी आफूहरूसँग नरहेको कार्यालयको भनाइ छ।

नेपालमा रहेको परिवारले मृत्युको घटनाबारे जानकारी पाए पनि मृत्युको कारणबारे विस्तृत जानकारी आफूहरूलाई नदिइएको बताएका छन्। मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुसार धनबहादुर ठकुरी केही समयदेखि क्षयरोगबाट समेत पीडित रहेका थिए। उनले केही समयअगाडि नेपाल गएर १८ वर्षदेखि सम्बन्धमा रहेकी महिलासँग औपचारिक रूपमा विवाह गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com