न्युयोर्क बस्ने बंगालादेशी मुलका अमेरिकी नागरिक देशनिकालाको प्रकृयामा, कारण यस्तो

गलत तरिकाले ग्रिनकार्ड लिएको भन्दै न्युयोर्क निवासी बंगालादेशी मुलका अमेरिकी नागरिकले देशनिकालाको प्रकृयाको सामना गरिरहेका छन् । बाल्यकालमा नै अमेरिकी नागरिकता लिएका बंगालादेशी मुलका असान उल्लाह र उनका परिवारका केही ग्रिनकार्डवाहकहरुले अहिले अमेरिकाबाट देशनिकालाको प्रकृयाको सामना गरिरहेका छन् ।

उनीहरुमध्ये कसैको पनि आपराधिक पृष्ठभूमि नरहेको र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले केबल उनीहरुले ग्रिनकार्ड लिएको प्रकृयामा मात्र प्रश्नचिन्ह उठाएको छ । गत अक्टोबर २२ मा अमेरिकी नागरिकताप्राप्त ३२ बर्षीय असान उल्लाहलाई पक्राउ गरेर झण्डै चारहप्तासम्म न्युजर्सीको हिराशतमा राखिएको थियो ।

असानकी पत्नी र तीनजना छोराछोरीहरु पनि अमेरिकी नागरिक हुन् । मुद्दाको टुंगो नलाग्दासम्मका लागि गत मंगलबार उनलाई धरौटीमा रिहा गरिएको छ । असानका अन्य चारजना आफन्तहरुको पनि ग्रिनकार्ड खोस्न सरकारले प्रकृया चलाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि अमेरिकी नागरिकता प्राप्त व्यक्तिको समेत नागरिकता खोस्ने अभियानलाई सरकारले तीब्र पारेको छ ।

असान बंगालादेशमा जन्मिएका थिए । त्यसपछि उनका एकजना काकाले उनलाई धर्मपुत्रका रुपमा स्वीकारेर अमेरिका ल्याएका थिए । उनलाई धर्मपुत्रका रुपमा स्वीकारेका काकालाई डिभी लोटरी परेपछि असान पनि ८ बर्षको उमेरमा अमेरिका आएका थिए । त्यसको केहीबर्षपछि उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।

Loading...
असान र उनको परिवार ।

लगत्तै असानलाई धर्मपुत्रका रुपमा ल्याएका काकाले असानकी बहिनी, असानकी जैविक आमा र अन्य चारजना दाजुभाईदिदीबहिनीहरुलाई अमेरिका ल्याउनका लागि आवेदन फाइल गरिदिएका थिए । उनीहरु सबैजना सन् २०११ मा अमेरिका आएका थिए ।

अमेरिका आएका असान न्युयोर्कको ब्रुकलिनमा बस्दै आएका छन् भने उनले इलेक्ट्रिसियन भइसकेपछि विवाह गरेर तीनजना बच्चासमेत जन्माइसकेका छन् ।

उनीहरु सबैजना त्यतीबेलासम्म अमेरिकामा ठीक तरिकाले नै बसिरहेका थिए, जब सन् २०१७ मा अमेरिकाको न्युयोर्कमा एउटा घटना भयो । न्युयोर्क सिटीको ट्रेन स्टेशनमा पाइप बम पड्काउन खोज्दा असानका भाई अकायद पक्राउ परे । २७ बर्षका अकायद पक्राउमात्र परेनन्, सन् २०१८ मा कैयन आतकंकारी गतिविधिमा दोषी ठहर भए । उनलाई आगामी फरबरीमा सजाय तोकिदैछ ।

भाईको गिरफ्तारीपछि प्रहरीले असान लगायत उनका परिवारका सदस्यहरुमाथि अनुसन्धान गरेको थियो । तर उनीहरुको भाईको गतिविधिमा कुनै संलग्नता भने देखिएन । असान आफ्नै काममा व्यस्त रहे ।

तर एक्कासी बैंकबाट एउटा पत्र आयो, जुनपत्रमा उनको व्यक्तिगत र बिजनेश एकाउन्ट बन्द गरिने उल्लेख थियो । एफबीआईले उनको बिजनेश लाइसेन्स होल्डमा राखेपछि बैंकबाट त्यस्तो पत्र प्राप्त भएको थियो ।

न्युयोर्क प्रहरीले उनको परिवारमाथि पनि निगरानी बढाएको उनीहरुको भनाई छ । गाडी पार्क गर्ने स्थानमा पटकपटक न्युयोर्क प्रहरीले निगरानी गरेको देखेको र मस्जीदमा जाँदा समेत प्रहरीले निगरानी गरेको परिवारका सदस्यहरुको भनाई छ ।

Loading...

यसैबीच गत अप्रिलमा असानलाई युएससीआईएसले उनको नागरिकता खारेज गर्ने आशयसहितको पत्र पठायो, जसमा उनले ग्रिनकार्ड गलत तरिकाले लिएको भन्दै अमेरिकी नागरिकता रद्द गर्ने योजना बनाएको उल्लेख गरिएको थियो ।

यस्तैमा आत्तिएका असानका आमा र दाजुभाईदिदीबहिनीहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिए । तर सरकारले उनीहरुको नागरिकता समेत खारेज गर्ने आशयसहित उनीहरुको नागरिकताको आवेदन अस्वीकार गरिदियो । गत नोभेम्बरमा असानकी आमा र एउटी बहिनीलाई दुईदिनसम्म हिराशतमा समेत लिइयो ।

अहिले असान र उनका परिवारका सदस्यहरु अमेरिकी सरकारको योजनाबिरुद्ध लडाई लडिरहेका छन् । असानकी आमा र दाजुभाईदिदीबहिनीहरुको असानलाई अमेरिका ल्याउने काकासँग कुनै कानुनी वा जैविक सम्बन्ध नरहेको तथा मुख्य आवेदक काका रहेको भन्दै सबैको ग्रिनकार्ड र नागरिकता खारेज गर्न अमेरिकी सरकार अगाडि बढेको हो ।

ट्रम्प प्रशासनले अहिलेसम्मकै इतिहासमा वर्षेनी सबैभन्दा धेरै नागरिकता खोस्ने मामलाहरु अगाडि बढाएको छ । ओबामा कार्यकालमा औषतमा बार्षिक १५ वटा यस्ता मामलाहरु सरकारले अगाडि बढाएको थियो । तर ट्रम्प प्रशासनले औषतमा बार्षिक २९ मामलाहरु अगाडि बढाएको छ । बुसका पालमा भने औषत बार्षिक १८ वटा नागरिकता खोस्ने मामला सरकारले अगाडि बढाएको थियो ।

ट्रम्प प्रशासनले अहिलेसम्म अगाडि बढाएको नागरिकता खोस्ने मामलाहरुमा १८ जना मेक्सिकन मुलका, १२ वटा हैटियन मुलका, ८ जना नाइजेरियन मुलका, ७ जना पाकिस्तानी मुलका, १७ जना भारतीय मुलका र ८ जना बंगालादेशी मुलका अमेरिकन नागरिकताप्राप्त व्यक्तिहरु छन् ।

Loading...

अमेरिकी नागरिकता खोस्ने ‘अपरेशन जानुस’

गत बर्ष एकजना भारतीय बलजिन्दर सिंहको अमेरिकी नागरिकता खोस्ने फैसला गर्यो अमेरिकी अदालतले ।  बलजिन्दर सिंहको नागरिकता खोसाई अमेरिकी सरकारको नागरिकता खोस्ने ‘अपरेशन जानुस’ अन्तरगतको पहिलो सफलता हो । अर्थात् ‘अपरेशन जानुस’ को पहिलो शिकार बनेका छन् बलजिन्दर सिंह ।

त्यस्तै गत बर्ष फरबरी १४ मा ‘अपरेशन जानुस’ अन्तरगत नै एकजना आप्रवासीको डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले मिसिगनको अदालतमा मुद्दा दायर गरेको थियो । युएससीआईएसले डिपार्टमेन्ट अफ जस्टिसलाई साफी उदिद्न उर्फ कबिर तालुकदार उर्फ कबिर रहमानको मुद्दा हस्तान्तरण गरेको थियो ।  उनले अमेरिका आइसकेपछि डिभी लोटरी भरेर डिभी परेपछि अमेरिकी ग्रिनकार्डहुँदै नागरिकता प्राप्त गरेका थिए ।

Loading...

के हो ‘अपरेशन जानुस’ ?

‘अपरेशन जानुस’ अमेरिकी सरकारले त्यस्ता व्यक्तिबिरुद्ध लक्ष्यित गरिरहेको छ, जसले आफ्नो सक्कली पहिचान लुकाएर वा नक्कली पहिचान बनाएर अमेरिकी सरकारलाई झुक्याएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताप्राप्त गरेका छन् । आपराधिक गतिविधि भएका वा उपयुक्त कागजातविना नै अमेरिका छिरेका तर नागरिकताप्राप्त गर्नेबेलामा युएससीआईएसले त्यो विवरण प्राप्त गर्न नसकेकाहरुमाथि अमेरिकी सरकारले अहिले ‘अपरेशन जानुस’ अन्तरगत छानविन गरिरहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको माताहतमा संचालित ‘अपरेशन जानुस’ ले अमेरिकी सरकारको प्रणालीमा ३ लाख १५ हजार व्यक्तिका फिंगरप्रिन्टहरु केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा नरहेको पत्ता लगाएको थियो । फिंगरप्रिन्ट डाटाको अभावमा कैयनका आपराधिक वा अन्य जालसाजीपूर्ण विगत पत्ता नलागेका कारण युएससीआईएसले उनीहरुलाई अमेरिकी नागरिकता दिएको पत्ता लागेपछि अहिले उनीहरुबारे छानविन भइरहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसबीचको समन्वयमा गैरकानुनी रुपमा अमेरिकी नागरिकता प्राप्त गरेकाहरुको नागरिकता खोस्ने अभियान चलाइएको हो ।

‘अपरेशन जानुस’ अन्तरगत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले देशनिकालाको आदेश पाइसकेका, फरार सुचीमा रहेका र अपराध प्रमाणित भएका १ लाख ४८ हजार जनाका पूराना फिंगरप्रिन्ट डाटाहरु डिजिटाइज नगरिएको र ती फिंगरप्रिन्टहरु एफबीआईसमक्ष नपुगेको पत्ता लगाएको थियो । विगतमा इमिग्रेशन इन्काउन्टरमा लिइएका सबै तथ्यांक र फिंगरप्रिन्ट एफबीआईमा पठाउने चलन नरहेकाले एफबीआईसँग पनि त्यस्ता तथ्यांकहरु थिएनन् । त्यसैले कतिपय देशनिकालाको आदेश पाइसकेका, फरार सुचीमा रहेका र अपराध प्रमाणित भएका व्यक्तिले समेत पहिचान ढाँटेर ग्रिनकार्ड वा नागरिकताको लागि आवेदन दिंदा लिइने फिंगरप्रिन्टबाट त्यस्ता व्यक्तिको विगतको सबै इतिहास पत्ता लगाउन मुस्किल थियो । तर अहिले सबै फिंगरप्रिन्ट डाटाहरु एकमुष्ठ गर्दै जाँदा एफबीआई चेकका बेलामा ३ लाख १५ हजारका फिंगरप्रिन्ट डाटाहरु छुटेको पत्ता लागेको हो ।

किन खोस्न खोजिदैछ रहमानको नागरिकता ?

कबिर रहमान सन् १९९२ को फरबरीमा जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । त्यतीबेला उनले आफ्नो नाम गानु मियाह भएको विवरण दिएका थिए । त्यसपछि उनले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका थिए । उनको मुद्दा अध्यागमन अदालतमा पुगेपछि उनलाई देशनिकालाको आदेश दिइएको थियो ।

सन् १९९४ मा गानु मियाहको नामको मुद्दा अगाडि बढिरहदा उनले साफी उद्दिनका नामबाट अर्को एसाइलम फाइल गरे । त्यो मुद्दा पनि अध्यागमन अदालतमा पुगेर सन् १९९७ मा उनलाई देशनिकालाको आदेश दिइएको थियो । सन् १९९७ मा उनले कविर तालुकदारको नाममा डिभी भरेर डिभी लोटरीमार्फत ग्रिनकार्ड पाएका थिए । उनले त्यतीबेला आफू क्यानडाबाट अमेरिकामा कारमा आएको दाबी गरेका थिए । पछि सन् २००४ मा उसले डिभी लोटरीमार्फत प्राप्त ग्रिनकार्डबाट अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।

परिचय ढाँटेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेको कारण उनको नागरिकता खोस्नका लागि अहिले अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको हो । उनका विभिन्न एजेन्सीहरुले लिएका केही फिंगरप्रिन्टहरु एफबीआईले प्राप्त नगरेका कारण उनले जालसाजी गरेको त्यतीबेला पत्ता लगाउन कठिन भएको थियो । तर अहिले ‘अपरेशन जानुस’ अन्तरगत उनका छुटेका फिंगरप्रिन्ट डाटाहरु खोज्दै जाँदा उनले जालसाजी गरेको विवरण फेला परेका हुन् ।

किन खोसियो बलजिन्दरको नागरिकता ?

भारतीय नागरिक बलजिन्दर सिंह १७ बर्षको उमेरमा सन् १९९१ को सेप्टेम्बर २५ मा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । त्यतीबेला उनीसँग कुनै ट्राभल डकुमेन्ट वा परिचय खुल्ने कागजात थिएन । उनले आफ्नो नाम देभिन्दर सिंह भएको दाबी गरेका थिए । त्यसपछि उनलाई अदालती प्रकृयामा राखिएको थियो । तर उनी इमिग्रेशन अदालतमा उपस्थीत भएनन् । सन् १९९२ को जनवरी ७ मा उनलाई अध्यागमन अदालतले देशनिकालाको आदेश दियो ।

त्यसको चारसातापछि उनले फरबरी ६ सन् १९९२ मा बलजिन्दर सिंहका नामबाट एसाइलम फाइल गरे । त्यतीबेला उनले अध्यागमन अधिकारीको निरिक्षणबिना लुकीछिपी अमेरिका छिरेको दावीका साथ एसाइलम फाइल गरेका थिए । तर उनले पछि एकजना अमेरिकी नागरिकसँग विहे गरेपछि एसाइलमको आवेदन परित्याग गरे । त्यसपछि श्रीमतिका नामबाट ग्रिनकार्ड फाइल गरे । बलजिन्दर सिंहले सन् २००६ को जुलाई २८ मा अमेरिकी नागरिकताप्राप्त गरे । उनी न्युजर्सीमा बस्दै आएका थिए । ‘अपरेशन जानुस’ अन्तरगत उनको यो सबै इतिहास पत्ता लागेपछि  उनको नागरिका खोस्न मुद्दा दायर गरिएको थियो ।

मोहम्मद अख्तरको पासपोर्टमा आफ्नो फोटो टाँसेर सन् १९७१ मा अमेरिका आएका पाकिस्तानका प्रवेज मञ्जुर खानलाई पनि नागरिकता खोस्नका लागि अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको थियो । आफ्नो नाम जावेद खान रहेको बताउदै उनले एसाइलम आवेदन हालेका थिए । तर पनि इमिग्रेशन अदालतले सन् १९९२ मा उनलाई देशनिकालाको आदेश दिएको थियो । पछि उनले अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेका थिए । त्यस्तै पाकिस्तानका रसिद मोहम्मदले पनि अर्कै नामबाट नक्कली ग्रिनकार्ड प्रयोग गरी अमरिका आएर एसाइलम फाइल गरेपछि देशनिकालाको आदेश पाएपनि पछि अमेरिकी नागरिकसँग विहे गरेर अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।

‘अपरेशन जानुस’ ले हजारौंको नागरिकता खोस्नसक्ने

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ‘अपरेशन जानुस’ अन्तरगत जालसाजी गरेर अमेरिकी नागरिका लिएका हजारौंको अमेरिकी नागरिकता खोसिन सक्ने चेतावनी दिएको छ । देशनिकालाको आदेश पाइसकेका कम्तीमा ८ सय ५८ जनाले पहिचान ढाँटेर अमेरिकी नागरिकता लिएको युएससीआईएएसले पत्ता लगाएपछि ‘अपरेशन जानुस’ सुरु गरिएको हो । ‘अपरेशन जानुस’ अन्तरगत अहिलेसम्म झण्डै १६ सय जनाबिरुद्धका अभियोजन तयार पारिसकिएको छ । पुराना फिंगरप्रिन्ट रेकर्डहरु डिजिटाइज्ड नगरिएका कारण युएससीआईएसले जोखिम उठाएर कैयन व्यक्तिका नागरिकता आवेदनहरु स्वीकृत गरेको थियो ।

तर अब अहिले पूराना विवरणहरु खोजेर ‘अपरेशन जानुस’ अन्तरगत छानविन तीब्र पारिएको छ । जसका कारण कैयन बर्षपहिले अमेरिकी नागरिकता लिएर घरपरिवारसहित बसिरहेकाहरुले पनि देशनिकालाको सामना गर्नुपर्ने अवस्था आएको छ । अमेरिकन दम्पत्ति र बच्चाबच्ची भइसकेकाहरुलाई अमेरिकी नागरिकता खोसेर देशनिकालाको प्रकृयामा लैजानु मानवीय दृष्टिकोणले सहज भने छैन । अमेरिकी नागरिकता खोसिएपनि तत्कालका लागि उनीहरुको ग्रिनकार्ड खोसिएको छैन । तर कालान्तरमा उनीहरुको ग्रिनकार्ड समेत खोसेर वा रिन्यु नगरेर देशनिकालाको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।

कैयन नेपालीहरु समेत जोखिममा

केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा फिंगरप्रिन्टका सबै डाटाहरु नहुनेमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ । अरुकै भिसा र पासपोर्टमा आफ्नो फोटो टाँसेर नाम ढाँटेर अमेरिका छिर्नेहरु वा अनुहार उस्तै उस्तै रहेका कारण अरुको पासपोर्ट र भिसामा अमेरिका छिर्नेहरु ‘अपरेशन जानुस’ को फन्दामा पर्नसक्ने सम्भावना रहेको छ । त्यस्तै गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर आफ्नो पहिचान ढाँटेर अमेरिकी नागरिकता प्राप्त गरेकाहरुसमेत ‘अपरेशन जानुस’ को निशानामा पर्नसक्ने सम्भावना रहेको छ ।

खासगरी सन् २००७ भन्दा अगाडि फिंगरप्रिन्ट भण्डारण गर्ने उपयुक्त संयन्त्रको अभावमा व्यक्तिले सजिलै आफ्ना विवरणहरु ढाँट्न सक्ने अवस्था थियो । त्यसैले त्यो भन्दा अगाडि अमेरिका आएर नागरिकता लिनेहरुका सन्दर्भमा मात्र ‘अपरेशन जानुस’ बढी केन्द्रीत रहेको छ । त्यसपछि अमेरिका आउनेहरुको फिंगरप्रिन्ट सिधै केन्द्रीय भण्डारणमा जम्मा हुने भएकाले विवरण ढाँट्न सम्भव छैन ।

कसरी छुटे फिंगरप्रिन्ट ?

सन् २००७ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले केन्द्रीय डिजिटर फिंगरप्रिन्ट भण्डारको स्थापना गरेको हो । सन् २००८ देखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अध्यागमन कारवाहीका क्रममा लिने फिंगरप्रिन्ट एफबीआई र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भण्डारसँग भिडाउन थालिएको हो । त्यसपछि अरु एजेन्सीले लिने फिंगरप्रिन्टका डाटा पनि केन्द्रीय भण्डारमा पठाउन र भिडाउन थालिएको हो ।

पहिले फिंगरप्रिन्टका डाटाहरु डिजिटाइज नभएका कारण र कागजको टुक्रामा लिइने भएका कारण त्यस्ता डाटाहरु राख्ने केन्द्रीकृत प्रणाली चुस्त थिएन । पछि कागजमा लिइएका फिंगरप्रिन्ट स्क्यान गरेर राख्ने क्रममा कैयन फिंगरप्रिन्टहरु छुटेका थिए । आइसले सन् २०१० पछि काजगमा लिइएका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा अपलोड गर्नका लागि नेतृत्व लियो । सन् २०११ मा आइसले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको डाटाबेसमा सन् १९९० देखि फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएकाहरुको विवरण खोज्न थाल्यो । त्यतीबेला आइसले ३ लाख १५ हजार जनाका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा नरहेको पत्ता लगायो । हाल फिंगरप्रिन्ट कागजमा लिने प्रणाली नरहेकाले यो नम्बर बढेको छैन ।

सन् २०१२ देखि आइसले ती ३ लाख १५ हजारका कागजमा रहेका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा अपलोड गर्न थाल्यो । उनीहरु फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएकाहरु रहेका थिए । ३ लाख १५ हजारमध्ये आइसले जम्मा १ लाख ६७ हजारका फिंगरप्रिन्टमात्र अपलोड गर्न सक्षम भयो । किनभने बाँकीका कागजमा लिइएका फिंगरप्रिन्ट या त हराएका थिए, या त स्क्यान गर्न मिल्ने गरी स्पष्ट थिएनन् । फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएका १ लाख ४८ हजारका फिंगरप्रिन्ट संकलन गर्न सम्भव नभएकाले अमेरिकी सरकारले उनीहरुकाबारेमा थप अनुसन्धान समेत गरिरहेको छ ।

खासगरी एउटा नाममा देशनिकालाको आदेश पाइसकेपछि अर्कैै नाममा ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता लिएकाहरुलाई यो अपरेशन अन्तरगत निशानामा पारिएको छ । जसको पहिलो शिकार भारतीय नागरिक बलजिन्दर सिंह भएका छन् । अब यो अपरेशन कहाँ पुगेर कसकसको नागरिकता खोसेर टुंगिने हो त्यो भने हेर्न बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...