अमेरिकामा दुई राजदूतको रिसेप्सनमा राष्ट्रपति भण्डारी
प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार
अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की र राष्ट्रसंघका लागि न्युयोर्कस्थीत नेपाल मिसनका प्रमुख अमृत राईको रिसेप्सनमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुनुभएको छ । रिसेप्सनमा कुटनीतिक समुदाय, राष्ट्रसंघका अधिकारीहरु, ब्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थीति रहेको थियो ।

म्यानहटनको मिलेनियम हिल्टन होटलमा आयोजित कार्यक्रममा राजदूतहरु कार्की र राईले राष्ट्रपति भण्डारीको स्वागत गर्नुभएको थियो । न्युयोर्कको भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहिबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
मंगलबार राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघमा सीएसडब्लुको ६३ औं सेसनका क्रममा पीजीएले आयोजना गरेको शक्तिमा महिला नामको उच्च स्तरीय कार्यक्रममा सहभागी हुनुभएको थियो । मंगलबार नै राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसँग भेट गर्नुभएको थियो ।












