कर्णाली राजमार्गको विकल्पमा सुर्खेत–दैलेख–जुम्ला राजमार्ग बनाउने तयारी
प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार
माघ २६, कालीकोट । कर्णाली राजमार्गको विकल्पमा सुर्खेत–दैलेख–जुम्ला राजमार्ग बनाउने तयारीमा यहाँका सांसदहरू लागेका छन्। कर्णाली राजमार्गको विकल्पमा अर्को जुम्ला पुग्ने छोटो राजमार्गको खोजी हुन थालेको हो। पछिल्लो समय स्थानीय तह र जनप्रतिनिधिको प्राथमिकतामा सुर्खेत, दैलेख र जुम्लाको सडक पर्न थालेका छन्। कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत–कालीकोटदेखि जुम्लासम्म २३६ किलोमिटर यात्रा गरिरहेका छन्। साना सवारीले एक दिनमै गन्तव्यमा पुर्याउँदै आएका छन् भने ठूला सवारीमा २ दिन लाग्ने गरेको छ। लामो दूरी र निकै डरलाग्दो भूगोलका कारण यात्रा गर्न असहज हुने गरेको गोठीचौर गाउँपालिकाका रुद्रबहादुर बुढाले बताए। ‘भीरैभीरको बाटो दुर्घटनाको खतरा मोल्दै यात्रा गर्दासमेत समयमै घरसम्म पुग्न नपाउने अवस्था छ’, उनले भने, ‘सुर्खेत, दैलेख हुँदै जुम्ला पुग्ने सडक निर्माण सम्पन्न भएमा एकै दिनमा जुम्ला र मुगुसम्म यात्रा गर्न सकिने अवस्था छ।’ यस्तो हुनेछ सुर्खेत–दैलेख–जुम्ला सडक सुर्खेतबाट दैलेखको महावु गाउँपालिकाका हुँदै कालीकोटको महावै गाउँपालिकाको डिल्लीको हँुदै तिलागुफा नगरपालिकाको भैँसेगौँडामा यो सडक जोडिने भएको छ। दैलेखको महावु गाउँपालिकाबाट सुर्खेत–दैलेख–जुम्ला सडकखण्ड दैलेखको सिमाना काटेर कालीकोटको सिमानामा पुगेको छ। अबको १ वर्षमा कर्णाली राजमार्गको भैँसेगौँडामा जोड्ने तयारी भएको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए। ‘अबको १ वर्षभित्रै कालीकोटको भैँसेगौँडामा सुर्खेत–दैलेख–जुम्ला सडक जोड्ने तयारी छ’, उनले भने, ‘अहिले काम धमाधम भइरहेको छ।’ विगत १७ वर्षदेखि दैलेखबाट यो सडक निर्माण कार्य सुरु गरिएको भए पनि कडा चट्टानका कारण निर्माण हुन सकेको थिएन। गत आर्थिक वर्षमा ग्रामीण पहुँच तेस्रो कार्यक्रमले २ करोड २६ लाख रुपैयाँको लागतमा यो सडक कालीकोटको सिमानामा पुर्याएको हो। हाल यो सडकखण्डको कालीकोटको महावै गाउँपालिकाको महावुदेखि चिल्खायसम्मको २५ किलोमिटर निर्माण भइरहेको महावै गाउँपालिका अध्यक्ष सिंहले बताए। ‘कर्णाली राजमार्गबाट चिल्खायामासम्म यातायातका साधन चल्ने गरेका छन्’, उनले भने, ‘बाँकी सडकखण्ड धमाधाम निर्माण भइरहेको छ।’ सुर्खेतबाट जुम्ला पुग्न ६० किलोमिटर छोटो पर्ने दैलेख हुँदै आएको सडक कर्णाली राजमार्गभन्दा झन्डै ६० किलोमिटर छोटो पर्ने कालीकोटका पूर्व सभासद् तुलाराज विष्टले बताए। ‘यो सडक बनेको खण्डमा समयमै गन्तव्यमा पुग्न सहज हुने भएको छ’, उनले भने, ‘यो सडक निर्माण भएमा कर्णाली राजमार्ग ६० किलोमिटर छोटो हुनेछ।’