२४ वर्षपछि मिलन, श्रीमती नै परिन् अलमल


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

दाह्री, जुँगा र कपाल पालेका फिरन्तेझैं लाग्ने एक वृद्ध आँगनमा देखिए । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ईश्वरी ऐर अलमलमा परिन् ।

नजिकै पुगेपछि एकटक भएर हेरिन् । केहीबेर गहिरिएर हेरेपछि बल्ल चिनिन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

ती वृद्ध त २४ वर्षदेखि बेपत्ता भएका श्रीमान् गणेशबहादुर ऐर रहेछन् । वर्षौंपछिको मिलनमा हर्षका आँसु थामिएनन् । दुवैजना अँगालो हालेर रुन थाले । एकातिर बिछोडिएका श्रीमान्–श्रीमतीको मिलन त, अर्काेतिर युवा अवस्थामा विदेशिएका श्रीमान् वृद्ध भएर चिन्नै हम्मेहम्मे परेपछि दुवैलाई रुवायो ।

‘दाह्री, जुँगा र लामा रौं पालेकाले चिन्नै सकिनँ,’ ईश्वरीले भनिन्, ‘बल्लबल्ल आँखाले चिनें ।’ २०५१ मा कामको खोजीमा भारत गएका गणेश सम्पर्कविहीन थिए । परिवारले सोधीखोजी नगरेको होइन । तर कहीँ पनि खबर नपाइएपछि श्रीमती ईश्वरीले दुई/तीन पटक त किरिया गर्नेसम्मको तयारी गरेकी थिइन् । गाउँलेले अहिल्यै त्यसो नगर्न भनेपछि रोकिइन् । ‘हामीले त उहाँ घर फर्किनुहुन्छ भन्ने आस मारिसकेका थियौं,’ जेठा छोरा शेरबहादुरले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पञ्जाबको अमृतसर सहरमा गाउँलेले देखेपछि उनी त्यहाँ भएको खबर परिवारले पायो । त्यसपछि जेठो छोरा शेरबहादुरले नै उनलाई पञ्जाबबाट ल्याए । घर ल्याउँदा बाटोबाटै बाजागाजासहित काँधमा चढाएर स्वागत गरिएको थियो । उनी अरूभन्दा अलि अगाडि घर पुगेका थिए । आँगनमा पुग्दा श्रीमान्–श्रीमतीले एकअर्कालाई चिन्न सकेनन् ।

‘उहाँ घर आएको साँझ विवाहको दिनजस्तै नाचगान गर्‍यौं,’ गणेशकी कान्छी श्रीमती नन्दादेवीले भनिन्, ‘गाउँले सबै बोलाएर खानपिन पनि भयो ।’ गणेश घरबाट हिँड्दा नन्दादेवीबाट जन्मिएका छोरा हरि अढाई वर्षका थिए । अहिले हरि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । बुवा घर पुगेको थाहा पाएपछि उनी पनि निकै खुसी छन् ।

बाबुछोराको फोनमा कुरा पनि भयो । नन्दाको माइती भारत उत्तराखण्डको गढवालतिर हो । उनीसँग विवाह भएको पनि थोरै समय भएको थियो । जेठ २१ गते गणेश आएपछि घरमा मात्रै नभई गाउँभरि खुसी छाएको छ । भेट्न आउनेको भीड हुने गरेको शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेश ऐरले बताए ।

कहाँं हराएका थिए गणेश ?

२०/२२ वर्षकै उमेरदेखि नै काम खोज्न भारत जान थालेका थिए गणेश । सुरुदेखि नै पञ्जाब क्षेत्रका अमृतसर, लुधियानालगायत सहरमा उनी मजदुरी गर्थे । भारत पसेदेखि २/४ महिना काम गरेर घर फर्किने र केही दिन घर बसेर फेरि काममा फर्कने क्रम चलिरहेको थियो ।

२०५१ साल मंसिरको महिना थियो । उनले घरबाट जाँदा आफ्नै मालिकका लागि केही जोर कपडा, एक थान चाइनिज क्यामेरा र रिल किनेर लगेका थिए । गणेशका अनुसार त्यतिबेला पञ्जाबमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । पाकिस्तानीहरू आउने भएकाले चेकजाँच निकै कडा पारिएको थियो ।

अमृतसर पुग्दा उनको झोला पनि सुरक्षाकर्मीले खोलेर हेर्न थाले । झोलामा क्यामेरा, रिल र नयाँ कपडा देखेपछि प्रहरीले उनलाई सोधपुछ गरे । त्यसपछि उनीसँग सामानको बिल मागियो । तर उनले बिल दिन नसक्दा विदेशी सामान बोक्ने भन्दै गणेशलाई लगेर थानामा राखे । उनका मालिकले पनि उक्त घटनामा सहयोग गरेनन् ।

एक/दुई दिन थानामै राखेर फेरि अमृतसरमा रहेको केन्द्रीय कारागार पुर्‍याइयो । उनले करिब २३ वर्ष त्यही जेलमा बिताए । उनका अनुसार उक्त जेलमा अझै पनि ३० जना नेपालीहरू छन् । गणेश घरबाट जाने बेला आमा द्रौपदी सिकिस्त बिरामी थिइन् । आमाले उनलाई नजान पनि भनेको कान्छी श्रीमती नन्दादेवीले बताइन् । ‘सासू सिकिस्त बिरामी हुनुहुन्थ्यो, आमासँग दुई/चार दिनमै फर्किन्छु भनेर गएका हुन्,’ उनले भनिन्, ‘सासू पनि छोराको बाटो हेर्दै बितिन्, हामी पनि बढा भइसक्यौं ।’

६ महिनाअघि मात्रै जेलबाट छुटेको गणेशले बताए । त्यसपछि रित्तो हात कसरी घर जाने भनेर काम खोज्दै यताउता डुल्न थाले । केही कमाएर घर जाउँला भने पनि राम्रो काम नपाएर पञ्जाबमै भौंतारिएका थिए । त्यही बेला उनकै गाउँलेले देखेपछि घरसम्म खबर पुगेको हो । लामो समय जेलमा बस्दा उनको मानसिक अवस्थासमेत ठीक छैन । अहिले उनी राम्ररी नेपाली र डोटेली भाषा बोल्न सक्दैनन् । घरपरिवारमा पनि उनी एक्लै बस्न रुचाइरहेका छन् । अब भने भारत नजाने सोच बनाएको उनी बताउँछन् ।

ऐर परिवार २०२२ मा डडेलधुराबाट यहाँ बसाइँ सरेको हो । ऐलानी फाँडेर शुक्लाफाँटाको सिसैयामा बसोबास गरेको उनको परिवारसँग अहिले १५ कट्ठा जमिन छ । उक्त जमिन अहिले पनि ऐलानी नै छ । सानैमा श्रीमान् बेपत्ता भएपछि बालबालिका हुर्काउन निकै समस्या भएको गणेशकी कान्छी श्रीमती नन्दादेवी बताउँछिन् । गाउँमा मजदुरी गरेर दुई छोरा र एक छोरीलाई पढाइन् । अहिले तीनै जनाको विवाहसमेत भइसकेको छ । सबैका नातिनातिना छन् । बुढेसकालमा भए पनि श्रीमान्सँग भेट हुँदा दुवैजना निकै खुसी छन् ।

भारतको कारागारमा जेल जीवन बिताएर लामो समयपछि घर फर्किने गणेश एक्ला होइनन् । डोटीको भूमिराजमान्डौका कृष्णराज जोशी पनि गत वर्ष यसरी नै घर फर्किएका थिए । उनी ७ वर्षपछि सम्पर्कमा आएका हुन् । उनी पनि दिल्लीमा एक ट्रयाक्टर सोरुममा कामदारको खाना पकाउँथे । कामदारबीच झगडा हुँदा एकजनाको मृत्युपछि उनलाई जेल सजाय तोकिएको थियो । ६ वर्षपछि जेलबाट छुटेर उनी गत वर्ष घर फर्किएका हुन् । केही समय घरमै बसेर उनी फेरि भारततिरै पसेका छन् ।

२ वर्षअघि पारिश्रमिक र सेवा सुविधाको विषयमा भएको आन्दोलनका क्रममा भारतको सिमलामा ४८ नेपालीहरू पक्राउ परे । उनीहरूलाई विभिन्न किसिमका मुद्दा लगाएर जेल पठाइयो । आप्रवासनका क्षेत्रमा काम गरिरहेका नेपाली र भारतीय संघसंस्थाको पहलमा एक वर्षपछि उनीहरू तारेखमा रिहा भएका छन् । ४८ जनामध्ये अधिकांश कञ्चनपुर र बैतडीका छन् । अहिले पनि भारतमा बेपत्ता रहेका नेपालीको संख्या ठूलो रहेको र तीमध्ये अधिकांश जेल परेको हुन सक्ने अनुमान गरिएको छ । गैरसरकारी संस्था निड्स नेपालले गरेको एक अध्ययनअनुसार डोटी र कञ्चनपुरमा मात्रै १ सय ६४ जना बेपत्ता छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com