२४ वर्षपछि मिलन, श्रीमती नै परिन् अलमल


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

दाह्री, जुँगा र कपाल पालेका फिरन्तेझैं लाग्ने एक वृद्ध आँगनमा देखिए । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ईश्वरी ऐर अलमलमा परिन् ।

नजिकै पुगेपछि एकटक भएर हेरिन् । केहीबेर गहिरिएर हेरेपछि बल्ल चिनिन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

ती वृद्ध त २४ वर्षदेखि बेपत्ता भएका श्रीमान् गणेशबहादुर ऐर रहेछन् । वर्षौंपछिको मिलनमा हर्षका आँसु थामिएनन् । दुवैजना अँगालो हालेर रुन थाले । एकातिर बिछोडिएका श्रीमान्–श्रीमतीको मिलन त, अर्काेतिर युवा अवस्थामा विदेशिएका श्रीमान् वृद्ध भएर चिन्नै हम्मेहम्मे परेपछि दुवैलाई रुवायो ।

‘दाह्री, जुँगा र लामा रौं पालेकाले चिन्नै सकिनँ,’ ईश्वरीले भनिन्, ‘बल्लबल्ल आँखाले चिनें ।’ २०५१ मा कामको खोजीमा भारत गएका गणेश सम्पर्कविहीन थिए । परिवारले सोधीखोजी नगरेको होइन । तर कहीँ पनि खबर नपाइएपछि श्रीमती ईश्वरीले दुई/तीन पटक त किरिया गर्नेसम्मको तयारी गरेकी थिइन् । गाउँलेले अहिल्यै त्यसो नगर्न भनेपछि रोकिइन् । ‘हामीले त उहाँ घर फर्किनुहुन्छ भन्ने आस मारिसकेका थियौं,’ जेठा छोरा शेरबहादुरले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पञ्जाबको अमृतसर सहरमा गाउँलेले देखेपछि उनी त्यहाँ भएको खबर परिवारले पायो । त्यसपछि जेठो छोरा शेरबहादुरले नै उनलाई पञ्जाबबाट ल्याए । घर ल्याउँदा बाटोबाटै बाजागाजासहित काँधमा चढाएर स्वागत गरिएको थियो । उनी अरूभन्दा अलि अगाडि घर पुगेका थिए । आँगनमा पुग्दा श्रीमान्–श्रीमतीले एकअर्कालाई चिन्न सकेनन् ।

‘उहाँ घर आएको साँझ विवाहको दिनजस्तै नाचगान गर्‍यौं,’ गणेशकी कान्छी श्रीमती नन्दादेवीले भनिन्, ‘गाउँले सबै बोलाएर खानपिन पनि भयो ।’ गणेश घरबाट हिँड्दा नन्दादेवीबाट जन्मिएका छोरा हरि अढाई वर्षका थिए । अहिले हरि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । बुवा घर पुगेको थाहा पाएपछि उनी पनि निकै खुसी छन् ।

बाबुछोराको फोनमा कुरा पनि भयो । नन्दाको माइती भारत उत्तराखण्डको गढवालतिर हो । उनीसँग विवाह भएको पनि थोरै समय भएको थियो । जेठ २१ गते गणेश आएपछि घरमा मात्रै नभई गाउँभरि खुसी छाएको छ । भेट्न आउनेको भीड हुने गरेको शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेश ऐरले बताए ।

कहाँं हराएका थिए गणेश ?

२०/२२ वर्षकै उमेरदेखि नै काम खोज्न भारत जान थालेका थिए गणेश । सुरुदेखि नै पञ्जाब क्षेत्रका अमृतसर, लुधियानालगायत सहरमा उनी मजदुरी गर्थे । भारत पसेदेखि २/४ महिना काम गरेर घर फर्किने र केही दिन घर बसेर फेरि काममा फर्कने क्रम चलिरहेको थियो ।

२०५१ साल मंसिरको महिना थियो । उनले घरबाट जाँदा आफ्नै मालिकका लागि केही जोर कपडा, एक थान चाइनिज क्यामेरा र रिल किनेर लगेका थिए । गणेशका अनुसार त्यतिबेला पञ्जाबमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । पाकिस्तानीहरू आउने भएकाले चेकजाँच निकै कडा पारिएको थियो ।

अमृतसर पुग्दा उनको झोला पनि सुरक्षाकर्मीले खोलेर हेर्न थाले । झोलामा क्यामेरा, रिल र नयाँ कपडा देखेपछि प्रहरीले उनलाई सोधपुछ गरे । त्यसपछि उनीसँग सामानको बिल मागियो । तर उनले बिल दिन नसक्दा विदेशी सामान बोक्ने भन्दै गणेशलाई लगेर थानामा राखे । उनका मालिकले पनि उक्त घटनामा सहयोग गरेनन् ।

एक/दुई दिन थानामै राखेर फेरि अमृतसरमा रहेको केन्द्रीय कारागार पुर्‍याइयो । उनले करिब २३ वर्ष त्यही जेलमा बिताए । उनका अनुसार उक्त जेलमा अझै पनि ३० जना नेपालीहरू छन् । गणेश घरबाट जाने बेला आमा द्रौपदी सिकिस्त बिरामी थिइन् । आमाले उनलाई नजान पनि भनेको कान्छी श्रीमती नन्दादेवीले बताइन् । ‘सासू सिकिस्त बिरामी हुनुहुन्थ्यो, आमासँग दुई/चार दिनमै फर्किन्छु भनेर गएका हुन्,’ उनले भनिन्, ‘सासू पनि छोराको बाटो हेर्दै बितिन्, हामी पनि बढा भइसक्यौं ।’

६ महिनाअघि मात्रै जेलबाट छुटेको गणेशले बताए । त्यसपछि रित्तो हात कसरी घर जाने भनेर काम खोज्दै यताउता डुल्न थाले । केही कमाएर घर जाउँला भने पनि राम्रो काम नपाएर पञ्जाबमै भौंतारिएका थिए । त्यही बेला उनकै गाउँलेले देखेपछि घरसम्म खबर पुगेको हो । लामो समय जेलमा बस्दा उनको मानसिक अवस्थासमेत ठीक छैन । अहिले उनी राम्ररी नेपाली र डोटेली भाषा बोल्न सक्दैनन् । घरपरिवारमा पनि उनी एक्लै बस्न रुचाइरहेका छन् । अब भने भारत नजाने सोच बनाएको उनी बताउँछन् ।

ऐर परिवार २०२२ मा डडेलधुराबाट यहाँ बसाइँ सरेको हो । ऐलानी फाँडेर शुक्लाफाँटाको सिसैयामा बसोबास गरेको उनको परिवारसँग अहिले १५ कट्ठा जमिन छ । उक्त जमिन अहिले पनि ऐलानी नै छ । सानैमा श्रीमान् बेपत्ता भएपछि बालबालिका हुर्काउन निकै समस्या भएको गणेशकी कान्छी श्रीमती नन्दादेवी बताउँछिन् । गाउँमा मजदुरी गरेर दुई छोरा र एक छोरीलाई पढाइन् । अहिले तीनै जनाको विवाहसमेत भइसकेको छ । सबैका नातिनातिना छन् । बुढेसकालमा भए पनि श्रीमान्सँग भेट हुँदा दुवैजना निकै खुसी छन् ।

भारतको कारागारमा जेल जीवन बिताएर लामो समयपछि घर फर्किने गणेश एक्ला होइनन् । डोटीको भूमिराजमान्डौका कृष्णराज जोशी पनि गत वर्ष यसरी नै घर फर्किएका थिए । उनी ७ वर्षपछि सम्पर्कमा आएका हुन् । उनी पनि दिल्लीमा एक ट्रयाक्टर सोरुममा कामदारको खाना पकाउँथे । कामदारबीच झगडा हुँदा एकजनाको मृत्युपछि उनलाई जेल सजाय तोकिएको थियो । ६ वर्षपछि जेलबाट छुटेर उनी गत वर्ष घर फर्किएका हुन् । केही समय घरमै बसेर उनी फेरि भारततिरै पसेका छन् ।

२ वर्षअघि पारिश्रमिक र सेवा सुविधाको विषयमा भएको आन्दोलनका क्रममा भारतको सिमलामा ४८ नेपालीहरू पक्राउ परे । उनीहरूलाई विभिन्न किसिमका मुद्दा लगाएर जेल पठाइयो । आप्रवासनका क्षेत्रमा काम गरिरहेका नेपाली र भारतीय संघसंस्थाको पहलमा एक वर्षपछि उनीहरू तारेखमा रिहा भएका छन् । ४८ जनामध्ये अधिकांश कञ्चनपुर र बैतडीका छन् । अहिले पनि भारतमा बेपत्ता रहेका नेपालीको संख्या ठूलो रहेको र तीमध्ये अधिकांश जेल परेको हुन सक्ने अनुमान गरिएको छ । गैरसरकारी संस्था निड्स नेपालले गरेको एक अध्ययनअनुसार डोटी र कञ्चनपुरमा मात्रै १ सय ६४ जना बेपत्ता छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com