हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ ।

ताइज शहरको उत्तर पूर्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी विद्रोहीलक्षित यो हवाई कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ । सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाई कारबाहीको जानकारी दिएको छ ।

गत मङ्गलबार भएको हवाई कारबाहीमा पनि ११ विद्रोहीको मृत्यु हुनुका साथै अन्य १६ जना सर्वसाधारण घाइते भएको साउदी अरेबियाको समर्थन रहेको सरकार समर्थित एक स्थानीय अधिकारीले जानकारी दिएको छ ।

ताइजमा साउदी अरबियाको समर्थन रहेको सरकारको सुरक्षा बलले बारम्बार हवाई कारबाही गर्दै आएको छ ।

गृहयुद्धका कारण तहसनहस भएको यमनको पश्चिमी भागमा साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा २२ हुथी विद्रोही मारिएको बताइएको छ ।

सो हवाई कारबाही हुथीको बलियो प्रभाव रहेको रक्त सागर तटीय क्षेत्र होदइदामा भएको जनाइएको छ ।

सन् २०१५ को मार्च महिनाबाट तत्कालीन सरकारको समर्थन गर्दै साउदी अरेबियाले यमनमा हवाई कारबाही शुरु गरेको थियो । उक्त कारबाही हालसम्म पनि जारी रहेको छ ।

गत सोमबार होदेइदाको दक्षिण भागमा भएको हवाई कारबाहीमा परी ५३ विद्रोही र १२ सरकारी सैनिकको मृत्यु भएको थियो ।

सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाआवद्ध संयुक्त सेनाले गरेको कारबाहीमा परी ८ हजार ७५० व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्याङ्कमा बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com