मेस्सीलाई प्यालेस्टाइनी बालबालिकाले खेल रद्द गर्न अनुरोध गर्दै लेखे भावुक पत्र


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

नौ जूनमा अर्जेन्टिनाको फुटबल टोली इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल मैत्रीपूर्ण र विश्वकपको तयारीको लागि त हो नै अर्जेन्टिनाका मानिसहरु यसलाई ‘लक्की खेल’को रुपमा हेरिरहेका छन् ।

‘लक्की खेल’ मान्नुको कारण अर्जेन्टिनाले सन् १९८६ मा पनि इजरायल विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यो वर्ष ऊ विश्वकप विजेता बनेको थियो ।

जुन १४ मा रुसमा विश्वकप खेल शुरु हुँदैछ । उक्त प्रतियोगितामा जानु अघि अर्जेन्टिना इजरायलविरुद्ध मैदानमा आमने सामने हुँदैछ ।

अर्जेन्टिनाका मानिसहरुको लागि राम्रो अनुभूति लिएर आएको यो खेलले प्यालेस्टाइनी नागरिकहरुको भने पुरानो घाउ ताजा बनाइदिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

७० जना प्यालेस्टाइनी बालबालिकाहरुको एक समूहले अर्जेन्टिनाका प्रमुख खेलाडी लियोनेल मेस्सीलाई एक चिठ्ठी लेख्दै यस खेलमा रद्द गर्न आह्वान गरेका छन् ।

यो खेल टेडी कोलेक रङ्गशालामा खेलिने निर्धारण गरिएको छ । यो रङ्गशाला दक्षिणी जेरुशेलमको मलहामा रहेको छ ।

प्यालेस्टाइनी असन्तुष्टीको कारण

७० वर्षअघि भएको इजरायल–प्यालेस्टाइनी युद्धको दौरान मलहा नष्ट गरिएको थियो । सन् १९४८ मा यहाँ बस्ने प्यालेस्टाइनीहरुलाई इजरायली सेनाले यहाँबाट लखेटेका थिए ।

यहाँबाट विस्थापित भएका परिवारका बालबालिकाहरुले लेखेको एक पत्र आइतबार इजरायलमा रहेको अर्जेन्टिनी दुतावास पठाइयो । त्यस पत्रमा प्यालेस्टाइनी बालबालिकाहरुले आफूहरु त्यस स्थानबाट विस्थापित भएका मानिसहरुको सन्तान भएको दावी गरेका छन् । त्यही स्थानमा हाल रङ्गशाला रहेको छ ।

उनीहरुले लेखेका छन्, “हामीहरुलाई बताइए अनुसार तपाईं आफ्नो साथीहरुसँग मलहा आउनु भएको छ, र, तपाईं त्यो रङ्गशालामा खेल्दै हुनुहुन्छ जहाँ हाम्रो गाउँ नष्ट गरिएको थियो ।” बालबालिकाहरुले मेस्सी त्यहाँ आउदा खुसी लागेको तर कुनै समय आफ्नो घर भएको स्थानमा खेल्ने कुराले दुःखी भएको पनि लेखेका छन् ।

सन् १९८६ मा भएको मैत्रीपूर्ण खेल भने रमत गनमा खेलिएको थियो ।

 

‘मेस्सीले हाम्रो मन दुखाउँदैनन्’

पत्रमा लेखिएको छ, “तर हाम्रो खुशी आँशुमा बदलिएको छ र हाम्रो मन दुखेको छ । हाम्रो नायक मेस्सी हाम्रो पूर्वजहरुको चिहानमा बनेको त्यो रङ्गशालामा खेल्न लाग्नु कति उपयुक्त हो ।”

नौ जूनको दिन अर्जेन्टिना र इजरायल मलाहाको रङ्गशालामा एक आपसमा खेलिरहदाँ यी बच्चाहरुको लागि त्यो दिन ‘दुखद दिन’ हुनेछ ।पत्रको अन्तमा बच्चाहरुले लेखेका छन् “मेस्सीले हाम्रो मन नदुखाउन भनेर आफ्ना साथीहरको तर्फबाट हामी भगवानलाई प्रार्थना गर्छौँ ।”

मेस्सीले हालसम्म सार्वजनिक रुपमा पत्रको कुनै हिसाबले पनि प्रतिक्रिया दिएका छैनन् ।

विरोधमा मेस्सीको टी–शर्ट जलाउन अपिल 

दुवै समूहबीचमा खेल त्यो समयमा हुन लागेको छ जब पछिल्लो केही हप्तादेखि प्यालेस्टाइनी र इजरायली सेनाबीचमा झडप बढेको छ ।

 

प्यालेष्टाइनी फुटबल महासंघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेख्दै हुन लागेको यस खेलको विरोध गरेका थिए । उनले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई पत्र लेखेका छन् ।

उनले भनेका छन्, “यो खेललाई राजनैतिक औजारको रुपमा प्रयोग गरिँदै छ । इजरायलको सरकार जेरुशेलममा यो खेल आयोजना गरेर राजनैतिक सन्देश दिन चाहन्छ ।”

उनले अरब र मुस्लिम देशहरुका रहेका करोडौँ प्रशंसकहरुलाई मेस्सीको टी–शर्ट जलाउन अपिल पनि गरेका थिए । इजरायलको खेलकुद मन्त्रायलले यस विरोधको बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com