सासुले बुहारीको मुखमा अगुल्टो कोच्याएपछि
प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार
माघ १२, दैलेख । जिल्लाको गुराँस गाउँपालिका–६ पिलाडी गाउँमा घरायसी कुरामा विवाद हुँदा सासुले बुहारीको मुखमा आगोको अगुल्टो कोच्याइदिएकी छिन् ।
एक वर्ष अघि विवाह गरेकी १९ वर्षीया शान्ति बस्नेतलाई उहाँकी सासु ३८ वर्षीया सुशीला बस्नेतले घरायसी कुरामा विवाद भइरहेको बेला ‘बुहारी भएर पनि प्रतिवाद गरेकी’ भन्दै माघ ६ गते साँझ घरकै चुल्होमा आगो बल्दै गरेको अगुल्टो मुखमा कोच्याएको पीडित शान्तिले बताइन् ।
विवाह भए लगतै बालविवाहको मुद्दा लाग्छ भन्ने सुनेर शान्तिको श्रीमान् २१ वर्षीय रोशन बस्नेत शान्तिलाई घरमै छोडेर भारत गएका र ११ दिन अघि मात्र घर आएपछि विवाद भएको बताइएको छ । रोशनले ‘बालविवाह लाग्छ भनेर बाहना मात्र बनाएको हुँ, तँ पोइल गइसक्नु पर्ने किन बसेको ?’ भन्दै कुटपिट गरेको घटनापछि सासुले यस्तो दुव्र्यवहार गरेकी हुन् ।
‘घरमै बस्नु भनेर गएकाले माइतीसमेत नगएर घरकै खेतीधन्दा सघाएँ, अहिले जा भनेर किन जानू ? काहीँ जान्न भनेर श्रीमान्सँग प्रतिवाद गरेर सासुलाई छोरालाई सम्झाउनुस्’ भन्दा उल्टै सासुले चुल्होमा बल्दै गरेको अगुल्टो झोसेको शान्तिले बताइन् ।
यस घटनाबारे आरोपित पक्षलाई झिकाई कारवाही गरिदिन शान्तिले जिल्ला प्रहरी कार्यालय दैलेखमा शुक्रबार उजूरी दिएकी छन् ।