राष्ट्रपतिबाट पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई शपथग्रहण, संसारभरबाट शुभकामनाको ओइरो
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीबाट नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पद तथा गोपनीयताको शपथ लिँदै । तस्बिर : रोशन सापकोटा
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी थिए । साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी थिए ।
शुभकामनाको ओइरो
मन्त्रीमा नियुक्त भए लगत्तै संसारभरबाट भट्टराईलाई शुभकामनाको ओइरो लागेको छ । सामाजिक संजालमार्फत विश्वभरका नेपालीहरुले शुभकामना र बधाई दिइरहेका छन् । धेरैले आशा गरेको नेताका रुपमा भट्टराईलाई शुभकामनाको ओइरो लागेको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले फेसबुकमा भट्टराईको फोटो पोष्ट गर्दै भनेका छन् – ‘कमरेड योगेश, सँस्कृती तथा पर्यटन मन्त्रीको रूपमा तपाईको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।’

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथपछि बधाई तथा शुभकामना दिँदै । तस्बिरः रोशन सापकोटा
त्यस्तै नेता प्रदीप नेपालले भनेका छन् – ‘योगेश,सार्है धेरैले आश गरेका छन्। तिनको मन नदुखोस्।शुभकामना ।’
नेतृ पम्फा भुसालले फेसबुकमा लेखेकी छिन् – ‘कमरेड योगेश संस्कृति पर्यटन तथा नागरिक उड्यन मंत्रीको ज़िम्मेवारीका लागी हार्दिक बधाई तथा सफल कार्यकालकोलागी सुभकामना ।’
त्यस्तै अमेरिकाबाट राधाकृष्ण देउजा लेख्छन् – ‘मन्त्री पद योगेश भट्टराई भन्दा ज्यादै होचो पद हो , त्यसैले योगेश भट्टराईलाइ भन्दा पनि पर्यटन मन्त्रालय र पर्यटन क्षेत्रलाइ बधाई एक कुशल , कामकाजी र परिणाममुखी मन्त्री पाएकोमा ।’

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई बुधबार मन्त्रालयमा पुगी पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्तव्य राख्दै । तस्वीर : नारायण ढुङगाना
को हुन् योगेश ?
नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।
उनको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै थिए ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीयोगेशकुमार भट्टराई बुधबार मन्त्रालयमा पुगी पदभार ग्रहण गर्दै । तस्वीर : नारायण ढुङगाना
यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए । २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुगे ।
नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बनेका थिए ।
यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका थिए ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीलाई मन्त्रालयमा स्वागत गरिँदै । तस्वीर : नारायण ढुङगाना





