राष्ट्रपति ट्रम्पले विरोध गर्ने चेन माइग्रेशनबाटै ट्रम्पका सासु ससुराले पाए अमेरिकी नागरिकता


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार विरोध गर्दै आएको अमेरिकाको चेन माइग्रेशन प्रणालीबाटै ट्रम्पका सासुससुरा तथा प्रथम महिला मेलानिया ट्रम्पमा बाबुआमाले अमेरिकी नागरिकता प्राप्त गरेका छन् । मेलानिया ट्रम्पले ग्रिनकार्ड स्पोन्सर गरेपछि उनका बाबुआमाले अमेरिकाको ग्रिनकार्ड पाएका थिए भने अहिले नागरिकता नै प्राप्त गरेका छन् ।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले सन् २००१ मा अमेरिकाको ग्रिनकार्ड पाएकी थिइन् । त्यसपछि उनले सन् २००५ मा डोनाल्ड ट्रम्पसँग विहे गरेपछि सन् २००६ मा अमेरिकाको नागरिकता प्राप्त गरेकी थिइन् ।

त्यसपछि मेलानियाले आफ्ना बुबाआमाका लागि ग्रिनकार्ड स्पोन्सर गरेकी थिइन् । ग्रिनकार्ड पाएको पाँचबर्षको अवधि पुगेपछि नै उनका बुबाआमाले विधिवत रुपमा अमेरिकाको नागरिकता पाएका हुन् ।

हिजो बिहिबार प्रथम महिला मेलानियाका बाबु भिक्टोर र आमा अमालिजाले अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । अमेरिकी नागरिकताप्राप्त व्यक्तिले बाबुआमा, दिदीबहिनी, दाजुभाई लगायतका आफन्तहरुलाई ग्रिनकार्ड स्पोन्सर गर्न पाउने चेन माइग्रेशनको राष्ट्रपति ट्रम्पले भने कडा विरोध गर्दै आएका छन् । उनले यो प्रणाली हटाउन लगातार प्रयत्न समेत गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com