नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोडियो


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटार (नाष्ट)कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केबाट निर्मित स्याटेलाईट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदो भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिनु भयो ।

अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिनु भयो । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै सोही दिन भूकम्पीय जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको सो कार्यक्रम भूकम्पीय जोखिम न्यूनिकरणका लागि उपयोगी हुने पनि स्पष्ट पार्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com