काठमाडौंको बालमन्दिरमा दैनिकजसो पुगेर अनाथलाई स्तनपान गराउँदै ५ आमा


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

गत वर्ष माघ महिनामा नक्सालस्थित बालमन्दिरमा उद्धार गरी ल्याइएका एक नवजात शिशुलाई जोगाउन “कुनै आमाको स्तनपान नै गराउनुपर्ने” सुझाव चिकित्सकले दिए। ललितपुर इमाडोलको एउटा उजाड ठाउँमा फालिएको अवस्थामा ती बालकलाई एक स्थानीय महिलाले भेटेकी थिइन्। निकै कम तौल भएका र कुपोषित ती शिशुलाई नाइटो सुन्निने ‘अम्बिलिकल हर्निया’ भनिने रोग थियो।

ढाड सोझो पारेर बल्लबल्ल बोतलबाट खुवाए पनि प्रमिस नाम दिइएका ती शिशुको पेटसम्म दूध पुग्नै सक्दैनथ्यो, नाकबाट निस्किहाल्थ्यो। उनको उपचारमा खटिएका डाक्टरले बालमन्दिरका निर्देशक बालकृष्ण डङ्गोललाई बचाउन सकिने एउटै उपाय सुझाएका थिए- स्तनपान। त्यतिबेला डङ्गोलकी श्रीमती अनिता कुम्पाखा आफैँ झन्डै चार महिनाकी सुत्केरी थिइन्। डङ्गोलले प्रमिसलाई जोगाउन स्तनपान गराउने सल्लाह श्रीमती अनितासँग गरे। उनी सहमत भइन्।

“उहाँले प्रमिसको अवस्थाबारे भन्नेबितिक्कै कुन बेला आएर दूध खुवाउन पाए हुन्थ्यो जस्तो लाग्यो,” बुधवार बालमन्दिरमा पाँच महिनाका प्रमिसलाई काखमा लिएर स्तनपान गराउँदै अनिताले बीबीसी नेपालीसँग भनिन्।

अनिताले प्रमिसलाई स्तनपान गराएपछि उनको नाकबाट दूध निस्कन छोड्यो। उनको स्वास्थ्यमा आएको परिवर्तन देखेर नै डङ्गोलले बालमन्दिरमा भएका अन्य शिशुलाई पनि स्तनपान गराउने उपायबारे सो‍चे। त्यसबारे बालमन्दिरमा सहकर्मीहरूसँग सल्लाह गरेर सबैको सहमतिपछि गत फागुन २० गतेबाट ‘स्तनपान कार्यक्रम’ सुरु भयो। पचपन्न वर्षअघि स्थापित बालमन्दिरको इतिहासमा त्यसरी टुहुरा शिशुले पहिलोपटक आमाको दूध खान पाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले बालमन्दिरमा प्रमिसजस्तै छ महिनामुनिका १५ बच्चाहरू छन्। उनीहरू सबैले आमाको दूध खान पाएका छन्। त्यसका लागि अनिताजस्ता पाँच महिलाहरू नियमित रूपमा बालमन्दिर जान्छन्। कोही दैनिक त कोही दिन बिराएर ती बालबालिकालाई स्तनपान गराउँछन्। कार्यक्रम सुरु भएको १० दिनसम्म अनिता एक्लैले स्वयंसेवा गरेकी थिइन्।

पछि बालमन्दिरले अरू आमा खोजी गर्न त्यहाँ काम गर्न आउने स्वयंसेवी छात्रछात्राको सहायता लियो। त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा ‘सोशल वर्क’ विषय पढिरहेका विद्यार्थीले छ हप्ता बालमन्दिरमा स्वयंसेवकका रूपमा काम गर्नुपर्छ। त्यस्तै मध्येकी एक छात्राले स्वयम्भूस्थित छिमेकी घरमा डेरा गरेर बस्ने सुनिता श्रेष्ठलाई त्यसबारे भनिन्। अहिले सुनिता पनि आफ्नो समय मिलाएर बालमन्दिरमा बच्चाहरूलाई दूध खुवाउन आउँछिन्।

चाबहिलमा डेरा गरेर बस्ने २७ वर्षीया सुबिना देउला अर्की स्वयंसेवी आमा हुन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरब जाँदा उनी चार महिनाकी गर्भवती थिइन्। अहिले पाँच वर्षीया छोरी र चार महिनाको काखे छोरा लिएर उनी बालमन्दिर धाउँछिन् – जागिरेका रूपमा होइन, स्वेच्छाले स्तनपान गराउन। पहिला बालमन्दिरमै सरसफाइको काम गर्ने उनले सुत्केरी भएको केही सातादेखि नै अनाथ बालबालिकालाई दूध खुवाउन थालिन्।

“म सुत्केरी बिदामा बसिरहेको बेला यहाँको सरले मिल्छ भने स्तनपान गराउन आउनूस् भन्नुभयो। अनि म आउन थालेँ,” देउला भन्छिन्।

झन्डै २० वर्षदेखि बालमन्दिरमा ‘हाउस मदर’ को रूपमा बालबालिका रेखदेख गर्ने काम गर्दै आएकी विमला खड्का स्तनपान गर्न पाएका बच्चामा आएको सुधार देखेर प्रभावित भइन्। सुन्दरीजलस्थित आफ्नो घरछेउ सुत्केरी भएकी सानू नगरकोटीले आफ्नो बच्चालाई दूध बढी भएर फालिरहने गरेको खड्काले थाहा पाइन्। उनले बालमन्दिरको ‘स्तनपान कार्यक्रम’ बारे सानूलाई भनिन्।

अट्ठाइस वर्षीया सानूलाई पनि अनिता र सुबिनालाई जस्तै कुरा सुन्नेबितिक्कै आफ्नो बढी भएको दूध कुनै अर्को बच्चालाई खुवाउन पाए हुन्थ्यो भन्ने लाग्यो। “मैले घरमा भनेपछि श्रीमान् पनि खुसी हुनुभयो। समय मिलाएर म प्राय: दिउँसो २ बजे बच्चाहरू ननिदाएको बेला पारेर आउँछु,” सानूले भनिन्।

उपत्यकाको उत्तरी छेउ सुन्दरीजलबाट नक्साल आइपुग्न उनलाई डेढदेखि दुई घण्टा लाग्छ। तर पनि यो काम जोसुकैले गर्न नसक्ने भएकाले स्वेच्छाले आइरहेको उनी बताउँछिन्।

“मलाई त आमाको दूध खुवाउने काम जो पायो उसैले गर्न नसक्ने धर्म हो जस्तो लाग्छ,” सानू सगौरव भन्छिन्।

डङ्गोलका अनुसार आफ्नो बच्चालाई दूध पुगेर खेर जाने अवस्था भएका अनिता, सानू र सुबिनाजस्तै आमाहरूलाई लक्षित गरेर ‘स्तनपान कार्यक्रम’ चलाइएको हो। बालमन्दिरकै कर्मचारीहरूको पहलमा सुरु भएको यो अभियानमा केही बाहिरका आमा पनि जोडिन आइपुगे।

बालमन्दिरमा आइपुग्ने प्राय: नवजात शिशु कम तौलका र अस्वस्थ हुन्छन्। “कोही कतै फालिएका आउँछन् वा पर्याप्त स्याहारसुसार नपाएका आउँछन्। बोतलको मात्रै दूध खुवाएर उनीहरूमा यति छिटो परिवर्तन आउँदैन,” विमला खड्का भन्छिन्।

पूरै रिपोर्ट बीबीसीमा पढ्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com