सुर्खेतकी मृगौला पीडित अनिताका लागि अमेरिकामा सहयोग जुटाउँदै फ्लोरिडाका प्रोफेसर
प्रकाशित मिति : असार २९, २०७६ आईतबार
दुवै मृगौला फेल भएकी सुर्खेतकी अनिता रासकोटीका लागि अमेरिकामा सहयोग जुटाउन थालिएको छ। अमेरिकाको फ्लोरिडाको पेन्साकोला स्टेट कलेजमा नेचुरल साईन्सका विभागीय प्रमुख रहेका फिजिक्स प्रोफेसर हिक्मत बिसीले रासकोटीका लागि सहयोग जुटाउन थालेका हुन।
सुर्खेत जिल्लाको साविक नेटा गाविसको वडा नंबर ५ घर भएकी रासकोटी दुवै मृगौला फेल भएपछि साढे ३ वर्षदेखि डाइलासिस गराउँदै आएकी थिइन। रासकोटीका दुई छोरा र एक छोरी गरि ३ सन्तान छन्।
डाइलासिसले मात्रै रासकोटीको जीवन बचाउन नसकिने र जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्नुपर्ने शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ। आर्थिक अवस्था निकै कमजोर भएको रासकोटीको परिवारले मृगौला प्रत्यारोपणका लागि लाग्ने करिब १० लाख रुपैयाँ जुटाउन सक्ने अवस्था नरहेकाले सहयोग सङ्कलन गर्न थालिएको हो।
रासकोटीको मृगौला प्रत्यारोपणका लागि रकम सङ्कलन गर्न प्रोफेसर बिसीले गो फन्ड मी साइट मार्फत अपिल गरेका छन्। प्राफेसर बिसीले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि रासकोटीको जीवन रक्षाका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन्।
५ हजार डलरको लक्ष्यसहित गोफण्डमीमा राहत संकलन अभियान सुरु गरिएको हो ।