हेटौँडामा रु. ३ करोडभन्दा बढीको पोलियो भ्याक्सिन बिग्रियो


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

हेटौँडास्थित सरकारी मेडिकल स्टोरमा ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पोलियोविरुद्धको भ्याक्सिन बिग्रिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘गाबी’को सहयोगमा नेपाल ल्याइएको ३ करोडभन्दा बढी मूल्य पर्ने उक्त भ्याक्सिन बिग्रिएको हो ।

नजिकका ९ जिल्लाका बालबालिकालाई लगाउनका लागि तयारी अवस्थामा राखिएको पोलयोविरुद्धको उक्त भ्याक्सिन आवश्यक तापक्रमभन्दा कम तापक्रममा राखेपछि खोप नै जमेर काम नगर्ने भएको हो ।

नेपालमा पोलियो उन्मूलन अन्तिम चरणमा पुगिरहेको समयमा सँगसँगै आईपीभी खोज सुरु गर्नुपर्ने थियो । तर उन्मूलनको अन्तिम समयमा आईपीभी खोप विश्वव्यापीरूपमै अभाव भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सोही खोपको सट्टामा एफआईपीभीको रूपमा सुरु गर्ने निर्णय गरेको थियो । सोही आधारमा नेपालमा एफआईपीभी खोप ल्याइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल ल्याइएको त्यही भ्याक्सिनमध्ये नजिकका ९ जिल्लामा वितरण गर्नेगरी हेटौंडास्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइएको थियो । बच्चा जन्मेको ६ हप्तामा पहिलो खोप र १४औं हप्तामा दोस्रो खोप दिनुपर्ने हुन्छ । त्यसैका लागि ९ जिल्लालाई २ महिनाका लागि पुग्ने ९ हजार भायल भ्याक्सिन हेटौंडास्थित सरकारी मेडिकल स्टोरमा पठाइएको थियो ।

हेटौँडा मेडिकल स्टोरबाट २ नम्बर प्रदेशका ६ जिल्ला र ३ नम्बर प्रदेशको सिन्धुली, चितवन र मकवानपुर गरी जम्मा ९ जिल्लाका बालबालिकालाई उक्त भ्याक्सिन लगाउन पठाइएको थियो ।

विज्ञहरूका अनुसार एफआईपीभी खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । तर उक्त भ्याक्सिनलाई आवश्यक तापक्रममा नराखी शून्य डिग्री सेल्सियस तापक्रममा राखिएको पाइएको छ । जसका कारण उक्त भ्याक्सिन जमेर गुणस्तरमा ह्रास आई कामै नलाग्ने भएको छ ।

उक्त भ्याक्सिन काठमाडौंस्थित केन्द्रीय भ्याक्सिन स्टोर टेकुबाट हेटौंडाका मेडिकल अधिकृत छविलाल पण्डितले लगी भण्डारण गरेका थिए । जमाउन नहुने एफआईपीभी खोप माइनस तापक्रम भएको भण्डारण कोठामा राख्दा ९ हजार भायल भ्याक्सिन जमेको अवस्थामा पाइएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख झलक शर्मा गौतमले बताए ।

जम्न नहुने खोप माइनस डिग्री तापक्रममा राखेर जमाएपछि सो एफआईपीभी खोप बालबालिकालाई प्रयोग गर्न मिल्दैन । प्रयोग गरे पनि खोपले काम नगर्ने स्वास्थ्य विज्ञको भनाइ छ ।

बालबालिकालाई लगाउने तयारीमा थियो उक्त भ्याक्सिन 

खोप सुरु हुने केही समय पहिला पूर्वतयारी कस्तो भइरहेको छ भन्ने बारेमा केन्द्रबाट विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसहितको टोली अनुगमन गर्न हेटौंडा पुगेको थियो । तर हेटौंडास्थित क्षेत्रीय मेडिकल स्टोरमा पुग्दा प्रयोग गर्ने तयारी गरिएको भ्याक्सिन जमेको अवस्थामा भेटिएको थियो । त्यसलगत्तै उक्त भ्याक्सिन प्रयोग नगर्न निर्देशन दिई सिलबन्दी गरी काठमाडौं फिर्ता ल्याउन लागिएको छ ।

तालिम पाए पनि लापरवाही गरे मेडिकल अधिकृत पण्डितले

२०७४/०७५ को सुरुवातमै एफआईपीभी सुरु गर्ने सरकारले निर्णय गरेको थियो । नयाँ खोप सञ्चालनका लागि नेपालको मेडिकल स्टोरदेखि भ्याक्सिनको पक्षमा काम गर्दै आइरहेका धेरै व्यक्तिलाई खोपको बारेमा तालिम दिइएको थियो । सबै मेडिकल स्टोरमा २ महिनालाई पुग्ने पोलियोविरुद्धको एफआईपीभी खोप साउनको तेस्रो हप्ता नै पठाइएको थियो ।

तर नेपालमा भ्याक्सिन तथा केही सामग्री आउन ढिला भएको कारण भदौ महिनामा नियमित खोपमार्फत सुरुवात गर्ने केन्द्रको योजनाअनुसार केन्द्रबाट गएको अनुगमन टोलीले नै हेटाँैडाको भ्याक्सिन जमेको र काम नलाग्ने अवस्थामा भेटेको हो । आफ्नै स्टोरमा रहेका भ्याक्सिनको टेम्प्रेचर मेन्टेन गर्न नजान्दा बिग्रिएपछि तत्कालका लागि विराटनगरस्थित मेडिकल स्टोरबाट भ्याक्सिन ल्याएर काम चलाइएको मेडिकल स्टोरले जनाएको छ  ।

कर्मचारीहरूलाई भ्याक्सिनका बारेमा पूर्वजानकारी गराउँदा पनि हेलचेक्र्याइँ गरेका कारण ३ करोड मूल्यभन्दा बढी पर्ने भ्याक्सिन खेर गएको अनुगमन टोलीमा सहभागीहरूले बताएका छन् ।

हेटौंडाका मेडिकल स्टोर अधिकृत छानबिनको दायरामा

हेटौँडास्थित मेडिकल स्टोरका प्रमुख रमन झाले भने एफआईपीभी भ्याक्सिनमा समस्या देखिएको स्वीकार गरे । तर प्रमाणित गर्नका लागि ल्याब टेस्ट गर्न बाँकी रहेको रातोपाटीलाई बताए । केन्द्रबाट आएको अनुगनम टोलीले भ्याक्सिन काम नलाग्ने बताएपछि तत्कालका लागि विराटनगरबाट भ्याक्सिन ल्याएर काम चलाएको प्रमुख झाले बताए । भ्याक्सिन जमेर काम नलाग्ने अवस्थामा पुगेपछि अन्तबाट भ्याक्सिन ल्याएर खोप सञ्चालन गरिएको छ ।

जिम्मेवारी लिएको कर्मचारीलाई कारवाही गर्छाैं  

यस्तै यता केन्द्रका जिम्मेवार निकाय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख झलक शर्मा गौमतले पनि हेटौँडाको मेडिकल स्टोरमा रहेको भीआईपीभी खोप बिग्रेको स्वीकारे ।

प्रमुख गौतम भन्छन्– ‘केन्द्रबाट राम्रो भ्याक्सिन सबै ठाउँको मेडिकल स्टोरलाई पठाएका थियौँ तर हेटौँडाको मेडिकल स्टोरमा राखेको भ्याक्सिन केन्द्रबाट गएको अनुगमन टोलीले जमेको भेटेको हो । त्यो समयमा हामीले अन्य ठाउँबाट ल्याएर काम चलाएका थियौँ । अब भ्याक्सिन कसरी बिग्रियो कुनकुन कर्मचारीको जिम्मेवारीमा थियो भन्ने विषयमा तथ्य सङ्कलन तथा छानविनको काम भइरहेको छ, त्यसपछि नियमअनुसार कारवाही गर्ने छौँ ।’

गौतमका अनुसार अहिले प्रमाणहरू जुटाउन मेडिकल स्टोरलाई पत्रचार गरेको र त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढ्ने छ ।

नयाँ भ्याक्सिनको बारेमा कर्मचारीलाई जानकारी नगराई यस्तो समस्या देखिएको हो भन्ने हाम्रो प्रश्नमा नयाँ एफआईपीभी भ्याक्सिनको बारेमा सम्बन्धित कर्मचारीलाई जेठ महिनामै जानकारी गराइएको बताए । तर पनि हेटाँैडाको स्टोरमा राखेको भ्याक्सिनमा कसरी समस्या देखियो भन्ने विषयमा हाल छलफलमै रहेको उनको भनाइ छ ।

नयाँ खोप सुरुवात गर्नुभन्दा केही समय अगाडि बालस्वास्थ्य महाशाखाले केन्द्र, क्षेत्र, जिल्ला र स्वास्थ्य संस्थास्तरसम्म अभिमुखीकरण तालिम तथा योजना तर्जुमा २०७५ जेठभित्र नै सम्पन्न गरेको थियो ।
कर्मचारीबाट यस्तो गैरजिम्मेवारीपनको कारण करोडौँ मूल्यको भ्याक्सिन खेरा गइरहँदा परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाले गम्भीर चासो दिनु पर्ने हो तर दिएको देखिएन ।

दातृनिकायले सहयोग गरेको भ्याक्सिनमा यस्तो समस्या देखिनु नेपालका लागि नौलो कुरा भने होइन । केन्द्रबाट भ्याक्सिन बुझाउने शारदा न्यौपाने, हेटौँडा मेडिकल स्टोरका छविलाल पण्डितलाई अहिलेसम्म कुनैलाई पनि कारवाही नगरिएको र छविलाल पण्डितलाई मात्रै स्पष्टीकरणका लागि स्वास्थ्य सेवा विभागमा बोलाइएको थियो । त्यसबाहेक अन्य कुनै पनि कारवाही नभएको बुझिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com