किमसँग वार्ता गर्न तयारी आवश्यक छैनः ट्रम्प, सिंगापुरका विदेशमन्त्री कोरिया पुगे


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को साता सिंगापुरमा हुने वार्ताका लागि आफूले धेरै तयारी नगर्ने बताएका छन् ।

जापानी प्रधानमन्त्रीलाई सिन्जो आवेसँग आफ्नो ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्पले किमसँग हुने भनिएको बहुप्रतिक्षित वार्ताका बारेमा आफूलाई तयारी आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

‘म अहिले पनि राम्रोसँग तयार छु र मलाई लाग्छ मैले किमसँग वार्ताका लागि त्यस्तो तयारी गर्नुपर्दैन’ ट्रम्पको भनाइ उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यो आफ्नो दृष्टिकोणको कुरा हो र काम सम्पन्न गर्ने इच्छाशक्तिको कुरा हो ।’

ट्रम्पले आफू यसका लागि धेरै अगाडिदेखि तयार रहेको र उत्तर कोरियाले पनि धेरै अगाडिदेखि तयारी गरेको हुनसक्ने भएकाले तयारी कस्तो छ भन्ने सवाल नै नउठ्ने जापानी प्रधानमन्त्रीसँग बताएका छन् । ‘उनीहरुले निशस्त्रीकरण गर्नुपर्छ’ ट्रम्पले भने, ‘हामीले अहिल्यै प्रतिवन्ध फुकुवा गर्न भने सक्दैनौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिंगापुरको भेटवार्ता कति दिन चल्छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले परिस्थिति हेरेर एकदिनदेखि तीन दिनसम्म वार्ता चल्न सक्ने बताए ।

सिंगापुरका विदेश मन्त्री उत्तर कोरियामा

यसैवीच बहुप्रतिक्षित ट्रम्प किम वार्ताको तयारीका लागि सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णन बिहीबार नै उत्तर कोरिया प्रस्थान गरेका छन् ।

उत्तर कोरियाली विदेश मन्त्री रि योङ-हो को निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा क्रममा विदेशमन्त्री बालाकृष्णन विदेश मन्त्रालयका उच्च अधिकारीसहित प्योङयाङ पुगेका हुन् ।

उनले त्यहाँ उत्तर कोरियाका सेरेमोनियल राष्ट्रपति किम योङ नामसँग भेटवार्ता गर्ने पनि सिंगापुरको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उधृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com