सामूहिक बलात्कारमा परेकी पीडितले डिआइजीलाई सोधिन् ,अब के गर्न आउनुभयो सर ?
प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार
गएको शनिबार सामूहिक बलात्कारको घटनामा पंजाब पुलिसले मुख्य आरोपी सहित ८ जनालाई पक्राउ गरेको छ । कारमा घुम्न गएका जोडीलाई मोटरसाइकल सवार ३ जनाले अपहरण गरेका थिए । त्यसपछि उनीहरुले आफ्ना अन्य ९ जना साथीहरुलाई बोलाएर पटक–पटक युवतीलाई सामूहिक बलात्कार गरेका थिए । त्यसपछि युवकलाई धम्की दिएर एक लाख रुपैयाँ फिरौती माग्नको लागि युवकका एक साथीलाई फोन पनि गर्न लगाए । पीडित युवकको फोनबाट उनीहरुले पटक पटक उनका साथीलाई १ लाख रुपैयाँ फिरौती ल्याउन फोन गरिरहे ।
पीडितका ती साथी दाखा थानामा गएर त्यहाँका सब इन्स्पेश्टर विद्यारत्नसँग आफूलाई आरोपी भएको ठाउँ थाहा भएको भन्दै उनीहरुलाई पक्राउ गर्न आग्रह गरिरहे । तर, सब इन्स्पेक्टर रेकर्डिङ सुनेपछि पनि त्यहाँ गएनन् । आरोपीले ८ पटक फोन गरेको एक घण्टापछि जब पुलिस उनीहरुलाई खोज्दै घटनास्थल पुग्यो त्यहाँ केही थिएन । आश्चर्यको कुरा साथीले उजुरी गरेपछि पनि पुलिसले केस दर्ता गराउन २७ घण्टा लगायो । जब पीडित युवक र युवती उजुरी लिएर आफैं पुलिस स्टेशन पुगे त्यसपछि डिआइजी रणवीर सिंह खटडाले गल्ती स्वीकार गरे ।
डिआइजी रणवीर जब पीडित युवतीको बयान लिन जब अस्पताल पुगे पीडितले भनिन् ‘शनिबार सबथोक ठिक थियो । हामी खाना खाइसकेपछि कारमा एक चक्कर लगाउन भन्दै बाहिर निस्कियौं । बाटोमा हामीलाई लाग्यो कसैले हाम्रो पिछा गरिरहेको छ र कार रोक्न आवाज दिइरहेको छ । हामीले वास्ता गरेनौं । तर, जब उनहिरुले ढुंगा हानेर कारको सिसा फुटाइदिए त्यसपछि भने डर लाग्यो । कार रोक्नासाथ तीन जना कारभित्र पसे र मसँग अश्लील हर्कत गर्न थाले ।’ बोल्दाबोल्दै उनी रुन थालिन् । रुँदारुँदै उनले भनिन् ‘अब के गर्न आउनुभयो सर ? सबथोक त बर्बाद भइसक्यो ।’एजेन्सी






