मादलको माग बढ्यो, व्यवसायीलाई भ्याइनभ्याई


प्रकाशित मिति : १२ कार्तिक २०७३, शुक्रबार

दीननाथ बराल

मादल व्यवसायीहरूलाई यति बेला मादल बनाउन र मादल मर्मत गर्न भ्याइनभ्याई छ । तिहारमा देउसी–भैलोसहित नाच्न गाउन प्रयोग हुने मादलको माग बढेसँगै व्यवसायी यति बेला मादल बनाउन र मर्मत गर्न व्यस्त छन् ।

पोखरा तेर्सापट्टी क्षेत्रमा मादल व्यवसायीहरूले विभिन्न मूल्यका साना ठूला मादल बिक्रीका लागि राखेका छन् भने पुराना मादल मर्मत पनि गरिरहेका छन् । पोखरा क्षेत्रमा आधादर्जनजसो मादल व्यवसायी रहेको मादल व्यवसायी यमजी राजपालले बताए ।

१४ वर्षदेखि मादल व्यवसायीमा लागेका उनी यस पेसाबाट सन्तुष्ट भने छैनन् । “हाम्रो पेसा संकटमा पर्दैछ, खै कसले यसको बारेमा सोचेको छ,” उनले भने, “सरकारले कर मात्र उठाउन जानेको छ, नेपाली संस्कृतिको पहिचान मादलको दिगो संरक्षणका लागि पहल आवश्यक छ ।”

तिहार पर्वको अवसरदेखि हिउँदको करिब ३ महिनामात्र मादलको सिजन भएकाले यस सिजनमा भएको कारोबारले वर्ष दिनलाई धान्न आफूहरूलाई निकै कठिन हुने गरेको उनले गुनासो गरे ।

पोखराका सबैभन्दा पुरानो मादल पसल अनु मादल स्टोर्सका सञ्चालक विष्णुराम राजपालले कच्चा पदार्थ अभावका कारण आफूहरूको पेसा संकटमा पर्न थालेको बताए ।

एक वर्षमा मुस्किलले एक सयवटा मादल बनाउने गरेको बताएका उनले मादलमा प्रयोग हुने गोरु–गाईको छाला आफूहरूले सहज ढंगले पाउन नसकेको बताए ।

राजपालले मादलसहित डम्मरु, खैजरीलगायतका परम्परागत बाजा पनि बनाउँदै आएका छन् भने साथै भारतबाट आयात गरिएको झ्याली खैजरीसमेत बिक्री गर्दै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा तेर्सापट्टि क्षेत्रका अर्का मादल व्यवसायी दिपक कुलुले एक वर्षदेखि धादिङमा मादलसहितका बाजागाजा निर्माणगरी पोखराबाट बिक्री गर्दै आएका छन् ।धादिङमा बाबु बाबुलालले बनाएका मादलहरू पोखरामा लोकबाजा सप्लायर्स पसलबाट बिक्री गर्छन् । उनले भने, “मादल व्यवसाय राम्रो होला भनेर हात हालियो एक वर्ष भयो खासै व्यापार छैन, यही अवस्था हो भने पेसा परिर्वतन गर्नुपर्ला जस्तो छ ।”

पश्चिमी संस्कृतिले गर्दा नेपाली बाजागाजाको संस्कृति लोप हुँदै गएको उनले चिन्क्ता व्यक्त गरे । स्याङजा वालिङबाट पोखरामा मादल किन्न आएका खेमबहादुर रानाले आमा समूह र कुनै समाजहरूका लागि प्रायःमादल प्रयाग हुने गरेको बताए ।

परम्परागत रूपमा देउसी–भैलो कार्यक्रमका लागि भनेर प्रायः न्यून संख्यामा मात्र मादल प्रयोग हुने गरेको उनले बताए । पर्वतका सूर्यप्रसाद शर्मा भने देउसी–भैलो कार्यक्रमकै लागि भनेर पोखरामा मादल किन्न आएको बताए ।

उनले भने, “मादलको धुनमा गीत गाउँदा र बजायर नाच्दाको मज्जा छुट्टै हुन्छ, त्यही भयर हामीले त तिहारमा मादल मात्र होइन, मुरली, बाँसुरी, मुजुरालगायतका बाजागाजा प्रयोग गर्ने गरेका छौं ।”

मादलको मूल्य एक हजार ५ सयदेखि पाँच हजारसम्म पर्छ । मर्मत गर्दा खरी हालेको ५ सयदेखि अन्य मर्मत गरेको एक हजारसम्म लिने गर्छन् ।

madal

स्रोत: कारोबार दैनिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com