नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १० युवती विमानस्थलमा पक्राउ


प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार

 

फागुन ६ , काठमाडौं–नक्कली भीसा प्रयोग गरी कुवेत जान खोज्ने १० युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। मानव तस्करीको आशंकामा उनीहरुलाई पक्राउ गरी अध्यागमन विभागले कारबाही अघि बढाएको छ।

फागुन १ गते राति फ्लाई दुबईको एयरलाइलन्स मार्फत दुबई हुँदै कुवेत जान लागेकाहरु पक्राउ परेका हुन्। उनीहरुको श्रम स्वीकृतिअनुसारको भीसा नभएपछि उनीहरुलाई पक्राउ गरिएको अध्यागमन कार्यालय विमानस्थका प्रमुख होमनाथ थपलियाले बताए।

पक्राउ पर्नेहरुमा कपिलवस्तुकी शान्ता सुनुवार, चितवनकी कुमारी स्याङ्तान, रोल्पाकी हस्तकुमारी पुन, सिन्धुलीकी जानुकाकुमारी स्याङ्तान, मकवानपुरकी फूलमाया ब्लोन, मोरङकी पवित्रा विक, मकवानपुरकी हरिमाया मोक्तान, उदयपुरकी नानु सार्की, रसुवाकी टीकामाया तामाङ र सिन्धुपाल्चोककी विष्णुमाया लामा छन्।

उनीहरुलाई अध्यागमन विभागमा थुनामा राखी कारबाही अघि बढाइएको छ।

उनीहरुबाट एउटा नक्कली र अर्को सक्कली भीसा फेला परेको थियो। दलालहरुले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई बेच्न लैजान खोजेको हुनसक्ने अध्यागमनको आशंका छ। नक्कली भीसा भेटिएकाले उनीहरुमाथि कारबाही गर्न लागेको हो।

ओमानबाट तीन जना फर्काइए

भारतको बाटो हुँदै ओमान पुगेका तीन युवती आइतबार फर्किएका छन्। दलालको पछि लागेर ओमान पुगेका उनीहरु त्यहाँ अलपत्र परेका थिए। अलपत्र परेपछि उनीहरुलाई त्यहाँको दूतावासले नेपाल फकाईदिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com